सरकार हाम्रो प्राथमिकतामा छैनः पोखरेल

पोखरा ।
भर्खरै सम्पन्न आम निर्वाचनमा अपेक्षित परिणाम ल्याएन नसकेको प्रतिपक्षी दल नेकपा (एमाले) नयाँ सरकार गठनका लागि पहल नगर्ने भएको छ । सरकार गठनको प्राथमिकता पाँच दलीय गठबन्धनले पाउने एमाले महासचिव शंकर पोखरेलले बताए ।
प्रेस चौतारी नेपाल कास्की शाखाले बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा एमालेले सरकार गठनको म्यान्डेट नपाएको उल्लेख गरे । ‘आम निर्वाचनमा एमालेले सरकार गठनको म्यान्डेट पाएको छैन ।
सरकार गठन हाम्रो प्राथमिकता होइन,’ महासचिव पोखरेलले भने, ‘हामी पर्ख र हेरको अवस्थामा छौं । त्यसैले हामी सरकार गठनको लागि पहल गर्दैनौ ।’
कम्युनिस्ट पार्टीबीच ध्रुवीकरण गरी बहुमत पुर्याउने आधार नभएको उल्लेख गर्दै उनले स्वार्थका लागि सत्तामा जान एमाले तयार नभएको जनाए । उनले माओवादी केन्द्र लगायतका कम्युनिस्ट पार्टीहरु नीतिगत रुपमा राजनीतिक ध्रुवीकरणभन्दा पनि सत्ता स्वार्थमा केन्द्रीत रहेको आरोप लगाए ।
नेपाली कांग्रेसले नीतिगत रुपमा पंँजीवादी शक्तिलाई ध्रुवीकरण गरी विकल्प दिन नसकेको उनले उल्लेख गरे । उनले आफ्नो नीतिगत नेतृत्वमा शासन गर्ने सामर्थ कांग्रेससँग नभएको दाबी गरे ।
सहरिया मध्यम वर्गलाई राष्ट्रिय पार्टीबाट अलग गर्ने मिसन, सनातन हिन्दुू राज्यको पक्षमा राप्रपाको धर्म राजनीतिक धर्मको प्रयोग दुबै प्रवृत्ति हानिकारक र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले क्षेत्रीय पार्टीलाई विकर्षण गरी नयाँ क्षेत्रीय पार्टी खडा गरेर राष्ट्रिय पार्टी कमजोर बनाउन खेल गलत भएको टिप्पणी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रभाव बढ्नु नेपालको राजनीतिका लागि चुनौतीको विषय भएको दाबी गर्दै उनले त्यसले पार्ने प्रभावको असरको विषयमा विवेचना गर्नु जरुरी भएको औंल्याए ।
राष्ट्रिय पार्टीहरू असफल भए भन्ने सन्देश दिन खोजिएको अवस्थामा मुलुकका ठूला २ दल एमाले र काँग्रेस मिलेर गएर राजनीतिक स्थिरता दिन सकिने चर्चा गर्दै महासचिव पोखरेलले कांग्रेस एमाले मिलेर चुनौतीको सामना गर्न कांग्रेस तयार नभएको उल्लेख गरे । ‘नीति, विचार र एजेन्डा विहीन गठबन्धनले मुलुक संकटको समाधान गर्न सक्दैन ।
गठबन्धनसँग विश्वास छैन । एमालेसँग चाहिने जनादेश छैन,’ महासचिव पोखरेलले भने, ‘राष्ट्रिय पार्टीहरू मिलेर संकट समाधान गर्नुपर्नेमा कांग्रेसको सत्ता स्वार्थका कारण सम्भव भएन । राजनीतिक अस्थिरताको जोखिम झन बढेको छ ।’
उनले प्रतिनिधि सभाका १ सय ५० सिट भएको सत्ता गठबन्धन अहिलेको आम निर्वाचनमा १ सय ३६ मा खुम्चिएर झन कमजोर भएको टिप्पणी गरे । कांग्रेस विरूद्ध एमाले माओवादी उभिँदा काँग्रेस गत निर्वाचन २३ सिटमा खुम्चिएको उल्लेख गर्दै उनले एमाले विरूद्ध ५ दलीय गठबन्धन हुँदा प्रत्यक्षमै कांग्रेसभन्दा दोब्बर ४४ सिट जितेको बताए ।
उनले सरकार बनाउन बहुमत पुर्याउन अध्यादेश ल्याउनु सदा, सर्वदा गलत भएको टिप्पणी गरे । जनादेशबाट नयाँ संसद बनिसकेको अवस्थामा नयाँ सरकारलाई जिम्मेवारी दिनुपर्ने उल्लेख गर्दै उनले राष्ट्रिय समस्याको जिम्मेवारी नयाँ संसद र त्यसले गठन गर्ने सरकारको भएकाले काम चलाउ सरकारको स्वार्थको विषयले राजनीतिक नैतिकतामामाथि प्रश्न उठेको जनाए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया