‘लैंगिक हिंसा हटाउन वर्षैभरि प्रयत्न’

समाधान संवाददाता २०७९ मंसिर २३ गते १३:३२

पोखरा ।
‘सभ्य समाजको पहिचान: लैगिंक हिसां विरुद्ध’को १६ दिने अभियान अन्तर्गत १३ औं दिन बुधबार रेडियो बाराहीमा लैंगिक हिंसा न्यूनीकरणमा मिडिया र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसंवाद भएको छ ।

कार्यक्रमका सहभागीले लैंगिक हिंसा न्यूनीकरणका नागरिकमा सकरात्मक चेतनाको विकास हुनुपर्ने र त्यसका लागि मिडिया र सरोकारवाला संघ, संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनीहरुले यसका लागि मौसमी खेती गरेजस्तो १६ दिने अभियानमात्र गरेर नहुने भन्दै ३६५ दिन नै हिंसा विरुद्ध आवाज उठाउनुपर्ने विचार राखे ।

गैह्रसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले लैगिंक हिंसा बढ्नुमा मुख्य त राज्य दोषी रहेको गुनासो गरे । जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक समीक्षा घिमिरेले कास्कीमा श्रीमानबाट कुटपिट भएको भन्दै दैनिक कम्तीमा ३,४ केस आफूकहाँ आउने गरेको सुनाइन् । प्रेममा पर्ने र फिजिकल रिलेसनमा बस्ने, छुटेपछि त्यसलाई बलात्कारको उजुरी दिन आउनेको संख्या पनि उत्तिकै बढ्न थालेको उनको भनाइ छ ।

Advertisement

सानो उमेरमा परिवारलाई थाहा नदिई बिहे गर्ने, परिवारले थाहा पाएपछि छुटाउन खोजे सुसाइड एटेम्ट गर्ने जस्ता केससमेत बढ्न थालेकाले सचेतनामूलक अभियान कार्यक्रम आवश्यक रहेको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।

कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले पहिला मिडियामा कार्यरत कर्मचारीले आफूमाथि हिंसा भएको छैन भनेर महसुस गर्न सक्नुपर्नेमा जोड दिइन् । कास्की जस्तो जिल्लामा पनि विभिन्न हिंसाका मुद्दा ४/५ लाख पैसा दिएर मिलाइने, कतिपय हिंसाका घटना मिडियाले उजागर गरे पनि प्रहरी कहाँ पुग्दा ती घटना त्यही सेलाउने, अदालतमा पुगेको केस पैसाले मिलाईदा हिंसामा परेकाले न्याय पाउन नसकेको उनले सुनाइन् ।

Advertisement

नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्माले हिंसाका समाचार प्रकाशन तथा प्रसारण हुने तर हिंसा गर्नेलाई भएको कारबाहीका बारेमा समाचार सम्प्रेषण कम हुँदा पनि हिंसा गर्नेहरु हौसिने भएकाले हिंसा बढ्ने गरेको उल्लेख गरिन् । रेडियो बाराहीका निर्देशक किरण केसीले हिंसा न्यूनीकरणका लागि पहिले आफैंलाई सही मार्गमा हिडाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी गण्डकी प्रमुख मायादेवी शर्मा, एडभोकेसी फोरमकी कुन्जनी परियार, इन्सेक पोखराका शिव खकुरेल, महिला मानव अधिकार संजालकी केशु भुजेल, चिल्ड्रेन नेपालकी यशोदा पौडेल, एनजिओ फेडेरेसन कास्की अध्यक्ष डा बुद्धि थापाले महिला हिंसासँगै समाजमा हुने अपराधिक घटनाको बारेमा बिश्लेषण गर्दै सो घटनालाई न्यूनीकरण गर्न हरेक निकाय जागरुक हुनुपर्ने बताए ।
रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले लैगिंक हिंसका मुद्दालाई रेडियोले संवेदनशील भएर उजागर गर्ने गरेको जनाए ।

तपाईको प्रतिक्रिया