दमाैलीमा रक्तचाप मापन अभियान सुरु

समाधान संवाददाता, दमौली
स्वास्थ्य कार्यालय तनहुँ र व्यास नगरपालिकाको आयोजनामा सोमबारदेखि तनहुँको दमौलीमा रक्तचाप मापन अभियान सुरु भएको छ । अभियानको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले शुभारम्भ गरे । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले रक्तचापको परीक्षण गराउँदै सुरुआत गरेका थिए ।
सर्वसाधारणलाई रक्तचापको बारेमा सचेतना जगाई रक्तचापको रोकथाम र उपचारको बारेमा जानकारी गराउने उद्देश्यले अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बराकोटीले जानकारी दिए । उनले भने, ‘रक्तचाप जीनवशैलीसँग सम्बन्धित रहेकाले सर्वसाधारणलाई यसबारेमा जानकारी गराई स्वस्थ राख्न सहयोग पुर्याउनु अभियानको मुख्य उद्देश्य हो ।’
उनका अनुसार विभिन्न किसिमको विज्ञान, प्रविधि, यातायातमा भएका विकास, आधुनिकीकरण, व्यस्तताले भरिएको दैनिकी, शारीरिक व्यायामको कमी, तनाव आदि जीवनशैली परिवर्तनको मुख्य कारण भएकोले जीवनशैलीकै कारण मानिसलाई रक्तचापको समस्या हुने गरेको छ ।
१ महिनासम्म सञ्चालन हुने अभियानको पहिलो दिन १ सय २० जनाको रक्तचाप परीक्षण गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र न्यौपानेले जानकारी दिए । स्वास्थ्यकर्मीका अनुसार मुटु तथा रक्तनलीका रोगमध्ये सबैभन्दा बढी देखिने रोग उच्च रक्तचाप भएको र सिस्टोलिक वा माथिको १४० एमएम एचजी वा बढी र ड्यास्टोलिक वा तलको ९० एमएम एचजी वा बढी हुनु उच्च रक्तचापको अवस्था हो ।
रक्तचापलाई सामान्य रक्तचाप, उच्च रक्तचापको पूर्वावस्था, उच्च रक्तचाप र अति उच्च रक्तचाप गरी ४ खण्डमा वर्गीकरण गरिएको छ । टाउको दुख्ने, झुम्म हुने, छाती दुख्ने, श्वास फेर्न अप्ठ्यारो हुने, मुटु बढी ढुकढुक भएजस्तो हुने, नाकबाट रगत बग्ने, आँखा धमिलो हुने उच्च रक्तचापको प्रमुख लक्षण भएकाले यस्तो लक्षण देखिनासाथ अस्पतालमा परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
धूमपान तथा सूर्तीजन्य पदार्थ र मदिरा सेवन, बढ्दो उमेर, मोटोपना, अस्वस्थ खानपान, शारीरिक निस्कृयता, वंशाणुगत र तनाव उच्च रक्तचापका कारक तत्वहरु हुन् ।
अभियानमा स्वास्थ्यकर्मीले उच्च रक्तचाप रोकथामका लागि दैनिक ५ ग्राम भन्दा कम नुन खाने, धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन नगर्ने, मदिरा सेवन नगर्ने, तनावमुक्त रहने, स्वस्थ र सन्तुलित खाना खाने, नियमित ३० मिनेट हल्का पसिना आउने गरी शारीरिक व्यायाम गर्नाले रक्तचाप नियन्त्रणमा आउने बताएका छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया