प्रतिभाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

समाधान संवाददाता २०७९ मंसिर २३ गते १३:२५

पोखरा ।
प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कात्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले बिहीबार पुरस्कृत गरेको हो ।

विज्ञान संकायका विद्यार्थी सहभागी विज्ञान प्रदर्शनीमा कक्षा १२ की आयुषा ढकाल र करुणा सुनारको स्मार्ट सिटी ‘प्रोजेक्ट ९९’ शीर्षकको प्रस्तुति सर्वोत्कृष्ट हुँदै नगद २० हजार जित्न सफल भयो । कक्षा ११ की नम्रता क्षेत्रीको ‘इन्डिकेटर डस्टविन’ प्रोजेक्ट दोस्रो बन्दै १५ हजार हात पार्‍यो ।

यसैगरी, कक्षा ११ की स्नेहा गिरी, रश्मी तिमिल्सिना र सुस्मिता खत्रीको समूहले बनाएको वाईफाई कार र कक्षा १२ का सबिन गुरुङ र सगुन गुरुङको सोलार ट्रयाक्टरले तेस्रो स्थान प्राप्त गर्दै जनही नगद ७ हजार ५ सय, मेडल र प्रमाणपत्र हात पारे ।

Advertisement

व्यवस्थापन संकाय तर्फ सहभागी व्यवसायिक योजना कार्यक्रममा पिग फार्मिङ शीर्षकमा सहभागी कक्षा १२ का सम्पूर्ण पौडेल र सबिन थापा सर्वोत्कृष्ट बन्दै नगद १५ हजार जिते । उनीहरुले उक्त प्रोजेक्ट सञ्चालन गर्न चाहेमा बिऊ पुँजीका रुपमा विद्यालयले ५ लाख नगद सहयोग गर्नेछ ।

कक्षा ११ की छात्राहरु सुविक्षा मल्ल, रेनुमा खातुन र अञ्जली तामाङको टेस्ट अफ नेपाल प्रस्तुति दोस्रो बन्दै नगद १० हजार प्राप्त गरेको छ । कक्षा १२ की प्रतिमा भट्टराई र अस्मिता पोखरेलको डिटर्जेन्ट कम्पनी शीर्षकको प्रस्तुति र कक्षा ११ की छात्राहरु पूर्णिमा पौडेल र सृष्टि शर्माको विवाह योजना शीर्षकको प्रस्तुति तेस्रो बन्दै जनही ५ हजार नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत भयो ।

Advertisement

यी दुवै विधामा थप ५ टोलीलाई थर्ड रनरअप उपाधिसहित जनही २ हजारले पुरस्कृत गरिएको थियो । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार दसैंको लामो बिदाको समयमा विद्यार्थीलाई कुनै गृहकार्यको बोझ नबोकाई सिर्जनशील बन्न विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन र व्यवस्थापन विषय पढेपछिको योजना बुन्न आह्वान गरिएको थियो ।

स्कुलमा बिहीबारदेखि नै प्लस टुतर्फ स्पोर्टस् मिट सुरु भएको छ । पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा सरोज कोइरालले खेलकुद प्रशिक्षकहरु हेमन्त गुरुङ, राजेन्द्र पुन र कुमार किसानलाई बल हस्तान्तरण गरी स्पोर्टस् मिट सुरुआत गरे । प्राडा कोइरालाले प्रतिभाका विविध क्रियाकलापले यस विद्यालय गण्डकी क्षेत्रकै अग्रणी विद्यालयका रुपमा स्थापित भएको बताए ।

बिबिएमा नाम निकाल्ने उत्कृष्ट २० मध्ये सर्वप्रथम हुनेदेखि सर्वाधिक १४ जना विद्यार्थी प्रतिभाकै रहेको निर्देशक किरण सापकोटाले जानकारी दिएका थिए । प्रतिभाका विद्यार्थी एमबिबिएस, इन्जिनियरिङ, वन विज्ञान, कृषि तथा काठमाण्डौ लगायतका विभिन्न विश्वविद्यालयमा सर्वोत्कृष्ट हुँदै छात्रवृत्तिमा निःशुल्क पढिरहेको पनि सापकोटाले बताए ।

राष्ट्रिय भलिबल महिला टिमकी कप्तान अरुणा शाहीले विद्यार्थी सैद्धान्तिक शिक्षासँगै खेल लगायत अतिरिक्त क्रियाकलपामा पनि अब्बल हुनुपर्ने बताइन् । शाहीलाई यसअघि विद्यालयले १ लाख नगदको वर्ष प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिसकेको छ । विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले कक्षागत उत्कृष्टतासँगै सिकेको ज्ञानलाई व्यवहारमै उतार्न यस्ता प्रदर्शनी तथा योजना प्रस्तुत कार्यक्रम फलदायी हुने बताए ।

वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजित स्पोर्टस् मिटमा छात्र/छात्रा बास्केटबल, छात्र/छात्रा भलिबल । छात्र फुटसल, सिंगल/डबल छात्र/छात्रा टेबलटेनिस र चेस खेल हुनेछन् । कक्षा ११ र १२ का विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा सहभागिता जनाउनेछन् । कार्यक्रम प्राचार्य विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया