नेपाली भाषा

उमेश रेग्मी २०७९ पुष ६ गते १२:२३

संसारमा धेरै भाषा बोलिन्छन् । ती भाषामध्ये नेपालमा बोलिने नेपाली भाषा पनि एक हो । नेपालमा नेपालीका अतिरिक्त अन्य १२९ भाषा परिवारको बसोवास रहेको छ । संसारका भाषालाई विभिन्न भाषा परिवारभित्र राखेर अध्ययन गर्ने गरिन्छ ।

Advertisement

नेपाली भाषा पनि भारोपेली भाषा परिवार भित्रको सतम् वर्गमा पर्ने एक भाषा हो । यस भाषाको शाखा आर्य इरानेलीको आधनिक आर्य भाषामध्ये एक पर्दछ । नेपाली भाषा संस्कृत, प्राकृत तथा अपभ्रंश हुँदै विकसित भएको भाषा हो । यीमध्ये कुन शाखाबाट यसको जन्म भएको भन्ने विषयमा विद्धानबीच एकमत भने पाइँदैन ।

नेपाली भाषा नेपालको राष्ट्रभाषा हो भने यो सरकारी काम काजको भाषा पनि हो । पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म उत्तरमा हिमालदेखि दक्षिणमा तराइसम्म यो भाषा बोलिन्छ, बुझिन्छ । यस भाषाका माध्यमबाट एक अर्कोमा सम्पर्क गर्न, कुराकानी गर्न पनि सजिलो छ ।

नेपाली भाषामा धेरै साहित्यिक तथा गैर साहित्यिक कृति प्रकाशित भएका छन् । नेपालमा मात्र नभएर नेपाली भाषा भारत, म्यान्मार लगायत विश्वका धेरै ठाउँमा बोल्ने गरेको पाइन्छ । भाषा प्रयोगकर्ताको हिसाबले यो भाषा धेरै धनी भाषा पनि हो ।
नेपाली भाषाको विकास क्रमलाई निम्नानुसार चरणमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।

नेपाली भाषा नेपालको राष्ट्रभाषा हो भने यो सरकारी काम काजको भाषा पनि हो । पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म उत्तरमा हिमालदेखि दक्षिणमा तराइसम्म यो भाषा बोलिन्छ, बुझिन्छ ।

Advertisement


१. प्राथमिक काल वा चरण :वि.स. १०४० देखि १५४९ सालसम्म यसको समय कायम भएको पाइन्छ । वि.सं १०३८ को राजा दामुपालको अभिलेख यसै समयमा लेखिएको थियो । भारतको मुगल साम्राज्य विस्तारका क्रममा हुन सक्ने आक्रमणबाट बच्नका लागि तथा प्रतिआक्रमण गर्नका लागि हुम्ला श्रीपालका राजा नागराजले वि.स. १०४० मा खस राज्यलाई एकीकरण गरेको इतिहासमा पाइन्छ ।

भनिन्छ यिनी खस नभएर तिब्बती थिए । यिनको मातृभाषा पनि तिब्बती थियो । त्यति बेला खसहरू बढी थिए । पूर्वेली खस राज्यका दुईवटा प्रान्त थिए ः खसान र जाड वा भोटेहरू । खस वा खसान राज्यको राजधानी भने सिंजा यानी अहिलेको जुम्ला थियो । यसबेला एउटै राजकीय भाषाको रुपमा प्रयोग भएको सिन्जाली भाषा नै थियो । पछि यो भाषा बढ्दै गण्डकी क्षेत्रसम्म आइपुग्यो ।

यस बेलाका प्रचलनमा भएका अभिलेखहरू यस प्रकार छन्:
अशोक चल्लाको दुल्लुको अभिलेख, आदित्य मल्लको ताम्रपत्र, गोरखाको ताघबाइ गुम्बामा प्राप्त आदित्य मल्लको ताम्रपत्र, पुण्य मल्लको ताम्रपत्र आदि ।

२. मध्यकालीन युग वा चरण ःराजा अभय मल्लको पतनपछि नेपाली भाषाले पनि प्राचीन लक्षणहरू गुमाउदै गएको देखिन्छ । वि.स. १५५५ को धवकर्मठद्वारा लिखित कार्बोरिक विवेष शाहीको ताम्रपत्रको भाषा यस समयको उदाहरण हो १३ औँ शताब्दीतर आएर नेपाली भाषाको विस्तार हुन थाल्यो ।

यस समयमा नेपाली भाषा भारतको दार्जीलिङ आसाम हुँदै बर्मासम्म फैलियो । यसै समयमा नेपाली भाषाले प्रशासनको भाषा बन्ने मौका पनि पायो । यस समयमा १९४८ को मोतिरामको भानुभक्तको जीवन चरित्र तथा १८५५ को शक्तिबल्लभको हास्यकदम्ब महत्वपूर्ण मानिन्छ ।

यस समयको भाषामा गद्य र पद्य दुवै प्रयोगमा आएको पाइन्छ । साहित्यको सिर्जना पनि यस समयमा बढी भएको देखिन्छ । पुस्तक, पत्रपत्रिका पनि यस समयमा छापिएका छन् । व्यकरण लेखनको सुरुवात पनि यसै समयमा भएको पाइनन्छ ।

३. आधुनिक चरण वा काल: नेपाली भाषाको आधुनिक युग वा चरण वि.सं. १९५८ को गोरखापत्र प्रकाशनसँगै सुरु भएको मानिन्छ । यसको प्रकाशनपछि भाषाले विकास हुने मौका पनि पायो । नेपालबाट मात्र नभएर नेपाली भाषाको विकासको लागि तत्कालीन समयमा भारतको दार्जीलिङ, सिक्किम, आसामबाट पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

वि.स. १९६५ मा माधवी पत्रिका, मध्यचन्द्रिका व्याकरणको प्रकाशन, १९९१ शरदा पत्रिकाको पनि महत्वपूर्ण योगदान र भूमिका रहेको छ । यसपछि नेपाली भाषाले धेरै परिष्कार हुने मौका प्राप्त गर्‍यो र आजको वर्तमान स्वरुपमा नेपाली भाषा, आइपुगको हो ।

वि.स. १९५८ को प्राकृत व्याकरण, वि.स. १९६५ को हलन्त बहिस्कार आन्दोलन तथा वि.स १९७० को गोर्खा भाषा प्रकाशिनी समितिको स्थापना महत्वपूर्ण मानिन्छ । त्यसैगरी २०१३ सालको झर्रोवादी आन्दोलन पनि अविष्मरणीय रहेको छ ।

यस समयमा नेपाली भाषाले राष्ट्रको प्रमुख भाषाको रुपमा स्थापित भएको छ । यो नेपालीको साझा तथा सम्पर्क भाषाको रुपमा स्थापित भएको छ । साहित्यिक तथा पत्रपत्रिका प्रकाशन प्रशस्त भएका छन् । मानक र स्तरीय रचना पनि यस समयमा प्रकाशन भएका छन् ।

तपाईको प्रतिक्रिया