रवि लामिछाने कांग्रेसमै पुग्लान् ?

गोविन्दराज केसी २०७९ पुष ४ गते १२:२२

रवीन्द्र मिश्रपछि फेरि रवि लामिछाने पत्रकारिता क्षेत्रको जगबाट राजनीतिमा निर्णायक हस्तक्षेप गर्न सफल भएका छन् । समकालीन नेपाली राजनीति, अर्थतन्त्र, कूटनीति, संस्कृतिजस्ता क्षेत्रभित्र रहेका बेथिति, विसंगतिलाई जनमानसमा आक्रामक ढंगले प्रस्तुति दिएर छवि निर्माण गरेका दुई पात्रमध्ये रवीन्द्र मिश्र लगभग असफलताको साङ्लोले बाँधिइसकेका छन् ।

Advertisement

उनको यात्रा पश्चगमन र मरिसकेको राजतन्त्रलाई कहीँ कतै फिर्ता ल्याउन सकिन्छ कि भन्ने कुत्सित मनसायबाट प्रेरित घोर दक्षिणपन्थी रहेको सर्वविदितै छ । यता रविको लक्ष्य, नीति, योजना, कार्यक्रम, रणनीति, कार्यनीति के हो भन्ने अझै स्पष्ट छैन ।

लामिछानेसँग जुन संगठन र शक्ति निर्माण हुन खोजिरहेको छ, त्यो एकदम काँचो र प्रतिशोधमा जन्मिएको हो

कुनै राजनीतिक आकार नै नभएको दललाई नेपाली जनताले ठूलो अभिमत दिएर संसद्मा पठाएका छन् । हुन त लामिछानेसम्बद्ध केही नेता मध्यपन्थी पार्टीको वैचारिक दिशामा अगाडि बढने पनि भनिरहेका छन् ।

मध्यपन्थ रवीन्द्र मिश्रको जस्तो घोर दक्षिणपन्थी नभए पनि नेपाली कांग्रेसजस्तै दक्षिणपन्थी लाइनको एउटा हाँगा नै हो । १० वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन र मधेस आन्दोलनले स्थापित गरेको संघीयताको मूल मर्ममाथि उनले प्रश्न खडा गरेका छन् ।

Advertisement

अब केही समयपश्चात् लामिछानेको वास्तविक पहिचान हुनेछ । उनले कि त संघीय संरचना स्वीकार गरेर मूल धारमा अडिन प्रयत्न गर्नेछन्, कि त उक्त संरचनाविरुद्ध जनमत खडा गरेर विद्रोही शक्तिको रूपमा संगठन विस्तारको जग हाल्न कोसिस गर्ने छन् ।

चुनावको सबै परिणाम घोषणा भइसकेको छ । यो चुनावले समानुपातिक प्रणालीमा नेकपा एमालेलाई ठूलो दलको रूपमा स्थापित गरे पनि नेपालमा दक्षिणपन्थी शक्तिका लागि उत्साहजनक माहौल सिर्जना गरिदिएको छ ।

२०७४ को चुनावमा साढे २ प्रतिशतवरिपरि मत प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक ५.५८ प्रतिशत मत प्राप्त गर्नु र वामपन्थी भनिएका शक्तिहरूको मत भारी ओरालो लाग्नुले त्यसको छनक दिएको छ ।

उदाउँदै गरेको मध्यम वर्ग
एक दशकअगाडि यस लेखकको गाउँमा एक वा दुई जनामात्र करोडपतिको लाइनमा मानिस थिए । तर, आज झण्डै सय जना मानिस गरिबबाट मध्यम वर्गमा रूपान्तरण भएका छन् । सापेक्षमा सायद आज देशभरिको अवस्था यही हो । रेमिट्यान्सले निर्माण गरेको यस्तो समाजको दिगोपन कति हुन्छ, त्यो बहसको अर्थशास्त्रीय पाटो हुन सक्छ ।

तर, त्यसले निर्माण गर्न खोजेको वैचारिक दिशा नेपाली राजनीतिमा कम अध्ययन गरिएको पाटो हो । यस्तो मध्यमवर्गीय शक्ति आर्थिक हिसाबले आत्मनिर्भर हुने हुँदा राजनीतिक निर्णय कसैको करकाप वा जोरजबर्जस्तीभन्दा आफ्नो रुचि, चाहना वा स्वविवेकले लिन्छ । तर, निर्माण हुँदै गरेको मध्यम वर्गको मत माओवादीले प्राप्त गर्न सकेको देखिँदैन ।

क्रान्तिकारी जार्गनको अति सहारा लिनुपर्ने उसको बाध्यतालाई जनताले एकपछि अर्को गर्दै बेवास्ता गरिरहेका छन् । यस्तो मध्यम वर्ग मतपरिणाममा एकदम विध्वंसकारी हुन्छ । यो वर्गले सिर्जना गर्ने अनपेक्षित मतपरिणामले सिंगाे राजनीतिक प्रणालीको जग भत्काउन हमेसा प्रयत्न गर्छ । मुख्य शक्तिको पूजा गर्नु र त्यो शक्तिले आफ्नो पक्षमा काम गरेन भने वैकल्पिक शक्ति निर्माणका लागि वातावरण बनाउने यसको वर्गगत स्वार्थप्रेरित चरित्र हुन्छ ।
विश्वमा घटेका हरेक घटनासँग क्षणभरमा जोडिएर तत्अनुसार आफूलाई परिमार्जन गर्न सक्ने र विचारको निर्माण गर्न सक्ने सचेत र शिक्षित वर्गको यस्तो ठूलो समूह नेपाली समाजको गर्भमा हुर्किरहेको छ । अति शीघ्र परिणाम चाहिने मध्यम वर्ग लामो समयदेखि कांग्रेस एमालेको पक्षमा उभिएको थियो ।

तिनीहरूको कार्यसम्पादनबाट वाक्क भएपछि यसपटक रवि लामिछानेलाई यस्तो समूहले आफ्नो नायक मानेको छ । किनकि यसको चरित्र स्वयम् नायक स्थापना गरेर आफू अनुकूलको प्रणाली निर्माण गर्नु हो ।

गगन थापा कांग्रेसभित्रको एउटा उदाउँदो नक्षेत्र हुन् भन्नेमा कुनै शंका छैन । बेथितिले थलिएको राजनीतिमा युवा पुस्ताका लागि आशाका किरण छर्ने दीपजस्तै हुन् उनी यस बखत । बदलिँदो विश्वलाई गहन ढंगबाट नियालेर दृष्टिकोण निर्माण गर्न सक्ने तागत थापाले राख्छन् ।

तर, गठबन्धन निर्माणमा थापासम्बद्ध समूहका गतिविधि नियाल्दा उनी प्रधानमन्त्री देउवाभन्दा बढी अनुदार र परम्परागत कांग्रेस देखिएका छन् । गठबन्धनले बहुमत प्राप्त गर्दा वाम र लोकतान्त्रिक शक्तिलाई बाह्य शक्तिहरूले पनि स्वीकार्न सक्ने र शक्ति केन्द्रका स्वार्थलाई सन्तुलन कायम राख्न पनि सहजता हुन्थ्यो ।

तर, चुनावअगाडि थापा समूहको भूमिका सन्देहपूर्ण देखिन्थ्यो । माओवादीको ठूलो पङक्तिले यसबारे चौतर्फी आवाज बोलिरहेको स्पष्ट नै छ । हुन त माओवादीले अँगाल्ने अर्थ, कूटनीति, सुरक्षा र राजनीतिक मामिला कांग्रेसको भन्दा पृथक् छ । त्यसैलाई मूल आधार मानेर गगन समूह रणनीतिक योजनाका साथ अगाडि बढेको देखिन्छ ।

खुला बजार अर्थतन्त्र, अमेरिकी नेतृत्वको एक ध्रुवीय उदार विश्व–व्यवस्था, बहुलवादी शासन प्रणाली, कम्युनिस्ट पार्टीसम्बद्ध राजनीतिक विचारधाराविरुद्ध खरो आवाज उचाल्ने एउटा बौद्धिक तप्काको ध्रुवतारा हुन् थापा यतिखेर । अमेरिका तथा युरोपका उत्कृष्ट शैक्षिक संस्थाबाट प्रशिक्षित यस्तो तप्का लोकतान्त्रिक मूल्य, मान्यताविरुद्धका सबै खाले हर्कतविरुद्ध कडाइपूर्वक उभिने मत राख्ने जिकिर गर्छ ।

नेपालमा २०७४ को निर्वाचनको सेरोफेरोमा वामपन्थीहरूको पक्षमा जुन ऐतिहासिक जनमत प्राप्त भयो, त्यसले त्यस्ता बौद्धिक तप्का र कांग्रेसको राजनीतिक नेतृत्वलाई पनि त्रसित पार्नु स्वाभाविक थियो । यधपि वामपन्थी दलहरू आन्तरिक खिचतानीका कारण आफैँ विघटनको सिकार भए । गगन थापा त्यस समूहका लागि एउटा तिलस्मी नेतृत्व बनेर उदाउँदै थिए ।

उनका सन्देहास्पद गतिविधिले वामपन्थीमात्र होइन, उनकै दलभित्रको ठूलो तप्का उनीप्रति झन् अनुदार छ । प्रधानमन्त्रीको रहर गरे पनि त्यो माओवादीको सहमतिबिना सम्भव छैन । उनले चाल्ने हरेक चालको वामपन्थी नेतृत्वले निगरानी राखिरहेको छ । देउवा स्वयम् उनको प्रगतिमा काँडेतार बनेर आउने निश्चित छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यस पटक नेपाली राजनीतिमा जबर्जस्त हस्तक्षेप गर्‍यो । तर, यसको आयु कति हो र यसले हाँगाबिँगा कति परसम्म फैलाउन सक्छ, अहिले नै भन्न सकिँदैन । पार्टी संस्थागत हुन तीन प्रक्रिया अनिवार्य पार गर्नुपर्छ ।

पहिलो, चुनावमा कम्तीमा दुई पटक भाग लिएपछि त्यसको वास्तविक आकार कस्तो हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । दोस्रो, आन्तरिक पार्टी निर्वाचन वा महाधिवेशनमार्फत संगठन र विचार संस्थागत गरेर आउनुपर्छ । तेस्रो, लेनिनवादी संगठनात्मक प्रणालीअन्तर्गत सेनाको निर्माण तथा उक्त सेना पार्टीमातहतमा रहेर पार्टी र देशको सेवा गर्छ ।

लामिछानेको पार्टी संगठन निर्माणको प्रारम्भिक चरणमा रहेको र तीनमध्ये कुनै पनि साधनको प्रयोग नगरेका कारण यसको भविष्यबारे ज्योतिषी गर्नु सान्दर्भिक नहुन सक्छ ।
परिस्थितिले गगन थापा र रवि लामिछानेलाई एक ठाउँमा ल्याउने प्रशस्त आधारहरू निर्माण गर्दै छ ।

लामिछानेले मध्यपन्थी राजनीतिक दर्शन अपनाउने भने पनि नेपाली समाजको वर्ग बनावट अझै त्यसका लागि तयार भइसकेको छैन । दक्षिणपन्थी वा मध्यपन्थी विचार बोक्नका लागि कांग्रेस र त्यसको वैचारिक अगुवाइका लागि गगन थापा र विश्वप्रकाश शर्मा मौजुदा छन् । लामिछानेसँग जुन संगठन र शक्ति निर्माण हुन खोजिरहेको छ, त्यो एकदम काँचो र प्रतिशोधमा जन्मिएको हो ।

रविका दुवै ढोका बन्द
मानिस एक/डेढ दशकको अन्तरालमा नयाँ स्वाद खोजिरहेका हुन्छन् । कार्यकर्ताहरूलाई भन्दा जनताले सामाजिक सञ्जाललाई विचार निर्माण र मत निर्माणको आधार तय गर्दै गरेको आभास मिल्छ । यसलाई व्यवस्थित उपयोग गर्न रवि लामिछाने सफल भए । मतदान गर्न हिँडेको मानिस बीच बाटोमा पुग्दा मत बदल्न पुग्यो । त्यस्तो मत कांग्रेस–एमाले–माओवादीको परम्परागत मत थियो ।

यस पटक प्राप्त गरेको सहानुभूतिको मत अर्कोपटक पुनः लामिछानेले प्राप्त गर्ने छैनन् । मूलधारका कुनै पनि दल यति आक्रामक ढंले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनेछ भनेर सोचेका समेत थिएनन् । परिणामले उनीहरू तीनछक परे, जसरी २०६४ मा माओवादीले प्राप्त गरेको सफलताजस्तै यस पटक मुख्यतः कांग्रेसको ठूलो मत ‘घण्टी’मा स्विङ भयो भने पहिलोपटक मताधिकार प्राप्त गरेको युवापुस्ताले पनि लामिछानेलाई अनुमोदन गर्‍यो ।

एमाले र माओवादीको जनाधार त्यति खस्केको देखिँदैन । किनकि वामपन्थी मतहरू ज्यादा संगठित त सैद्धान्तिक हुने गर्छन् । गठबन्धनमा माओवादी र समाजवादी (वामपन्थी) लाई चित्त नपार्ने कट्टर कांग्रेसीहरूले उस्तै रङका लामिछानेलाई मत दिएर आफ्नो चित्त बुझाउने कोसिस त गरे, तर उनीहरूलाई नै त्यस्तो निर्णयले घण्टी बजाइदियो ।

तर, आगामी दिनमा यसलाई प्रत्येक दलहरूले सच्याउने निश्चित छ । अझै वामपन्थी दलहरूले यसलाई मुख्य शिक्षाको रूपमा ग्रहण गरेका छन् । ती दलभित्रका युवा चर्को राजनीतिक हस्तक्षेपको तयारीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय राजनीतिमा सशक्त उपस्थिति जनाए पनि आगामी दिनमा यसको बाटो त्यति सहज र फराकिलो छैन ।

हुन त देश विकास गर्न कुनै वाद चाहिँदैन भन्ने पनि यदाकदा सुन्ने गरिन्छ तर राजनीतिशास्त्रमा त्यस्ता बहसहरू स्वयम् अराजनीतिक बहस हुन् । कथंकदाचित् त्यस्ता मानिसहरूले राजनीतिको बागडोर सम्हाले भने देश झन् भयानक दुर्घटनाको सिकार हुन्छ ।

लामिछानेले सरकारबाहिर बसेर प्रतिपक्षको भूमिका खेल्ने कोसिस गरे पनि त्यसले कति सार्थकता पाउँछ भन्ने हो । गगन थापाले आफ्नो दलभित्र मुख्य नेतृत्व सम्हाल्दा त्यसको सिधा असर लामिछानेलाई पर्नेछ । दलको नेतृत्व नपाएको खण्डमा पार्टीभित्र वा बाहिर प्रतिपक्षको भूमिकामा थापाको क्रियाशीलता अरु सशक्त हुनेछ ।

सँधैजसो नेता र दललाई गाली गरेर अब लामिछानेको राजनीति पार लाग्दैन । जनताले डेलिभेरी पोलिटिक्सको अपेक्षा गर्दा गाली राजनीतिले आफैँलाई सबैभन्दा छिटो समाप्तिको दिशातिर लैजान्छ भन्ने पक्कै लामिछानले बुझेको हुनुपर्छ ।

यहाँनेर ख्याल गर्नुपर्ने अर्को कटु सत्य के हो भने १३ लाख हार्डकोर मतदाता भएको माओवादी त सुनिश्चित भविष्यका लागि एमालेसँग एकता गर्न बाध्य भयो भने कांग्रेस मत निर्मित लामिछानेको टड्कारो बाध्यताको भविष्य झन् टाढा छैन । हेर्दा, सुन्दा र लेख्दा पूर्वाग्रहले प्रेरित देखिए पनि बाध्यात्मक यथार्थले नेतालाई धकेल्ने त्यतै हो । हामी चाहन्छौँ, लामिछानेका त्यस्तो दुर्दशायुक्त अवसान नहोस् ।

परिस्थितिले अन्ततः रविलाई कांग्रेसको कित्तामा धकेल्न सक्ने प्रशस्त आधार निर्माण हुँदैछन् । अहिले प्राप्त गरेको मतको विशाल हिस्सा कांग्रेसको हुनु, वैचारिक हिसाबले मध्यपन्थी दक्षिणपन्थको बाटो समात्नु, धर्म, संस्कार र आचरणमा कांग्रेससँग निकट हुनु, राजनीतिक परिवर्तनको मूल उपलब्धि संघीयतामा पनि कांग्रेससँगको एउटा तप्कासँग निकट हुँदा यसको सहकार्य आगामी दिनमा कांग्रेससँग हुने सम्भावना प्रवल छ ।

तथापि, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको मुद्दामा विपक्षमा उभिए भने लामिछाने रवीन्द्र मिश्रको पदचाप पछयाउँदै साझा पार्टीको राप्रपामा विलयजस्तै आगामी दुई चुनावसम्म राजेन्द्र लिङ्देनमा समाहित हुन पुग्ने सम्भावना पनि उत्तिकै छ ।

मध्यावधि निर्वाचनको सम्भावना
देश मध्यावधि निर्वाचनमा जाने हो कि भन्ने खतरा पनि राजनीतिक वृत्तमा देखिँदैछ । गठबन्धनले यसपटक देउवा वा अन्य कसैलाई ५ वर्षका लागि एकल प्रधानमन्त्री दिनेवाला छैन । कांग्रेसलाई आलोपालोमा पहिला प्रधानमन्त्री दिँदा बेइमान गर्छ कि भन्ने माओवादीलाई चिसो पसिरहेको छ ।

त्यही भएर नै प्रचण्डलाई गठबन्धनको पहिलो प्रधानमन्त्री दिनुपर्छ भनेर माओवादी नेताहरूले बाक्लै बोलिरहेका छन् । कांग्रेसभित्रको गगन–शेखर समूहले गठबन्धनप्रति निर्माण गरेको शंकास्पद गतिविधिले माओवादी सशंकित छ नै । जसले गर्दा विश्वासको संकट चर्कोसँग गुम्सिएर बसेको छर्लंग छ ।

यस्तो अवस्थामा देश कानुनी प्रक्रियालाई अवलम्बन गर्दै मध्यावधि निर्वाचनमा गयो भने यसपटक वामपन्थी दलहरूको बीचमा गठबन्धन बन्ने आधार बलियो गरी खडा भएका छन् । माओवादी–एमाले गठबन्धनजस्तो माओवादी–कांग्रेस गठबन्धन सशक्त र एकमतका साथ अगाडि बढ्न सकेन । जुन २०७४ सालको निर्वाचन र यसपालिको आँकडाले स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीको भुत चर्को गरी सवार गरेको थापाको मानसिकताले यो कटु यथार्थलाई गहिरो गरी तौलिरहेको छ । नेपथ्यमा चुनावअगाडि वा पछाडि सुनिएको तर्क थियो कि गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारमा अगाडि सारिएको भए कांग्रेसी मत ’स्विङ’ नहुने र लामिछानेको उदय रोकिने सम्भावना रहन्थ्यो ।

यसले गगन थापाको महत्वाकांक्षामा आगोमा घ्यु थपेको छ । वामपन्थी दल भनेपछि घृणा गर्ने परम्परागत कांग्रेसी मतदाताले थापाको अनुपस्थितिमा विकल्प स्वरूप घण्टीमा मत दिए । ‘दिए कांग्रेसलाई देऊ, नत्र घण्टीलाई देऊ’ भन्ने अभियान भित्रभित्रै कांग्रेसी नेताहरूले नै सञ्चालन गरेका थिए ।

आगामी चुनावको यस्तै अनेक परिवेशले रवि लामिछाने र गगन थापाको गठबन्धन सम्भव देखिँदैछ । प्रकारान्तरले यसले नै पार्टी एकताको रूप लिन सक्छ । दुईबीच व्यक्तित्वको टकराव देखिए पनि राजनीतिमा इतिहासले दिएको शिक्षा के हो भने एउटा चरण पार गरेपछि त्यस्ता टकराव मत्थर हुँदै दलहरू एकआपसमा एकजुट हुन पुगेका छन् ।

तपाईको प्रतिक्रिया