निर्वाचन आयाेगले गण्डकीमा प्रतिवेदन बुझायाे

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्य निर्वाचन २०७५ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेस १८ सिट जितेर पहिलो दल भएको छ । कांग्रेसले ०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष ६ सिटमात्र जितेको थियो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भने सबैभन्दा बढी अर्थात ३९ दशमलव शून्य ३ प्रतिशत मत ल्याएर नेकपा (एमाले) प्रथम भएको निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए ।
प्रदेश सभाका ३६ सदस्यका लागि भएको पहिलो हुने निर्वाचित प्रणालीतर्फ एमालेले १२ सिट जितेको छ । ०७४ सालको निर्वाचनमा एमालेले प्रदेशसभातर्फ १७ ठाउँमा जितेको थियो ।
आयोगले शनिबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पेश गरेको परिणाम सहितको प्रतिवेदनमा समानुपातिकतर्फ एमालेले ३ लाख ६७ हजार ८ सय ८९ मत सहित १० सिट पाएको उल्लेख छ ।
प्रदेश सभाका ३१ सिट रहेको समानुपातिकतर्फ भने कांग्रेसले ३ लाख ४९ हजार ६सय २८ मत ल्याएर ९ सिट जितेको निर्वाचन आयुक्त पौडेलले बताए । प्रदेश सभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ३ सिट जितेको छ ।
समानुपातिकतर्फ माओवादीले १ लाख १६ हजार ९ सय ४५ मत पाएको छ । प्रत्यक्षतर्फ १ सिट नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार ४ सय ८३ मतसहित समानुपातिकमा २ सिट पाएको छ । राष्ट्रिय जनमोर्चा, हाम्रो नेपाली पार्टी र नेकपा (एकीकृत समाजवादी)ले थ्रेस होल्ड (१.५ प्रतिशत मत) कटाए पनि समानुपातिकतर्फ सिट पाउन सकेनन् ।
निर्वाचन आयुक्त पौडेलले ६० जनाको प्रदेश सभामा ३९ पुरुष (६५ प्रतिशत) २१ महिला (३५ प्रतिशत) निर्वाचित भएको जानकारी दिए । ‘प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचन नतिजा घोषणा भएको ७ दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको छ,’ आयुक्त पौडेलले भने, ‘निर्वाचित प्रदेश सभा सदस्यहरुको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।’
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले निर्वाचन स्वच्छ, स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा भए लोकतन्त्र परिपक्व हुने बताए । उनले अहिलेको आम निर्वाचन त्यसैतर्फ केन्द्रीत भएकाले नेपालको लोकतन्त्र परिपक्व र संस्थागत रुपमा अगाडि बढ्ने उल्लेख गरे ।
गण्डकी प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ ३१ दलले प्रतिस्पर्धा गरेका थिए । पहिलो हुने निर्वाचन प्रणालीतर्फ २ सय ६ पुरुष, २ सय ३५ महिलाको अन्तिम उम्मेद्वारी कायम भएको थियो ।
समानुपातिकतर्फ ३ सय ४४ जनाको उम्मेद्वारको अन्तिम बन्दसूची कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेकोमा प्रत्यक्षतर्फ १० लाख ४६ हजार ७ सय २८ अर्थात ५७ दशमलव ५२ प्रतिशत मत खसेको थियो । निर्वाचन आयोगका अनुसार खसेको मतमध्ये १० लाख १२ हजार ७ सय १५ अर्थात ९६ दशमलव ७५ प्रतिशत मत सदर भएको छ ।
समानुपातिकतर्फ १० लाख ४७ हजार १ सय ३५ (५७ दशमलब ६१ प्रतिशत) मतदान भएकोमा ९ लाख ८५ हजार २ अर्थात ९४ दशमलव १४ प्रतिशत मत सदर भएको निर्वाचन आयोगको प्रतिवेदनमा उल्लेख छ । समानुपातिकतर्फ भने ६१ हजार ३ सय ३३ अर्थात ५ दशमलव ८६ प्रतिशत मत भएको छ ।
प्रत्यक्षतर्फको निर्वाचनमा सदर मतको १० प्रतिशत भन्दा कम मत पाउने उम्मेद्वारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । सोही अनुसार १ सय २५ पुरुष र २५ महिला गरी १ सय ५० उम्मेद्वारको जमानत जफत भएको प्रतिवेदनमा उल्लेख छ ।
समानुपातिकतर्फ कम्तीमा १ सिट प्राप्त नगरेमा त्यस्तो दलको धरौटी जफत हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेशमा २४ दलको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया