राजनीतिमा नैतिकता हरायोः पाण्डे

पोखरा ।
गण्डकी प्रदेशमा कांग्रेसबाट संसदीय दलका नेताका दाबेदार सुरेन्द्र पाण्डेले राष्ट्रिय राजनीतिमा नैतिकता हराएको बताएका छन् ।
पोखरामा सोमबार पत्रकारसँग कुरा गर्दै उनले राजनीतिमा नैतिकता सकिएको बताएका हुन् । ‘यो दल, त्यो दल भन्ने छैन । सबै दलको नैतिकता देखिएनँ,’ पाण्डेले भने
गोरखा निर्वाचन क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य पाण्डे कांग्रेस गठबन्धन हुँदा मुख्यमन्त्री दाबेदार थिए ।
उनलाई प्रचण्डले निर्वाचनको समयमा मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए । ‘नेतृत्व तहमा नैतिकताको खडेरी लागेको छ,’ उनले भने, ‘जुन उद्देश्यले गठबन्धन गरेका थियौं । त्यो अनुसार इमान्दारिता देखिएन ।’
उनले गठबन्धन टुट्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको दाबी गरे । प्रदेशको समृद्धिका लागि कांग्रेस प्रतिपक्षमा बसेर रचनात्मक काम गर्दै नीति तथा कार्यक्रम र बजेट ल्याउने क्रममा सहकार्य र समन्वय गर्ने उनले बताए । कांग्रेस संसदीय दलको नेता बन्नेमा पाण्डे ढुक्क छन् ।
पाण्डेले संघीयता बलियो बनाउन र प्रदेश संरचनाको महत्व बुझाउन पनि प्रदेश सांसदको भूमिका रहेको सुनाए । उनले राजनीतिमा कहिले सत्ता र कहिले प्रतिपक्षमा रहनु स्वभाविक भएकाले प्रतिपक्षमै बसेर रचनात्मक काम गर्ने बताए ।
तपाईको प्रतिक्रिया