पुस ९ देखि भदौरेमा महोत्सव

समाधान संवाददाता २०७९ पुष ३ गते १०:५८
फाइल फाेटाे

पोखरा ।
कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित भदौरेमा पुस ९ देखि ११ गतेसम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका स्तरीय फुटबल प्रतियोगितासमेत हुनेछ ।

Advertisement

भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगीमा अन्नपूर्ण गाउँपालिका छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको संयोजक मनबहादुर गुरुङले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न साँस्कृतिक कार्यक्रम राखिएको भदौरे क्लवका अध्यक्ष जीवन गुरुङले बताए । ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं । सुन्दर गाँउ अवलोकन गरी यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको छ,’ उनले भने ।

महोत्सवको मुख्य आकर्षण फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुने टिमले नगद ३५ हजार रुपैयाँका साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।

पर्यटक आवासका लागि गाँउमा होटेल तथा होमस्टे छन् । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरादेखि ३० किलोमिटर पश्चिममा पर्छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको आकर्षक स्थल पनि हो ।

Advertisement

सैयौं प्रजातिका सुनाखरी पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठूलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाई चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तर्गत नीलगिरी, धौलागिरी, माछापुछ«े लगायतका हिमाल नजिकै प्रस्ट रुपमा देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया