दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड

समाधान संवाददाता २०७९ मंसिर २९ गते ११:४५

पोखरा ।
गैर सरकारी संस्था महासघ नेपाल गण्डकी प्रदेश समितिले दिगो विकास लक्ष्य सम्बन्धी प्रदेश स्तरीय क्षमता विकास कार्यशाला गरेको छ ।

Advertisement

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले दिगो विकास लक्ष्यका मुख्य मुख्य सूचकहरु गण्डकी प्रदेश सरकारको पहिलो पञ्च वर्षिय योजनामा समावेश गरी आन्तरिकीकरण गरेको जानकारी दिए ।

प्रदेशले दिगो विकास लक्ष्यको आन्तरिकीकरण गर्न मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै उनले वर्तमान अवस्था र भावी मार्गचित्र २०१६–२०३०लाई आधार मानी दिगो विकास लक्ष्यहरु गण्डकी प्रदेशको आधार तथ्यांक प्रतिवेदन २०७६ प्रकाशन गरेको बताए ।

‘प्रदेशको नीति कार्यक्रम र बजेटमा दिगो विकास लक्ष्य प्राप्तिको लागि सहयोगी हुने कार्यक्रम समावेस गरिएको छ,’उपाध्यक्ष काफ्लेले भने, ‘प्रदेशको कुन कार्यक्रम र बजेटले दिगो विकास लक्ष्यको सूचकलाई सम्बोधन गरेको भन्ने बारेमा प्रष्ट किटान गरिएको छ ।’

उनले बजेट र दिगो विकास लक्ष्य बीच बीचको अवस्था हेर्न बजेट पछ्याई हेरिएको जानकारी दिए । उपाध्यक्ष काफ्लेले बजेट कोडिङले १७ लक्ष्यलाई कहाँ कसरी सम्बोधन गर्ने सवाललाई सहयोग पुर्‍याउने बताए । उनले स्थानीय तहले लक्ष्यको प्राथमिकता निर्धारण गरेर परिणात्मक लक्ष्य तय गर्नु पर्ने सुझाव दिए ।

Advertisement

सन २०१६देखि सुरुवात भएको दिगो विकास लक्ष्य कार्यान्वयनको लागि प्रयाप्त प्रयत्न गर्न नसकिएको उल्लेख गर्दै सन २०२३देखि २०३०सम्मको बाँकी अवधीमा घनीभूत राम्रो काम गर्न लक्ष्यमा पुग्न सकिने दाबी गरे ।

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि गैसस सबभन्दा ठुलो साझेदार तथा अभियानलाई सफल पार्ने सहयोगी रहेको जानकारी दिदै उनले अभियानमा निजी तथा नागरिक समाजको सहभगिता बढाउने योजना सुनाए ।

गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले दिगो विकास लक्ष्यको एजेण्डालाई कार्यन्वयन गर्न प्रयाप्त बजेट तथा संरचना नभएको बताए । उनले संघीय सरकारले धेरै सूचक बनाएको कारण कार्यान्वयनमा अलमल भएको उल्लेख गरे । अध्यक्ष सुवेदीले गैसस महासंघको अगुवाईमा दिगो विकास लक्ष्य मञ्च नेपाल गठन गरी गतिविधी अगाडी बढाएको बताए ।

गैसस महासंघ नेपालका प्रमुख कार्यकारी अधिकृत होम भण्डारीले दिगो विकास लक्ष्यका सबै सूचकलाई मानव अधिकार र सामाजिक न्यायका मुद्दासँग जोडर बलियो बनाउनु पर्ने तर्क गरे । उनले सामाजिक संघ संस्थाले दिगो विकास लक्ष्यसँग जोडेर गरेका उत्कृष्ट काम तथा अभ्यासको बारेमा अनुभव आदान प्रदान गर्नु पर्ने बताए ।

कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका ईञ्चार्ज राजेन्द्र पौडेल, महासंघका केन्द्रीय सदस्य विना सिलवाल, गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष पदमराज पहारी सचिव शिव शर्मा, कास्कीका अध्यक्ष डा बुद्धिबहादुर थापा लगायतले सयुक्त राष्ट्र संघले पारित गरेको सबै किसिमको गरिबीको सर्वत्र अन्त्य गर्ने लगायतका दिगो विकास लक्ष्यका १७ लक्ष्यलाई हासिल गर्न विकासको सक्रिय साझेदारको रुपमा रहेका नागरिक संगठनहरुले सघाउने बताए ।

तपाईको प्रतिक्रिया