ठिनीमा होमस्टे चलाउँदै थकाली महिला

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका ५ को ठिनी गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । जोमसोम नजिकै रहेको ठिनी गाउँमा थकाली होम स्टे सञ्चालनमा आएसँगै पर्यटक वृद्धि भएका हुन् ।
दैनिक ७०/८० पर्यटन होम स्टेमा आउने गरेका छन् । सदरमुकाम जोमसोम बजारमा पर्यटक लक्षित होटलमा खाना र बस्न महंगो शुल्क तिर्नुपर्ने भएकाले पनि जोमसोम नजिकै रहेको ठिनी थकाली होमस्टेमा पर्यटकको लर्को लागेको हो । चिसो बढेसँगै होमस्टेमा आउने पर्यटकसमेत केही कम भएका छन् । यहाँ आउने पर्यटकलाई संस्कृति, ऐतिहासिकताबारे जानकारी गराउने गरिएको छ ।
२०७३ मा जनमुक्ति युवा क्लबको पहलमा थकाली होमस्टे सञ्चालन भएको हो । २०७४ देखि वैधानिक रुपमा दर्ता गरी होमस्टे सञ्चालनमा ल्याइएको थियो । सुरुआती ५ घरधुरीका महिलाले ठिनी थकाली होमस्टे औपचारिक रुपमा विधिवत एक्याप र घरेलुमा दर्ता गराएका थिए । उनीहरुले घरपझोङ गाउँपालिकामा समेत होम स्टे दर्ता गरेका छन् ।
जिल्लामा यातायातको सञ्जाल जोडिएपछि हवाई तथा धावनमार्ग हुँदै मुस्ताङ अवलोकन गर्ने तथा मुक्तिनाथ र प्रसिद्ध शालग्राम स्थल कागबेनीधाम दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटक फर्किदा ठिनी होमस्टे पुग्ने गरेका छन् । उत्तरी कोरला नाका पुगेर फर्किएका पर्यटकसमेत पछिल्लो समय ठिनी थकाली होमस्टे खोजी गर्दै जान थालेका छन् ।
पहिले मुस्ताङको ठिनीका थकाली महिला कृषि पेशामा मात्रै आश्रित थिए । मुस्ताङमा पर्यटकको संख्या वृद्धि भए पनि होमस्टे नहुँदा ठिनीका स्थानीयले लाभ लिन सकेका थिएनन् । पछिल्लो समय ठिनीका थकाली महिलाको जीवनशैली होमस्टेले फेरिन थालेको छ । पछिल्लो समयमा ठिनी थकाली होमस्टेको संख्या १० पुगेको छ ।
यो संख्या क्रमशः वृद्धि हुँदै जाने र पूर्वाधार निर्माण गरिने ठिनी थकाली होम स्टेले जनाएको छ । सुरुआती क्रममा स्थानीय जुमा थकाली, मीना थकाली, स्मीता थकाली, आइतकुमारी थकाली र बत्तीमाया थकाली गरी ५ घरधुरीका महिला यसमा आवद्ध थिए ।
ठिनीबाट जोमसोम बजार र कालिगण्डकी नदीको मनमोहक देखिन्छ । ठिनी होमस्टेमा आएका पर्यटकले ठिनी गाउँवरपर रहेका ढुम्बाताल, कुछ्प तेरङ्गा गुम्बा, स्नो लियोपार्ट, यारुजो भ्यु टावर, कैसाङ क्याम्पमा रहेको छम्मा ताल, तिलिचो ताल, भम्पो गुम्बा, नीलगिरी हिमाल र जोमसोम बजार अवलोकन गर्ने गर्छन् ।
ठिनी गाउँबाट ढुम्बाताल १० मिनेटमै पुग्न सकिन्छ । जोमसोमबाट ठिनी हुँदै ढुम्बाताल र छैरोसम्म गण्डकी प्रदेश सरकारले रिङरोड विस्तार गरिसकेको छ । ठिनी गाउँमा पहिलो पटक होम स्टेको अनुभव लिन थालेका थकाली महिलालाई घरेलु तथा साना उद्योग विकास र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले कुकिङ तालिम दिएको थियो ।
ठिनी होमस्टे प्रर्वधनका लागि नेपाल पर्यटन बोर्डले समेत सहयोग पुर्याएको होमस्टेकी सचिव जुमा थकालीले जानकारी दिइन् । एक्याप र घरेलु तथा साना उद्योग कार्यालयले जिल्ला बाहिरका होमस्टेको अवलोकनसमेत गराएका छन् ।
त्यसबाट होमस्टे सञ्चालन गरेका महिलाले होमस्टे सञ्चालन, कुकिङ र व्यवस्थापनका बारेमा जानकारी पाएका थिए । चालु वर्ष मागका आधारमा गाउँमै तारा गाउँ विकास समितिले विभिन्न तालिम प्रदान गरेको उनले बताईन् ।
जोमसोमदेखि करिब २ किलोमिटर पूर्वमा रहेको ठिनी गाउँमा मोटर बाटो पुगिसकेको छ । सडक जोडिएपछि जोमसोमबाट ठिनी १५ मिनेटमै पुग्न सकिन्छ । लमजुङको बेशीसहर, मनाङ र मुक्तिनाथ क्षेत्र हुँदै वैकल्पिक पदमार्गमा यात्रा गर्ने तेस्रो मुलुकका पर्यटक पन ठिनी होमस्टेमा बास बस्न आउने हुने गरेको होमस्टेकी अध्यक्ष मदना थकाली सुनाउँछिन् ।
होमस्टेमा स्थानीय अर्गानिक थकाली खानाका परिकार र न्यानो आतिथ्यताले पछिल्लो समय ठिनी होमस्टेको क्रेज बढेको थकालीको भनाइ छ । ‘होमस्टेमा आएका पाहुनालाई थकाली संस्कृति अनुसार स्वागत गछौं । साँझपख थकाली सस्कृति र सांस्कृतिक कार्यक्रम देखाउने गछौं,’ उनले भनिन् ।
ठिनी होमस्टेमा एकै पटकमा १ सय ३५ पर्यटक अटाउन सक्ने क्षमता छ । जसअनुसार १ घरमा१५ जना पर्यटक बस्न मिल्ने सुविधा छ । ठिनी होमस्टेमा बसेका पर्यटकलाई प्याकेजमा खान र बस्नको व्यवस्था छ । बिहानदेखि बसेकालाई १ हजार २ सय र बेलुकी बसेकालाई ६ सय रुपैयाँमा प्याकेजमै खान र बस्नको व्यवस्था गरिएको होमस्टे समिति अध्यक्ष मदना थकालीले बताइन् ।
होमस्टेमा थकाली खानाका मुख्य परिकार फापरको ढिडो, लोकल कुखुरा र च्यांग्राको मासु, उवा र स्याउका ब्रान्डी उपलब्ध छन् । ठिनी थकाली होस्टे प्रर्वद्धनका लागि २ वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा स्वागत गेटसमेत निर्माण गरिएको छ । होम स्टेका लागि प्रदेश सरकारमार्फत क्रममगत बजेटले समाजघर स्तरोन्नति, शौचालय र कोसेलीघर बनिसकेका छन् ।
तपाईको प्रतिक्रिया