‘दलितको प्रतिनिधित्व सुनिश्चित गर’

पोखरा ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औं स्थापना दिवसको सन्दर्भमा मुक्ति समाज गण्डकी प्रदेश कमिटीले नेकपा (एमाले)बाट प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा निर्वाचित सदस्यलाई बधाई ज्ञापन गरेको छ ।
कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा एमाले गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले जनप्रतिनिधिको रुपमा पार्टीले दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने प्रतिवद्धता गरे । दिगो विकास आर्थिक समृद्धिको एजेन्डालाई अघि बढाउनेमा एमाले जस्तो योग्य पार्टी अरु नभएको दाबी गरे ।
एमालेको संगतले माओवादी सफल भएको दाबी गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले २ पटक प्रधानमन्त्री बनाएको चर्चा गरे । फरक प्रसंगमा नेता अधिकारीले जातीय भेदभाव गर्नेलाई पार्टीबाट हटाउने विधान एमालेले बनाएको जानकारी दिए । ‘जबसम्म खस आर्य तथा आदिवासी जनजातिले वकालत गर्दै तबसम्म समाजमा जातीय भेदभाव कायम रहन्छ,’ उनले भने, ‘दोषीलाई दण्डित गर्नेदेखि जातीय विभेदको विरुद्ध राष्ट्रिय रुपमा अभियान चलाउन पर्छ ।’ उनले खानेपानी, मोटरबाटो निर्माणमा एमालेका नेता तथा कार्यकर्ता हाजिर भएर जनताको काम गर्न निर्देशन दिए ।
मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले संघ तथा प्रदेशमा सरकार गठन गर्दा संवैधानिक व्यवस्थालाई सुनिश्चित गरी दलित समुदायको प्रतिनिधित्व गराउन माग गरे । समाजमा रहेको विभेद र उत्पीडन अन्त्यका लागि राज्यको तर्फबाट खेल्ने भूमिका निर्वाह गर्न आग्रह गर्दै अध्यक्ष विश्वकर्माले प्रगतिशील कानुन निर्माणदेखि दलित समुदायको जीवनस्तर सुधारका लागि कार्यक्रम ल्याउन सुझाव दिए ।
पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य सीता सुन्दासले गठबन्धन हार्नु तथा विखण्डन हुनु नेपाली जनताको जित भएको बताइन् । पार्टीका केन्द्रीय सदस्य तथा मुक्ति समाजका केन्द्रीय अनुशासन विभागका प्रमुख गोविन्द नेपालीले सबै बामपन्थी दललाई एक ठाउँमा ल्याउन एमालेको भूमिका रहेको बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले बैगुनीलाई गुन लगाएर साथी बनाउने रणनीति पार्टीले अघि सारेको उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य पद्मा जिसी श्रेष्ठ, मुक्ति समाज गण्डकी अध्यक्ष निर्मल दियाली सुनार, उपाध्यक्ष होमबहादुर विश्वकर्मा, सचिव बमबहादुर विश्वकर्माले सबै खालका विभेद अन्त्य गरी समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया