झिसमिसेमै उठेर लेकतिर

सुन्दरकुमार थकाली २०७९ पुष ३ गते १०:३७

जोमसोम ।
हिउँद यामको चिसो छिचोल्दै यतिखेर मुस्ताङी दाउराको जोहो गर्न व्यस्त छन् । मुस्ताङीलाई वर्षभरी इन्धनको रुपमा प्रयोग हुने दाउरा गाउँ नजिकै पर्ने उच्च लेंकको जंगलमा संकलन गर्न भ्याइ नभ्याइ छ ।

Advertisement

खेतीपातीको कामकाज सकेर हिउँद यामको फुर्सदिलो समयमा मुस्ताङमा दाउरा फुकुवा गरिन्छ । कुनै गाउँमा पुस र कुनै गाउँमा माघ महिनामा सीमित अवधिका लागि दाउरा फुकुवा हुन्छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका विभिन्न गाउँमा अहिले धमाधम जंगलमा सुकेका र कुहिएका दाउरा फुकुवा गरिएको छ ।

अहिले मुस्ताङका वन खुलेका छन् । मुस्ताङी दाउरा जम्मा गर्न बिहानै लेकतिर लाग्छन् ।

गाउँलेलाई निश्चित समय तोकेर स्थानीय गाउँ मुखिया र समाजले दाउरा फुकुवा गर्ने हिमालपारीको सदियौंदेखिको चलन हो । गाउँ गाउँका मुखिया र गाउँ समाजको निर्णय बमोजिम स्थानीय तह र बन संरक्षण समितिको समन्वयमा स्थानीयलाई जंगलका दाउरा फुकुवा गर्ने गरिन्छ । बिहानै उठेर जंगल गएर फर्किएकालाई गाउँका कटुवाल र स्थानीय तहका जनप्रतिनिधले अनुगमनसमेत गर्ने गरेका छन् । जंगलबाट काँचो दाउरा ल्याउन पाइँदैन ।

वर्षा याममा यहाँका किसान कृषि र अन्य व्यवसायमा व्यस्त हुन्छन् । जिल्लाको तल्लो क्षेत्रका गाउँ गाउँमा दाउरा फुकुवा गरिएपछि स्थानीय किसान आफ्नो मातहतका लेकमा पुगेर दाउरा संकलन गर्न लागि पर्छन् । हिउँ पर्ने र चिसो सिरेटो चल्ने मौसम भए पनि यहाँका मानिसले यसको परवाह नगरी दाउरा खोज्न नजिकैको लेकमा पुग्छन् । तोकिएको दिनसम्म झिसमिसेमै उठेर उनीहरु ३ घण्टा उकालो चढ्दै लेकको जंगल पुगेर दाउरा टिप्छन् ।

Advertisement

मुस्ताङमा जग्गा, जमिन भई गाउँ समाजमा कुरिया दर्ता भएका र अरुको खेतीबारी अधिया कमाएर बसेकालाई दाउरा संकलन गर्ने अनुमति दिइन्छ । कुरिया दर्ता नभएका र खेतबारी अधिया नकमाई अन्य व्यवसाय गरेकाले भने दाउरा संकलन गर्न पाउँदैनन् । हिउँद याममा संकलन गरिएका दाउँरा खाना पकाउने, आगो ताप्ने र वस्तुभाउलाई कुडो पकाउन प्रयोग हुन्छ ।

स्थानीय कृषि प्रयोजनका लागि पालन गरिएका गोरु, झोपा, घोडा, खच्चड जस्ता घरपालुवा चौपाया लिएर जंगल पुग्छन् । जंगल पुगेका उनीहरुले दाउरा खोजेर तिनै चौपायालाई बोकाई घर ल्याउँछन् । चौपाया नहुनेले आफैं बोकेर ल्याउँछन् ।

यतिखेर मुस्ताङका अधिकांश लेंकमा दाउरा टिप्ने चटारो चलेको छ । काँचो दाउरा काटेको प्रमाणित भएमा समाजले तोके बमोजिमको जरिवाना तिर्नुपर्ने हुन्छ । लेकहरुमा यस्तै जमघट बर्सेनि यार्सागुम्बाको सिजनमा पनि गर्छ ।

घरपझोङ गाउँपालिका जोमसोम, ठिनी, ढुम्बा, स्याङ, मार्फा, छैरो र चिवाङका अधिकांश मानिस पायक पर्ने जंगल पुगेर दाउरा बटुल्छन् । थासाङका गाउँले पनि आफ्ना मातहतका जंगलमा दाउरा संकलन गर्न जाने गरेको थासाङ २ कोवाङका स्थानीय वन संरक्षण समिति अध्यक्ष जीवन थकाली बताउँछन् ।

‘मुखिया, स्थानीय तह र वन उपभोक्ता समितिले निर्णय गरेर यस वर्ष २ दिनमात्र दाउरा फुकुवा गरेको छ,’ अध्यक्ष थकालीले भने, ‘प्रत्येक घरले के जति दाउरा संकलन गर्न पाउँछन् ।’

जोमसोमका किसान विनोद नेपालीका २ झोपा छन् । खेत जोत्ने, मल ओसार्ने र दाउरा संकलन गर्ने प्रयोजनका लागि उनले यी झोपा पालेका हुन् । अहिले उनी तिनै झोपालाई बोकाएरु दैनिक चार भारी दाउरा संकलन गर्छन् । जोमसोममा पुस १ गतेदेखि पुस ७ गतेसम्म दाउरा फुकुवा गरिएको छ ।

उनी झिसमिसेमै उठेर झोपा खेद्दै ३ घण्टा पैदलै हिडेर कुङ्ले लेक पुग्छन र त्यहाँबाट दाउरा झोपामा बोकाएर घर फर्किन्छन् । ‘चिसो मौसम छ, चिसोको महसुस हुँदैन,’ उनले भने ‘गाउँ भन्दा जंगलमा दाउरा टिप्न जाँदा तातो महसुस पनि हुन्छ, लेकमा दाउरा टिप्दा बेग्लै रमाइलो हुन्छ । अहिले टिपेको दाउराले वर्ष दिन पुर्‍याउनुपर्ने हुन्छ ।’

अर्का किसान मनोज गोतामेले पनि घोडाको सहयोगमा दाउरा संकलन गरेका छन् । अघिपछि खेती किसान र अरानमा व्यस्त रहने मनोज अहिले सबै काम थाँती राखेर दाउरा खोज्न जुटेका हुन् । ‘७ दिन जंगल खुला गरेको छ,’ उनले भने ‘वस्तुभाउ र परिवारले आगो ताप्न दाउरा चाहिन्छ, खोजिएका दाउराले १ वर्ष धान्नुपर्छ ।’

किसानले दाउराका साथसाथै कम्पोस्ट मल बनाउन सल्लो र धूपीका पात ओर्सछन् । पात भकारोमा बिच्छ्याउछन् । जसलाई स्थानीयले सन भन्ने गर्छन् । कतिपयले दाउरा खोज्न आफूसँग भएका चौपाया अधिया दिएर दाउरा बराबरी भाग लगाउने चलन पनि छ ।

केही वर्षअघि जोमसोममा स्थानीयबाहेक अरुलाई दाउरा ल्याउने अनुमति थिएन । पछिल्लो समय जिल्ला बाहिरबाट आएर खेती, किसानी गर्नेहरुलाई अनुमति दिइएको हो । मुस्ताङका प्रत्येक गाउँमा छतमाथि दाउरा पाँज्ने चलन छ ।

घरको छतमाथि दाउरा पाँज्ने प्रचलनले कला, संस्कृति संरक्षण गर्ने स्थानीय भीषण थकालीको भनाइ छ । छतमाथि धेरै दाउरा पाँज्दा त्यो घर धनी रहेको ठान्ने गरिन्थ्यो । मुस्ताङमा यातायात सञ्जाल नजोडिदा स्थानीयले दाउराबाटै इन्धनको सबै काम गर्थे । अहिले ७० प्रतिशतले खाना पकाउने एलपी ग्याँस प्रयोग गरेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया