लेखनाथ क्षेत्रमा सिसी क्यामेरा

समाधान संवाददाता २०७६ वैशाख २४ गते १६:०७

समाधान संवाददाता
पोखरा

साविक लेखनाथ हाल पोखरा महानगरपालिका २६, २७, २९, ३०, ३१ र ३२ का वडामा सिसी क्यामेरा राखिने भएको छ । पोखरा महानगरको शान्ति, सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र दुर्घटना तथा अपराध नियन्त्रण उप–समितिद्धारा सोमबार आयोजित छलफल कार्यक्रममा दुर्घटना तथा अपराध नियन्त्रणका लागि सिसी क्यामेरा पहिलो आवश्यकता भएकोमा जोड दिइएको हो ।

इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बरालले मंगलबारबाट नै कार्यविधि बनाएर पारदर्शी ढंगले काम अघि बढाउन आग्रह गरे । प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले कास्की प्रहरीसँग समन्वय गरी प्राविधिक प्रहरी एवं आवश्यक अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानामगरले सुरक्षा नगरका लागि अपरिहार्य भएको बताउँदै सिसी क्यामेराको फुटेजका माध्यमबाट ठूला अपराधी पक्राउ गर्न प्रहरी सफल भएको विभिन्न उदाहरण सुनाउँदै यसको महत्वका विषयमा प्रष्ट पारेका थिए ।

साविक लेखनाथ नगरपालिकाका ६ वटै वडाका वडाध्यक्षले सिसी क्यामेरा जडानले आपराधिक मानसिकता कमजोर बन्दै यसको न्यूनीकरणमा सहयोग पुग्ने विचार व्यक्त गरेका थिए भने सिसी क्यामरा जडान महानगरकै अवधारणा भएको र यसमा महानगरसँग जतिसक्दो चाँडो समन्वय गर्दै वडाको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरे ।

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णहरि भण्डारीले स्मार्ट सिटीको अवधारणालाई साकार पार्न सिसी क्यामेराको जडान आवश्यक भएको बताए । सरोकार भएका निकायबीच सहकार्य गर्दै यस अभियानलाई साकार पार्दै लागिने बताउँदै उनले यसका प्राविधिक पक्षबारे छलफल गरी अघि बढिने बताए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, समाजसेवी टीकाराम पंगेनी, सिसी क्यामरा जडान समितिका सहसचिव कृष्णप्रसाद अधिकारी, कोषाध्यक्ष वेदराज न्यौपाने, लेखनाथ हाडवेयर एसोसिएसनका अध्यक्ष विजय गुरुङ, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष रमेश ओझा, सचिव शैलेन्द्रमोहन भटृराई लगायतले बोलेका थिए ।

सिसी क्यामेरा जडान गर्नसामुदायीक सेवा केन्द्रका मानार्थ सदस्य एवं समाजसेवी गमबहादुर गुरुङले १ लाख र सामुदायीक सेवा केन्द्र लेखनाथका उपाध्यक्ष एलपी ढुंगानाले १० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।

सिसी क्यामरा जडान समिति संयोजक मोती गिरीले प्रारम्भिक रुपमा वडा नंं २६ विजयपुरदेखि कोत्रेसम्म र तालचोकदेखि वेगनास ताल, पोखरा विश्वविद्यालय, खुदी, अर्र्घौचोकदेखि रिठ्ठेपानी तल्लो गगनगौडा र हाइवे क्षेत्रमा हाललाई करिब ३५ ओटा सिसी क्यामेरा जडान गर्ने लक्ष्य छ । यसका लागि प्राविधिक अध्यनबाट लगभग ४२ लाख लागत लाग्ने भएको छफफल कार्यक्रममा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया