सम्पादकीय: कैदीलाई मानवोचित व्यवहार

नेपालका प्राय जसो कारागारका एकै किसिमको समस्या छ । जीर्ण तथा पुराना भौतिक पूर्वाधार तथा क्षमताभन्दा बढी कैदी बन्दी कोचाकोच रुपमा राख्नु पर्ने बाध्यता । विभिन्न खालको कानुनको उल्लघंन गरे वापत कैद सजाय तोकिएका कैदीलाई कानून बमोजिम थुनामा राख्ने र छिटो एवं उचित न्यायमा सबै बन्दीको पहुँचलाई सुनिश्चितता गर्ने काम कारागार प्रशासनको हो ।
कारागारमा क्षमता भन्दा बढि कैदी बन्दी रहेकोले सुत्ने ठाउँको अभाव छ । कारागारमा क्षमताभन्दा झण्डै चार गुणा कैदीबन्दी रहेकोले जस्ताका स–साना कोठामा कोचिएर बस्नुपर्ने बाध्यता छ । समयानुकुल सिधा खर्चको कमि छ । सुरक्षा, सरसफाई, विजुली, शौचालय, पानीको प्रयोग, स्वास्थ्य परीक्षण जस्ता अत्यावश्यक कुरामा समेत समस्या रहेको छ । वर्षाैं पहिले बनेका कारागारको भवन जीर्ण छन् ।
कारागारमा खेलकुद सामग्री, शौचालय र पुस्तकालय अभाव छ, मनोरञ्जनको कुनै व्यवस्था छैन । सीप मूलक तालिमको व्यवस्था छैन । कारागारका सबैजसो भवन जीर्ण भएको कारण भवन भत्किएको खण्डमा मानवीय क्षति हुन सक्छ । कारागारमा खानेपानीमात्रै होइन, उनीहरु राम्रोसँग सुत्न पाउने अवस्था छैन । प्लास्टिक म्याट बिछ्याएर भूइँमै सुत्नुपर्ने बाध्यता छ । हिउँद लागिसकेको अवस्थामा ओढ्ने गतिलो कम्मल छैन ।
कारागारमा समस्या थपिँदै छन् तर समाधानका उपाय भने खोजिएको छैन । पछिल्लो समयमा कारागारका कैदी बन्दीले न्युनतम रुपमा मानव अधिकारको उपयोग गर्न पाएका छैनन् । उनीहरुलाई मानवोचित व्यवहार गरिएको छैन । त्यसैले धेरै जसो कारागार यातानागृहको रुपमा रुपान्तरण भएका छन् । नेपालका राजनीतिक दलका नेताहरु आस्थाका आधारमा राजवन्दीका रुपमा जेल जीवन विताएका छन् ।
यति वर्ष जेल जीवन विताएको सवाल सबैको व्यक्तिगत प्रोफाइल बढ्ने विषय बन्छ । जेलबाट निस्केपछि राज्य सञ्चालन गर्दा जेल भित्रको कुरा भुल्दा रैछौंसमग्र नेपालको जेलको अवस्था बुझेका नेताको लागि कारागारको व्यवस्थापन सुधारमा ध्यान जाँदैन । त्यतिमात्र होइन, कारागारको भौतिक तथा व्यवस्थाकीय पक्ष सुधारको लागि विभिन्न समयमा कार्यदल बनेका छन् । कारागार सुधारको लागि ति कार्यदलले दिएको सुझाव कार्यान्वयनमा आउन सकेको छैन ।
सबै कारागारहरुले अन्तर्राष्ट्रिय रूपमा स्वीकृत मापदण्ड अनुसार सुरक्षित र मानवोचित वातावरण राखेर अभियुक्तलाई आफ्नो सुधार र पुनःस्थापना गर्नको निम्ति सहयोग प्रदान गरी सार्वजनिक हित र सुरक्षाको प्रवद्र्धन गर्नु पर्छ । सभ्य, सुसंस्कृत, उत्पादनशील र कानुनको पालना एवं सम्मान गर्ने नागरिकमा रूपान्तरण गरेर समाजमा पुनस्र्थापित र सामाजिक एकीकरणको प्रक्रियालाई सहज बनाउन आवश्यक छ ।
सुरक्षित र समुन्नत समाजको निर्माण गर्ने वृहत्तर राष्ट्रिय उद्देश्यको परिपूर्ति गर्ने काममा आइपर्ने चुनौतिहरूको सामना गर्न सहयोग पुर्याउन सक्षम र मानवोचित वातावरणमा व्यवस्थित कारागार प्रणालीको स्थापना गर्नमा ध्यान दिनु पर्छ ।
तपाईको प्रतिक्रिया