प्रदेश सांसद फ्राेफाइल: दमयन्ती रुचाल
विभेदविरुद्ध संघर्ष गर्दै राजनीतिमा

पोखरा ।
स्कुलमा खानेपानीका लागि घैंटो किन्ने कुरा भयो । सबैजसो विद्यार्थीले पैसा उठाए । उनले पनि दिइन् । तर, जब घैंटो किनियो, तब पनि उनले भने अरु विद्यार्थीसरह पानी खान पाइनन् । घैंटो छुन दिइएन । कसैले दिएर अलग्ग पानी खानुपर्ने जातीय विभेदको सिकार भइन् ।
त्यही बेला स्कुल स्कुलमा माओवादीहरु संगठन विस्तार गर्न आएका थिए । उनीहरु जातीय विभेदको विरोध गर्थे । मान्छेमान्छेबीच छुतअछुतको चलन अन्त्य गर्नुपर्छ भन्थे । हो, त्यो र त्यस्तै अरु कुरा सुनेर स्कुल पढ्दै गरेकी दमयन्ती रुचाल माओवादीमा आकर्षित भइन् । स्कुलमा पढ्दै कमिटीमा जोडिइन् । क्याम्पस पढ्दापढ्दै भूमिगत भएरै माओवादी क्रान्तिमा होमिइन् । तिनै रुचाल यसपालिको प्रदेश सभाको निर्वाचनबाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएकी छिन् ।
समानुपातिक प्रणालीबाट निर्वाचित रुचाल नवलपुरकी हुन् । तर उनको जन्म भने भारतमा भएको थियो । २०३९/०८/११ गते भारतको नागाल्यान्डमा उनी जन्मिइन् । उनका बुुबा भारतीय सैनिकमा कार्यरत भएकाले उनको परिवार भारतमा थियो । उनी ९ वर्षकी हुँदा २०४८ सालमा उनको परिवार नेपाल फर्किएको थियो । उनको बाल्यकाल नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ मा बितेको हो ।
जनयुद्धकै क्रममा श्रीमान् गुमाइन्, भूमिगत रुपमा संघर्षअघि बढाइन्, शान्ति प्रक्रियापछि ब्युटिपार्लर पनि चलाइन्, माओवादी आन्दोलन र संघर्षलाई निरन्तरता दिइन् र आज सांसद भइन् दमयन्ती रुचाल
भारतमा रहँदा उनलाई जातीय विभेद हुन्छ भनेर थाहै थिएन, रुचाल नेपाल आउँदा जातीय विभेद चरम रुपमा थियो । सबैसँग समान व्यवहार हुने समाजमा बसेर आएकी उनले सुरुमा त विभेद भएको बुझ्नै सकिनन् । समय बित्दै जाँदा मान्छे—मान्छेबीच पनि विभेद हुँदोरहेछ भन्ने लाग्यो ।
लाहुरे परिवारबाट भएकाले उनले आर्थिक समस्या झेल्नु परेन । समाजमा पनि राम्रै हैसियत भएको परिवारको रुपमा परिचित थियो उनको परिवार । भौतिक सुविधा पाएकी थिइन् । त्यस बेला छोरीलाई पढाउनु हुन्न भन्ने मानसिकता थियो तर उनका बुबा चेतनशील, परिवर्तनवादी सोचका भएकाले उनलाई स्कुल जान रोकतोक भएन ।
उनको परिवार उन्नत खालको थियो, पुरानो संस्कृतिलाई मान्दैन्नथे । ३ छोरा र उनी एक्ली छोरी भएकाले बुबा, दाइको माया र साथ पाइन् । उनका दाइहरु पनि बहिनीलाई पढाउनुपर्छ भन्ने गर्थे । उनको घरमा छोराछारी बीच भेदभाव थिएन । छोराले पाउने सुविधा, मौका उनले पनि पाउँथिन् ।
बाल्यकालमा समान व्यवहार भए पनि बिहेपछि छोरीले बुबाको सम्पत्ति पाउने व्यवस्था नहुँदा उनले सम्पत्ति पाइनन् । ‘बुबाको सम्पत्तिमा दाजुको हक लाग्दा मेरो लागेन,’ उनी भन्छिन्, ‘आफ्नो घरमा सम्मान नपाएको छोरीले बिहेपछि अर्काको घरमा कसरी सम्मान पाउलान्, यो कुरा समाजले बुझ्न आवश्यक छ । ‘छोराले सम्पत्ति पाउँदा छोरीले किन नपाउने ?’ उनको प्रश्न छ ।
उनी सानैदेखि अनुशासित थिइन् । समाजमा हुने कार्यक्रम मेला, समारोहमा सहभागी हुन्थिन् । समाजका युवा क्लबमा आवद्ध थिइन् । उनीहरुले गाउँमा बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन स्ट्रेचर बनाएका थिए ।
२०५६ मा माओवादीको सांगठनिक अभियान चलेको थियो ।
गाउँ गाउँमा संगठन, विद्यार्थी संगठन निर्माण गर्न माओवादी उनको टोल र स्कुलमा आएको थियो । माओवादीको तत्कालीन समयमा एउटा मुख्य एजेन्डा जातीय विभेद हटाउनु थियो । जातीय विभेद खेपिरहेको बेला माओवादीको जातीय विभेद हटाउने कुराले प्रभावित भएर उनी माओवादी प्रवेश गरेकी थिइन् ।
विद्यार्थी हकहितका लागि बोल्नुपर्छ । निशुल्क शिक्षाको माग गर्नुपर्छ । शिक्षकबाट अनियमितता, हिंसा भयो भने तपाईंले नेतृत्व गर्नुस्, हामी साथ दिन्छौं भनेर माओवादीले भनेका थिए । स्कुलमा उनले जातीय विभेद सहनुपरेको थियो । उनका साथीहरु उनीसँग बसेर खाँदैनथे, घरमा लैजाँदैनथे, पानी पनि हातमा थापेर खानुपथ्र्याे । स्कुलमा पानी राख्ने घैंटो किन्न उनले पैसा तिरे पनि त्यस घैंटोको पानी उनले कहिल्यै पिउन पाइनन् । विद्यालयमा अन्याय र गलत कुराको प्रतिवाद गर्न माओवादीबाट उनलाई उत्प्रेरणा मिल्यो ।
समाजमा उनले जातीय विभेद, महिला हिंसा, अन्याय भएको देखेकी थिइन् । त्यसका विरुद्ध प्रतिकार गर्न अभिव्यक्ति गर्ने क्षमता थिएन, विवेक चेतना अनुभव थिएन । अन्याय, अत्याचार, विभेदका विरुद्ध लड्न माओवादीले प्रेरित गरेको थियो । उनी जातीय विभेद, अन्याय हटाउन उनी कक्षा ८ मा पढ्ने बेला टोल इकाइ कमिटीको अध्यक्ष र दीपेन्द्र माविको विद्यालय कमिटीको सचिव भइन् ।
१५ वर्षको उमेरमै समाज रुपान्तरणका लागि समाजका विसंगति अन्त्यका लागि प्रतिवाद गर्ने आधारको रुपमा समाजलाई विकासको दिशामा लैजान राम्रो काममा लागेको छु भन्ने उनमा आत्मविश्वास थियो । यसरी समाज रुपान्तरणका लागि उनको राजनीतिक यात्रा सुरु भयो ।
उनकी आमाको नेकपा एमालेमा बढी झुकाव थियो । एमालेका कार्यक्रम नारा, जुलुसमा पनि सहभागी हुन्थिन्, आफूसँग दमयन्तीलाई पनि लैजान्थिन् । २०५८ सालमा आइए पढ्न क्याम्पसमा भर्ना भएलगत्तै संकटकाल घोषणा भयो । त्यसपछि उनी र उनका ३ जना केटी साथीले घर छोडेर हिँडेका थिए । त्यस बेला उनीहरुको उमेर १४ देखि १७ वर्षमात्र थियो । यसलाई उनी पूर्ण जीवनको सुरुवात भएको मान्छिन् । उनी माओवादीमा विद्यार्थी कार्यकर्ताको रुपमा सक्रिय भएर लागिन् । ०५८ मै जिल्ला कमिटी सदस्य भइन् ।
२०५९ मा अखिल नेपाल महिला संगठन नवलपरासीको नेतृत्वको जिम्मा पाइन् । जिल्ला अखिल नेपाल जनसांस्कृतिक संगठनको जिल्ला सदस्य हुँदै अध्यक्षको नेतृत्व पाइन् । त्यहाँ रहेर उनले महिलाका हकहितका लागि आवाज उठाउने, समूह संगठन गर्ने, सांस्कृतिक कार्यक्रम गरेर क्रान्तिकारी गीत गाएर मनोरञ्जन दिने तथा जनचेतनामूलक कार्यक्रम गर्ने, आर्थिक संकलन गर्ने जिम्मा पाइन् ।
२०५८ मै माओवादी आन्दोलन उत्कर्षमा पुग्यो । त्यो समयमा जनमुक्ति सेनाका लागि अर्थ संकलन गर्ने, खाने, बस्ने व्यवस्था गर्ने काममा उनले उल्लेखनीय भूमिका निभाएकी थिइन् । उनलाई समूहको जिम्मा थियो । ३/४ दिनसम्म भोकभोकै हिँडिन् । जंगलमै बास हुन्थ्यो । नवलपुरदेखि तनहुँ, तनहुँदेखि पाल्पासम्म लुक्दै हिँडेर पुगिन् । बिहान सँगै भएको साथी साँझ गिरफ्तार भयो रे, मर्यो रे भन्ने खबर आउँथ्यो । उनी दुखी हुन्थिन् तर पछि हट्न तयार भइनन् । अघि बढिरहिन् ।
क्रान्तिमा होमिँदा समाज, घर, बुबा, आमा, दाइको यादले सताउँथ्यो तर समाज परिवर्तन गर्ने भनेर हिँडेको भावनात्मक रुपमा कमजोर भइनन्, उनलाई मरिन्छ भन्ने डर पनि थिएन । एक पटकको कुरा हो, डेढगाउँ बौदीकालीमा खाना खाइरहेको बेला नेपाली सेना उनीहरु भएतिर आउँदैछ रे भन्ने सूचना पाउनासाथ उनीहरु त्यहाँबाट भागे । पाँच मिनेटमात्र सूचना ढिलो आएको भए उनी गिरफ्तार हुने थिइन् । उनको अर्काे समूहलाई नेपाली सेनाले घेराबन्दीमा पारेको थियो तर उनीहरु पनि भाग्न सफल भएका थिए ।
२०६१ मा दमयन्तीको जनवादी विवाह भयो । बिहेपछि उनी र उनका श्रीमान् नवलपुरबाट रुपन्देही सरुवा भए । १ वर्ष रुपन्देहीमा काम गरेपछि उनीहरु चितवन आए । २०६२ सालमा नेपाली सेनाले घेराबन्दीमा पारी चितवनमा उनको श्रीमान्को हत्या गरेको उनी सुनाउँछिन् । त्यस बेला उनका श्रीमान् र २०६४ सालकोे सांसद सीता गौडेलका श्रीमान्को हत्या भएको थियो । त्यो घट्नाले उनलाई असह्य पीडा भयो, उनी विक्षप्त भइन्, मानसिक तनाव भयो । पीडा भए पनि उनले हार खाइनन् भौतिक कष्टसँग प्रतिवाद गर्दै अगाडि बढिन् ।
२०६३ मा शान्ति प्रक्रिया सुरु भयो । युद्धविराम भयो । उनले टेकराज विश्वकर्मासँग पुनःविवाह गरिन् । श्रीमान्को साथ, सहयोगले नै यो स्थानमा आएको उनी बताउँछिन् । एकल महिलाले पुनःविवाह गर्न हुँदैन भन्ने रुढीवाढी परम्परालाई बेवास्ता गर्दै विश्वकर्माले रुचालसँग विवाह गरेका थिए । उनका श्रीमान् म्याग्दीमा कार्यरत छन् । उनी माओवादीको गण्डकी प्रदेशको सहसचिव हुन् ।
२०७० मा उनीहरु समाजमा फर्किएका थिए । पूर्व जनमुक्ति सेनालाई पार्टीले सेल्टरमा राखेको थियो । कसैले दिएको चन्दा, सहयोगले उनीहरुले खाने, बस्ने व्यवस्था गर्थे । त्यसपछि उनी नवलपुर माइतीमा गइन् । सुरुमा समाजका मान्छेसँग प्रत्यक्ष भेटघाट बस्न गाह्रो भयो उनले घर छोडेर हिँडेको १२ वर्ष भएको थियो । समाजसँग र आफूबीचको दूरी हटाउन उनलाई गाह्रो भएको थियो ।
जनयुद्धबाट फर्केका मानिसलाई समाजमा घुलमिल हुन सहज थिएन । अरु महिलासँग उनको कुरा मिल्थेन, अरु महिलाले गर्ने अभिव्यक्ति छलफल र उनले गर्ने कुरा फरक हुन्थ्यो । उनी रुढीबाढी परम्पराको खण्डन गर्थिन्, त्यसैले उनको आलोचना हुन्थ्यो । पार्टीले केही भत्ता दिने गथ्र्यो, त्यसबाट घर, व्यवहार चलाउन उनलाई मुस्किल पर्यो । जनयुद्धबाट फर्केपछि उनको आर्थिक अवस्था निकै कमजोर थियो । सधैं माइतीमै बस्न उनको मनले मानेन ।
बुबा आमालाई कमाएर दिने बेलामा आफू उनीहरुमा भर पर्नुपर्दा उनलाई आत्मग्लानि भयो । उनले ब्युटीपार्लरको तालिम लिइन् । आफन्तसँग ऋण लिएर ब्युटीपार्लर खोलिन् । आर्थिक स्तर उकास्न व्यक्तिगत संघर्ष गरिन् । रातिको १/२ बजेसम्म पनि काम गर्थिन् । उनको व्यवसाय राम्रो हुँदै गयो, २ वर्षमै सानो घर बनाइन् । छोरीको जिम्मेवार पूरा गर्नुपर्छ भन्ने कुराले उनलाई हौसला मिल्थ्यो ।
त्यो समयमा पनि महिला संगठनमा लागिरहिन् र केन्द्रीय सदस्यसम्म भइन् । पार्टीमै निरन्तर क्रियाशील रहिन् । आर्थिक अवस्था कमजोर भएकाले र बच्चा सानो भएकाले आफूलाई पायक पर्ने ठाउँमा रहेर काम गरिन् । सँगैका साथी अपग्रेड हुँदा उनी ब्याक भइन् । २०६५ मा प्रदेश कमिटी सदस्यसमेत भएकी उनी पालिका स्तरमा जोडिएर काम गरिन् ।
आर्थिक अवस्थामा सुधार आएपछि २०७३ मा फेरि पार्टीमा बढी क्रियाशील भइन् । आफूले पार्टीलाई दिएको योगदान र समर्पणको उचित मूल्यांकन गर्न आग्रह गरिन् । तल्लो दर्जामा रहेर काम गर्न शोभा नदेला भनेर आत्मसम्मान गुमेको महसुस होला भनेर उपयुक्त ठाउँमा राख्न उनले पार्टीसँग अनुरोध गरिन् । फेरि वडा कमिटी पालिका कमिटी हुँदै २०७८ को पार्टी आठौं महाअधिवेशनबाट जिल्ला प्रतिनिधि पछि, प्रदेश कमिटी सदस्य भइन् ।
मुलुकमा धेरै उपलब्धि भए पनि अझै धेरै गर्नुपर्ने धेरै काम बाँकी रहेको रुचाल बताउँछिन् । उनी भन्छिन्, ‘पार्टीभित्रै पनि अन्तरसंघर्ष चलिरहेको छ । महिलाका सहभागिता हक, अधिकारका प्रतिनिधित्व गराउने कुरा महिलालाई अवसर दिनुपर्ने कुरा । ब्राह्मण सोच र पुरुषवादी सोचका कारण सहज छैन ।’
संविधान नयाँ आएको छ । यो रुचाललाई सबैभन्दा ठूलो उपलब्धि लाग्छ । भन्छिन्, ‘संघर्षको उपलब्धिको रुपमा अन्याय, दुव्र्यहार गर्नेका लागि कानुन बनेको छ । विभेद गर्नेलाई कारबाही हुन्छ ।’ २०७२ को संविधान बनेपछि सबैभन्दा धेरै खुसी भएकी थिइन् । ‘राजनीतिमा महिला प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरा माओवादी ल्याएको हो ।
पार्टी योगदान दिएका आफन्त गुमाएका, अपांगता भएका पिठ्युमा बच्चा बोकेर युद्धमा लागेकाहरु पनि अहिले उपयुक्त ठाउँमा छैनन् । पार्टीबाट मूल्यांकन भएको छैन । परिचय दिएको छैन । जसले घर निर्माण गर्यो ऊ नै बस्न पाएको छैन । आज आएका व्यक्ति नातावाद र पहुँचले गर्दा अवसर पाएका छन्,’ उनी भन्छिन् ।
उनी राजनीतिमै निरन्तर लागिरहिन् । बच्चा पिठ्युमा बोकेर संघर्ष गरिरहिन् । दुई दशकभन्दा बढी लामो राजनीतिक यात्रा भए पनि पदका लागि उनलाई पार्टीले सार्वजनिक जिम्मेवारीमा अघि सरेको पहिलोपटक हो । र, गण्डकी प्रदेश सभा सदस्य भएकी छन् । ‘म सत्तामा पुग्नका लागि, पैसा कमाउनका लागि राजनीतिमा आएकी होइन, म अरुभन्दा फरक विचार राख्छु,’ उनले भनिन्, हिजो हामीले उठाएका मुद्दा कार्यान्वयन गराउन कति सक्छु, नीति परिवर्तन गर्न कति लड्न सक्छु, मेरो भूमिका कति पूरा गर्छु, हेर्न बाँकी छ ।’

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया