समानुपातिकले एमालेमा असन्तुष्टि

पोखरा ।
‘एमाले गण्डकी प्रदेश सभाको समानुपातिक सूचीमा हामीले सुरुबाटै प्रश्न गरेका थियाैं । लाखौं मतदाताको तर्फबाट अनेरास्ववियु गण्डकी प्रदेशको संयोजकको जिम्मेवारीबाट प्रश्न गर्न चाहन्छु । प्रदेश समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनाइएका प्रकाश केसी को हुन् ? जसका कारण एमालेले आफ्ना नेता साइड लागे । स्वार्थको भन्डाफोर भएको छ । चूप लागेर बसिँदैनँ ।’
सोमबार अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले सामाजिक सञ्चालमा पोखेको असन्तुष्टि हो यो । पौडेलले गण्डकीमा समानुपातिक सांसद चयन गर्दा शक्ति र पहुँचका आधारमा छनोट गरेको भन्दै विरोध गरेका हुन् । पौडेलले मात्र होइन, अरु एमाले कार्यकर्ताले पनि केसीको सिफारिसमा खुलेरै चर्को असन्तुष्टि पोखेका छन् । उनीहरुले नेताहरुलाई भेटेरै र सामाजिक सञ्जालमा चर्को विरोध गरेका हुन् ।
‘सुखी नेपाली, समृद्ध नेपाल, प्रदेशमा प्रकाश केसी, संघमा एकनाथ ढकाल ! हामी कम्युनिस्ट !!’ भन्दै गण्डकी अखिल सचिव आरके पोखरेलले असन्तुष्टि पोखेका छन् । पोखरेलले केसीमाथि मात्र होइन, गण्डकीबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सिफारिसमा भएका एकनाथ ढकालविरुद्ध पनि असन्तुष्टि पोखेका छन् । उनीहरुलाई लिएर अहिले एमालेभित्र चर्को विरोध भइरहेको छ ।
उनीहरुलाई पैसाकै बल सांसद बनाइएको भन्दै विरोध भएको हो । केसीसहित एमालेका १२ जना सांसद खस आर्यबाट परेका छन् । केसी एमालेको खस आर्य तर्फको दोस्रो नम्बरमा थिए । प्रत्यक्षमै खस आर्यको बहुल्यता हुँदाहुँदै दोस्रो नम्बरमा रहेका केसीलाई ल्याएपछि अझै बढी विरोध भएको छ ।
एमाले नेता, कार्यकर्ता खस, आर्य छोडेर जनजाति कलस्टरबाट ल्याउनुपर्ने कहाँबाट लगियो भन्दै प्रश्न गरिरहेका छन् । ‘प्रदेशमा गोरखाबाट शून्य उपस्थिति छ । गोरखामा हाम्रो संगठन कमजोर छ । यहाँबाट सांसद चयन हुनुपर्नेमा कास्कीको उपस्थित सांसदमा बलियो हुँदाहुँदै चयन गरियो । यसले हिजो लामो समय एमालेबाट राजनीति गर्नेदेखि बलियो संगठन नभएको गोरखालाई अन्याय भएको छ,’ एमाले एक नेताले भने ।
प्रतिनिधिसभामा निर्वाचित ढकाल गोरखाका हुन् । उनी नेपाल परिवार दलका अध्यक्ष हुन् । पुराना नेतालाई अवसर दिनुपर्नेमा हिजो पार्टी छोड्ने, कुनै योगदान नभएका मानिसलाई अवसर दिएकोमा जिल्लाका नेताहरुले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर असन्तुष्टि पोखे ।
उनीहरुले समानुपातिक सूची सच्याउन अनुरोध गरे पनि ओलीले आगचमी दिनमा यसलाई सुधार गरेर जाने प्रतिवद्धता जनाएको बालकोट पुगेका एक जिल्ला अध्यक्षले सुनाए ।
सांसदमा सिफारिस भएका केसी ०७४ मा राप्रपाबाट एमाले प्रवेश गरेका थिए । ‘हामीले पार्टी अध्यक्षलाई यसबारे जानकारी गरायौं । अध्यक्षज्यूले यसलाई आगामी दिनमा सच्च्चाएर जाने भनेपछि फर्कियौं,’ ती जिल्ला अध्यक्षले भने ।
तपाईको प्रतिक्रिया