
बागलुङ ।
बंगलादेशको राजधानी ढाकामा हुने ‘बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यु २३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् ।
नेपाली भलिबल संघले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनोट भएका हुन् । २२ वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो हुन् ।
आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये १ महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ खेलाडीको अन्तिम छनोट गरिएको संघले जनाएको छ ।
भलिबल खेलको इतिहासमा पहिलोपटक यु २३ राष्ट्रिय टिम तयार पारी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा छन् ।
गलकोट नगरपालिका ७ मल्मका केसी भलिबलमा उदाउँदो प्रतिभा हुन् । यु २३ राष्ट्रिय टिममा परेसँगै उनको खेल करिअर नयाँ मोडमा आइपुगेको छ । देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साकार हुन लागेको केसीले सुनाए ।
‘टिममा पक्कै पर्छु भन्ने लागेको थियो, मेहेनत पनि त्यसैअनुसार गरेको थिएँ, छनोटमा पर्दा खुसी छु’, उनले भने । दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’बाट उनले राष्ट्रिय स्तरको प्रतियोगितामा डेब्यु गरेका थिए ।
गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए । त्यसता उनले ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेले । जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताए ।
उनले केसीलाई भलिबलमा भविष्य बोकेको खेलाडीका रूपमा लिए । बंगलादेश भलिबल फेडेरेसनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एसोसिएसनको संयोजनमा प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया