आहा रारा पाेखरा गोल्डकप

माच्छिद्रलाई स्तब्ध पार्दै चर्च सेमीमा

सोमबारको खेलः संकटा विरुद्ध त्रिभुवन आर्मी

समाधान संवाददाता २०७९ पुष १८ गते ११:११

पोखरा ।
चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपको पहिलो सहभागितामै सेमिफाइनल पुगेको छ । आशीष चौधरी र आशीष चापागाँईको ‘ब्युटिफुल कम्बिनेसन’ बनेपछि आइतबार पोखरा रंगशाला फुटबल मैदानमा चर्च ब्वाइजले उत्कृष्ट नतिजा निकालेको हो ।

Advertisement

मछिन्द्रको चुनौतीलाई ३–१ गोलले पन्छाउँदै अन्तिम ४ को यात्रा तय गर्दा साविक सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटलब क्लबले पहिलो यात्राबाट बिदा लिएको छ । पहिलो हाफमै २ गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गर्‍यो ।

गोलको अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा मछिन्द्रले पोखराको बसाइ थप सुखद् बनाउन सकेन । खेलको चौथो मिनेटबाट चर्च ब्वाईजले आक्रमण बुन्यो । पाएको फ्रिकिकलाई एरिक विष्टले प्रहार गरे । उनको प्रहार क्रसबारमा लागेर गोल लाइन नजिकैबाट पोस्टबाट बाहिर निस्कियो ।

Advertisement

यता मछिन्द्रले पनि ९ मिनेटमा गोल गर्ने अवसर गुमाउँदै अग्रताबाट बन्चित भयो । रितिक खड्काले गोलकिपरलाई बिट गर्न निकालेको बल पोस्टभन्दा बाहिरिन पुग्यो । कप्तान अनन्त तामाङले गोलकिपर किशोर गिरीलाई ब्याक हेड पास दिएका थिए । तर त्यो पास गोलकिपरसम्म नपुग्दै रितिकले ‘कलेक्ट’ गर्दै बिट गरे पनि बललाई पोस्टको दिशा दिनबाट चुके ।

चर्चले पहिलो गोल २३ औं मिनेटमा गर्‍यो । अफसाइड ‘ट्रयाप’ बिट गर्दै अन्जन विष्टले मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठमात्रै भएको अवस्थामा गरेको हेडरलाई बचाए । क्लियर हुन नसकेको बललाई आशीष चापागाईले फिनिसिङ टच दिए । गोलको खुसीसँगै चर्च ब्वाइजले अग्रता लियो ।

Advertisement

एकपछि अर्को आक्रमण बुन्न प्रयास गरिरहेको चर्चले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै पहिलो हाफमा २–० ले अग्रता बनायो । आशीष चापागाईले मछिन्द्रका ३ डिफेन्डरको बीचबाट प्रहार गरेको बलले जाली चुमेपछि चर्च मछिन्द्रमाथि हावी बन्यो । उनलाई आशीष चौधरीले पास उपलब्ध गरेका थिए । ४४ औं मिनेटमा विमल घर्ती मगरले मछिन्द्रका लागि गोल गर्ने प्रयास गरे । तर उनको लेफ्ट प्रहार क्रसबार भन्दा निकै माथिबाट बाहिरियो ।

चर्चले ६७ औं मिनेटमा अर्को गोल थप्यो । गोल अन्तर फराकिलो बनाउने क्रममा आशीषको पासलाई सदुपयोग गर्दै आशीष चौधरीले फस्टबारमा गोल गरे । उनले लेफ्ट सट पोस्टभित्र छिरेपछि मछिन्द्रलाई कमब्याक गर्ने अवसर नै दिएन ।

५ खेलाडी परिवर्तन गर्दै खेलमा फर्किन कोशिस गरेको मछिन्द्रले ८९ औं मिनेटमा गोल फर्काउँदै लिग च्याम्पियनको इज्जत जोगाउने प्रयास गर्‍यो ।वबैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अभिषेक गुरुङको पासलाई सदुपयोग गर्दै सौरब सुब्बाले गोल फर्काए । उनै सुब्बाले ८५ औं मिनेटमा डिफेन्सलाई बिट गर्दै वान भर्सेस वानको अवस्थाको अवसरलाई खेर फाले ।

खेलमा चर्च ब्वाईजका आशीष चापागाँईले म्यान अफ दि म्याचको पुरस्कार थापे । ‘विपक्षी टोली बलियो नै थियो । हामीले राम्रो खेल्यौं,’ चर्च ब्वाइजनका प्रशिक्षक विक्रम लामाले भने–‘सुधार गर्नुपर्ने धेरै छ । टाइटल उचाल्ने लक्ष्यसहित आएका हौं ।’ उनले सबै खेलाडीलाई अवसर दिनुपर्छ भन्ने आशयले खेलाडी परिवर्तन गरिएको दाबी गरे ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा भएको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत सोमबार तेस्रो क्र्वाटरफाइनल खेलमा संकटा विरुद्ध त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

तपाईको प्रतिक्रिया