राप्रपा कार्यकर्ताले लगाए कार्यालयमा ताला

पोखरा ।
गण्डकी प्रदेशको समानुपातिक सांसद चयनमा असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले गण्डकी प्रदेश र जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । कास्कीबाट सांसद चयन नगरिएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी भएको हो ।
राप्रपाले समानुपातिकतर्फ गण्डकी प्रदेशसभामा २ सिट पाएको छ । पार्टीको केन्द्रीय बैठकले शनिबार बेलुका २ सांसदको नाम टुंगो लगाएसँगै विवाद चर्किएको हो । राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले कास्कीका असन्तुष्ट पक्षले आइतबार तालाबन्दी गरेको गरेको सुनाए । उनले भने, ‘तालाबन्दीसँगै उहाँहरुले आफ्नो माग राख्नुभएको छ । समानुपातिकको सूची सच्च्चाउनुपर्ने उहाँहरुको माग छ । नेताहरुले यसलाई सम्बोधन गर्नुहोला ।’
०७४ को निर्वाचनमा नील भएको राप्रपाले यस पटक ६० हजार नजिक मत ल्याउँदै २ सिट पायो । तर, सांसद चयनमा कास्कीका उम्मेदवार नपरेपछि विरोध भएको एक नेताले बताए । ‘दुःख गर्ने हामी । पहुँचको आधारमा नेताले समानुपातिकमा छनोट गर्दै सिफारिस गरेपछि विरोध गरेका हौं । यदि हाम्रो माग सम्बोधन नभए आउने सांसदलाई बहिस्कार गर्छाैं,’ नाम नबताउने सर्तमा ती नेताले भने ।
केन्द्रीय बैठकले स्याङ्जाका पञ्चराम गुरूङ र लमजुङकी बिन्दु पहाडी चयन गरेर निर्वाचन आयोग पठाइसकेको छ । कास्कीसँगै नवलपुरबाट पनि सांसद नपरेको भन्दै विरोध भइरहेको छ । राप्रपाले गण्डकीमा पाएको ६० हजार मतमध्ये कास्की र नवलपुरबाट बढी मत छ ।
तर, समानुपातिक चयनमा सबैभन्दा कम मत पाउने जिल्लाबाट चयन गरिएपछि विरोध भएको अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार राप्रपालाई समानुपातिकमा कास्कीबाट करिब १७ हजार र नवलपुरबाट १८ हजार मत आएको छ । सांसद चयनमा भने २ हजार आसपास मत ल्याउने स्याङ्जाका पञ्चराम गुरुङ र लमजुङबाट बिन्दु पहाडी चयन भएका हुन् ।
राप्रपाका महामन्त्री धवलशमशेर राणा र मनोनित उपाध्यक्ष हेमजंग गुरुङबीच समानुपातिकको बन्दसूचीमा विवाद भएको थियो । उपाध्यक्ष गुरुङको अडानका कारण उनका भान्जा पञ्चराम गुरुङ चयन गरिएको भन्दै विरोध भएको हो । उपाध्यक्ष मनोनीत हुनुअगाडि हेमजंग गण्डकी अध्यक्ष थिए । यसरी राणा र गुरुङबीच विवाद हुँदा नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तपाईको प्रतिक्रिया