सम्पादकीय: नयाँ सरकारको दायित्व

समाधान संवाददाता २०७९ पुष १४ गते १२:१६

राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन । यो भनाइ अहिले नेपाली परिदृश्यमा सार्थक देखिएको छ । नेपाली राजनीतिमा यस्तो बारम्बार हुने गरेको छ । एकाएक फेरिएको दलीय समीकरणले नयाँ गठबन्धन निर्माण भएर फरक स्वरुपको सरकार बनेको छ ।

Advertisement

एउटा गठबन्धनबाट निर्वाचन लडेर सत्ता समीकरणका लागि अर्को गठबन्धन बन्नु पक्कै अस्वाभाविक घटना हो । यसको समीक्षा, सिंहावलोकन दलहरुले गर्लान् नै, गर्नु पनि पर्छ ।

तर नेपाली दलहरुले आफूहरुले गरेका गल्तीबाट सिक्ने र नयाँ योजना निर्माण गर्ने गरेको देखिँदैन । यसअघिको चुनावबाट नेकपाको करिब दुई तिहाइको सरकार बनेको थियो । अरु कारणले नभई आन्तरिक कलहले नै यो टिक्न सकेन ।

सरकार टिकेन, पार्टी विभाजन भयो, त्यतिमात्र भएन, संसदीय राजनीतिका कुरुप परिदृश्यहरु बारम्बार देखिए । अहिले नयाँ निर्वाचनपछि कुनै पनि दलले बहुमत पाएका छैनन् । संसदको सबैभन्दा ठूलो दल प्रतिपक्षमा रहेर अरु दल मिलेर सरकार बनेको छ ।

नेपाली राजनीतिमा सत्ता स्वार्थमा आधारित समूह बनेको र भत्केको देखिन्छ । यो फरक कुरा हो तर जसले सरकार बनाए पनि जनतामा उत्साह देखिँदैन । संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि जनतामा नयाँ आशा, उत्साहको सञ्चार हुनुपर्ने हो ।

Advertisement

देशको आर्थिक समृद्धि, स्थायित्व र विकासका लागि नयाँ युगान्तकारी नीति, कार्यक्रम जनताका अपेक्षा हुन् । तर जनताका अपेक्षालाई एकातिर पन्छाएर दलहरु सत्ता केन्द्रित हुँदा जनतामा चरम निराशा बढेको देखिन्छ । जनतामा उत्साह जगाउने खालका योजना, काम र निर्णय सरकारले गर्न नसके देशका लागि घातक नै हुनेछ ।

सत्तास्वार्थकै लागि नयाँ समीकरण बनेको छ र सरकार गठन भएको छ । प्रदेश सरकारहरु बन्न बाँकी छन् । यसअघि माओवादी र एमालेबीच बनेको नेतृत्व हस्तान्तरणको सहमति कार्यान्वयन नहुँदा सरकार ढलेको थियो । अहिले फेरि त्यस्तै सहमति बनेको छ । पात्र र पार्टीहरु फरक छन् तर प्रकृति उस्तै हो ।

कांग्रेसलाई बाहिर राख्न बनेको यो समीकरणप्रति दलहरु कत्तिको इमान्दार बन्छन् भन्ने सबाल छ । यसपालिको चुनावमा जनमत परिवर्तन भएको देखियो । गठबन्धनको ठूलो मत भएको ठाउँमा पनि फरक पार्टीले चुनाव जिते । नयाँ नयाँ पार्टीहरु आए ।

त्यसो त कैयौं ठाउँमा दलभित्रकै स्वतन्त्र उम्मेदवारले समेत जित हात पारेका छन् । नयाँ आएका दलहरु कस्ता छन् र के गर्छन्, त्यो परीक्षण हुन बाँकी छ । तर अहिलेको जनमत पुराना ठूला दलप्रतिको असन्तुष्टि र विद्रोह हो । यसलाई सम्बोधन गर्दै जनतामा उत्साह जगाउने खालका योजना, कार्यक्रम नयाँ सरकारले ल्याउन जरुरी छ ।

तपाईको प्रतिक्रिया