नयाँ एयरपोर्टदेखि लेकसाइड जान वैकल्पिक बाटो

समाधान संवाददाता २०७९ पुष १५ गते ११:२०

पोखरा ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ (पुस १७ गते) देखि सञ्चालन हुँदै छ । विमानस्थल सञ्चालनलाई लक्ष्य गर्दै पोखरा महानगरपालिकाले एपोर्टदेखि लेकसाइटसम्मको परिवर्तन गर्ने भएको छ ।

सडकमा सवारी चापलाई मध्यनजर गर्दै महानगरपालिकाले एयरपोर्टदेखि लेकसाइड जान वैकल्पिक सडक प्रयोग गर्ने तयारी गरेको वडा नं. १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जानकारी दिए ।

‘एयरपोर्टभित्रको सर्भिस एउटा हो, एयरपोर्टबाट आउने पर्यटकलाई औद्योगिक क्षेत्र गेटको प्रहरी बिटबाट एयरपोर्ट अगाडिबाट मिलनटोल, रामबजार, चोरसाँघुको वैकल्पिक बाटो हुँदै बिरौटा चोकबाट फिस्टेल गेटसम्मको सेवा दिन खोजिएको हो,’ वडाध्यक्ष तिमिल्सिनाले भने ।

Advertisement

यात्रुलाई सहजताका लागि वैकल्पिक बाटो प्रयोग गर्न लागिएको वडाध्यक्ष तिमिल्सिनाले बताए । ‘तत्कालका लागि परिकल्पना गरिएको बाटो हो त्यो, त्यसपछि प्लानिङमा तलमाथि हुने कुरा त रहन सक्ला तर मूल बाटोभन्दा पनि सहायक बाटोहरु सहज ढंगले लैजानका लागि प्रयास गरिएको हो,’ उनले भने ।

एयरपोर्टदेखि एयरपोर्ट गेटसम्मका लागि २ वटा गाडी र एयरपोर्ट गेटबाट वैकल्पिक बाटोका लागि ४ वटा गाडी व्यवस्था गर्ने तयारी गरिएको वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । महानगरपालिकाले पृथ्वी राजमार्ग छेउछाउमा भएका अवैध संरचना हटाउन सुरु गरेको वडाध्यक्ष मर्सानीले बताए ।

Advertisement

‘पृथ्वीचोकबाट हटाउन सुरु गरेका छौं, अरु ठाउँका पनि आजभोलिमा हामी हटाउँछौं,’ उनले भने, ‘सवारी साधनहरु पनि राखिएको पाइन्छ, त्यसलाई पनि हटाउने, सरसफाइ गर्ने काम गर्छौं ।’ महानगरपालिकाले नयाँ विमानस्थल सञ्चालन व्यवस्थित गर्न सरोकारवाला र पर्यटन व्यवसायीसँग बिहीबार छलफल र अन्तक्र्रियासमेत गरेकोे थियो ।

नयाँ विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट यात्रुहरु सहर पस्दा सवारी साधनको भिडभाड हुने अनुमान गरिएको छ । अहिल्यै पनि पृथ्वीचोक क्षेत्रमा ज्यादा सवारी साधनको भिडले जाम हुन्छ । तसर्थ वैकल्पिक बाटोको व्यवस्था गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया