लेखनाथ महोत्सवका ८५ प्रतिशत स्टल बुकिङ

लेखनाथ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि ’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा रहने ३ सय ३८ वटा स्टल मध्ये ८५ प्रतिशत बुकिङ भइसकेको छ ।
महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागी निशुल्क स्टलको व्यवस्था गरिने आयोजकले जनाएको छ । महोत्सवमा रेष्टुरेण्ट, हस्तकला, कृषी, अटो, रेडिमेट, वित्तिय संस्था, पर्यटन प्रवद्र्धन, सुचना प्रविधी र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले बताए ।
महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन् ।
महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन् ।
१० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ ।
२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सह प्रायोजकको रुपमा रहेको छन् ।
तपाईको प्रतिक्रिया