भोलिदेखि लेखनाथ महोत्सव

समाधान संवाददाता २०७९ पुष ६ गते ११:३४

पोखरा ।
१८ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । महोत्सव बिहीबार सुरु हुँदैछ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिका २७, तालचोकमा आयोजना हुने उक्त महोत्सवको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

Advertisement

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको उद्देश्य देशको अर्थतन्त्रलाई चलायमान बनाउने, आर्थिक गतिविधि बढाउने, स्थानीय उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, पहिचान गर्ने रहेको आयोजकले जनाएको छ ।

महोत्सव मुल संयोजक छत्रधर आत्रेयले लेखनाथको पहिचान र चिनारीका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । महोत्सवको स्वरुप परिवर्तन गरेर जानुपर्ने अवस्था आएकाले महोत्सवको स्वरुप परिवर्तन गरेको उनको भनाइ छ ।

‘महोत्सवको ट्रेन्ड परिवर्तन हुनुपर्ने आवश्यकता देखिएको छ । हामी पनि सच्चिँदैछौं । यसपालि महोत्सव परिर्वतन भएको केही सांकेतिक परिदृश्य देखाउनेछौं ।’ उनले भने ।

यो महोत्सवले नेपालको अर्थतन्त्र चलायमान बनाउने महोत्सवका प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले बताए । उनले भने, ‘कोरोना, रुस—युक्रेन युद्ध लगायत कारणले वित्तीय क्षेत्रमा देखा परेको तरलता अभाव र चर्काे ब्याजले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनेछ ।’

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सव पुस १८ गतेसम्म चल्नेछ । महोत्सवमा ३ सय ३७ स्टल रहेछन् । धेरै स्टल सशुल्क भएपनि केही स्टल निशुल्क गरिएको छ ।

पुराना प्रविधिबाट बनेका माटाका भाडा, बाँसको चोयाले बनेको डोको, परालको गुन्द्री, फलामका भाडा र दृष्टिविहीनले बनाएको अगरबत्तीका लागि निशुल्क स्टलको व्यवस्था गरिएको महोत्सव मूल संयोजक छत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्न अनुमान गरिएको प्रचारप्रसार संयोजक ओझाले बताए । १० करोड रुपैयाँको आर्थिक कारोबार र ९५ लाख रुपैयाँ आम्दानी हुँदा १० लाख रुपैयाँ बचत हुने आयोजकको अनुमान छ । महोत्सवबाट बचत भएको रकमलाई सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने प्रचार संयोजक ओझाले बताए ।

महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन, लघुघरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्ने योजना छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उभोग्य वस्तु तथा सेवाहरूको प्रवद्र्धन, जातीय, भेषभूषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने समेत लक्ष्य महोत्सवले लिएको छ ।

महोत्सव प्रवेशका लागि विद्यार्थी टिकट ५०, साधारण टिकट ८० र कन्सर्ट टिकट १५० कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपांग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसअघि लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा सोमबार महोत्सवको पहिलो कार्यक्रमको रुपमा साहित्यिक कार्यक्रम अन्तर्गत कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा उनीद्वारा सिर्जित १८ कविता १८ कविद्वारा वाचन कार्यक्रम गरिएको थियो ।

२०५८ सालमा उक्त ठाउँमा सुन्तला प्रदर्शनी भएको थियो । त्यसको ३ वर्षपछि महोत्सवको रुपमा परिणत भयो । २०६१ मा पहिलोपटक लेखनाथ महोत्सवको भएको थियो ।

तपाईको प्रतिक्रिया