आरजू युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित

समाधान संवाददाता २०७९ मंसिर २५ गते १२:२६

पोखरा ।
पत्रकार आरजू विष्ट सल्यानी युआरएल पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । शुक्रबार आयोजित समारोहमा पोखरा महानगरका मेयर धनराज आचार्य, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले सल्यानीलाई सम्मान गरे ।

Advertisement

२ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् । गीतकार/गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

युआरएलले पायो आइएसओ प्रमाणपत्र, आगामी वर्षबाट लाइफ टाइम एचिभमेन्ट अवार्डसमेत प्रदान गरिने

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । पुरस्कृत व्यक्तित्व सल्यानीले जनस्तर र निजी क्षेत्रबाट प्रदान हुने पुरस्कारले पत्रकारिता क्षेत्रको मनोबल उच्च बनाइरहेको बताए ।

कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरालाई सबै क्षेत्रमा नमुना बनाउने गरी काममा जुटेको बताए । उनले निजी क्षेत्रको ल्याबले प्रदेशभर शाखा विस्तार गरी सामाजिक उत्तरदायित्व, पत्रकारिता पुरस्कार सञ्चालन जस्ता कार्य गर्नु उदाहरणीय भएको बताए ।

Advertisement

मेयर आचार्यले भने, ‘हामी जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा हुनुपर्छ भन्नेमा छौं । व्यक्तिगत रुपमा म युआरएलको स्थापनादेखिकै नियमित ग्राहक हुँ । बेला बेलामा हामीले नियमित रगत जाँच गर्नु जरुरी छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बुद्धिबहादुर थापाले स्वास्थ्य क्षेत्रमा नेपाल अहिले निकै अघि बढिसकेको उल्लेख गरे । उनले नयाँ प्रविधिबाट चल्ने अत्याधुनिक प्रयोगशाला हुँदा चिकित्सकलाई रोग पत्ता लगाउन सजिलो हुने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले पोखरालाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सकिने सम्भावना औंल्याए । सर्वसाधारणसको स्वास्थ्यमा सहज पहुँचका लागि लगानी बनाउनुपर्ने उनको भनाइ छ ।

अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले नेपालमा निजी क्षेत्रले स्वास्थ्य सेवासँगै ठूलो रोजगारी सिर्जना गरेको जनाए । सरकारले निजी क्षेत्रको योगदानको मूल्यांकन र सम्मान गर्न नसकेको उनको भनाइ छ ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले स्थापनाको १० वर्षसम्म आइपुग्दा कास्की र आसपासका क्षेत्रका सेवाग्राही, चिकित्सक, स्वास्थ्यकर्मी र सर्वसाधारणको उत्साहपूर्ण साथ पाएको बताए । उनले युआरएलले आगामी वर्षबाट नयाँ अवार्ड वितरण सुरु गर्ने घोषणासमेत गरे ।

पन्तले भने, ‘आगामी वर्षबाट युआरएल लाइभ टाइम एचिभमेन्ट अवार्ड थप गरिनेछ । यो अवार्ड र पत्रकारिता पुरस्कार दुवै सञ्चालन गर्ने गरी युआरएल फाउन्डेसन स्थापना गरिनेछ ।’ स्वास्थ्य क्षेत्रमा निस्वार्थ तवरले लामो समय योगदान गर्ने व्यक्तित्वलाई यो अवार्ड मापदण्ड बनाएर प्रदान गरिने उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष नारायणप्रसाद शर्मा, महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, प्रेस स्वतन्त्रताका सेनानी वद्रिविनोद प्रतीक, युआरएलका निर्देशक सन्दीप अर्याल, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला, पूर्व पुरस्कृत व्यक्तित्व ऋषि खतिवडा लगायतले बोलेका थिए ।

सित्तैमा १ सय ३० शिविर सञ्चालन गरिसकेको युआरएलले जनतालाई स्वास्थ्यबारे सचेत बनाउने पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको छ । यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।

यसैबीच, युआरएलले शुक्रबारदेखि पोखराको विरौटाबाट सेवा आरम्भ गरेको छ । विरौटा र आसपासमा रहेका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सञ्जाल विस्तार गरिएको युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलले आइएसओ प्रमाणपत्र पाएको छ । प्रयोगशाला सेवामा आइएसओ ९००१ः२०१५ का लागि आवश्यक मापदण्ड पूरा गरी युआरएलले यो प्रमाणपत्र पाएको युआरएलका निर्देशक सन्दीप अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया