कांग्रेसको भविष्यका लागि देउवाको राजीनामा

नारायणमणि लामिछाने २०७९ पुष २१ गते १२:००

नेपाली कांग्रेसको आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो भने आदर्श पुरुष विश्वेश्वरप्रसाद कोइराला हुन् । भनिन्छ संस्कारी त्यसमा पनि वास्तविक रुपमा नेपालको एकमात्र प्रजातान्त्रिक दलको सभापति त स्वभावैले अत्यन्त नम्र, कूटनीतिज्ञ र सबैको कुरा सुन्न सक्ने सहनशील हुनुपर्छ तर त्यसको ठीक विपरीत आफ्नो गुनगान गाउने, किचेन क्याबिनेटका मतियारको मात्र कुरा सुन्ने, विश्वास गर्ने, जायज कुरामा पनि भावना विपरीत कुरा गरे झनक्क रिसाउने, स्वभव हाम्रो सभापतिका अविचलित गुण हुन् ।

Advertisement

बिभिन्न मञ्च, समारोह, कार्यक्रममा हाम्रा सभापतिले भाषण गर्न थाल्नुभयो भने अब के बिडिंगो बोल्ने हुन् भनी नेपाली कांग्रेसका तमाम कार्यकर्ताले डर मान्नुपर्ने स्थिति सृजना हुनु र उनले बोलेका भाषणबाट जनता आकर्षणभन्दा विकर्षण हुने, धनवाद, डनवाद र ज्योतिषवादमा विश्वास गर्ने हाम्रा सभापति हुनुहुन्छ ।
सत्ता र शक्ति प्राप्तिका लागि जस्तोसुकै अप्रिय निर्णय गर्न पनि नहिच्किचाउने शेरबहादुर देउवा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनु नै नेपाली कांग्रेसको दुर्भाग्य थियो ।

सिद्धान्तभन्दा पनि केवल सत्ता स्वार्थका कारण छिन्नभिन्न भएका नेपालका वामपन्थी पार्टी कुनै पनि बेला त्यही सत्ता स्वार्थ तथा देशी, विदेशी शक्तिका कारण एकजुट हुन सक्छन्, गठबन्धनबाट नेपाली कांग्रेसको धरातल कमजोर भई संगठन ध्वस्त हुन सक्छ, तत्काल तिनीहरुलाई एकजुट नहुने वातावरणको रणनीतिक भूमिका खेली आफ्नै बलबुतामा अधिकांश ठाउँमा एक्लै निर्वाचनमा जानुपर्छ, त्यही रणनीति अपनाउनु पर्छ भनी तमाम नेपाली जनता तथा नेपाली कांग्रेसको भावनाको प्रतिनिधित्व गर्ने आशा र भरोशा गरेका परिवर्तनकामी नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको आग्रह र महान नेता बिपी कोइरालाको ‘अनुहार स्पष्ठ देखिँदैन भने त्यो ऐना नहेर्नू, जहाँ आफ्नो विचार नीति मिल्दैन त्यहा सहकार्य नगर्नू भन्ने मार्मिक महान वाणीसमेतलाई पञ्छाई जोतिष, किचेन क्याबवनेटका मतियार र राजनीतिमा अत्यन्त अस्थिर, सता र शक्तिमा लागि जे पनि गर्न सक्ने माहिर खेलाडी नेकपा माओवादीका अध्यक्ष प्रचण्डको मात्र भर परी पार्टीमा बहुमतको दम्भ आडमा २०/२५ वर्षसम्म गठबन्धन कायम गरिनेछ, २/३ बहुमत गठबन्धनले ल्याउने र साधारण बहुमत त नेपाली कांग्रेसको एक्लैको मात्रै हुनेछ भनी सुँगा रटाई गरी नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठवन्धन अहिलेको आवश्यकतामात्र होइन, अपरिहार्य हो भन्ने गरियो ।

नेपाली जनताको सकारात्मक परिवर्तनलाई आत्मसाथ गर्न सक्ने नेपाली कांग्रेसमा अहिले स्थापित भएका एकसेएक सक्षम नेता छन्

विश्वासिलो भिजन बिना आफ्नो इच्छा विपरीत नेपाली कांग्रेसका मतदातालाई नेपाली कांग्रेस जिन्दावाद भन्न पाउने कार्यबाट विमुख गरी परम्परागत विरोधी शक्ति वामपन्थीसहितको गठबन्धन जिन्दावाद, लालसलाम भन्नुपर्ने अनी गठबन्धनका उम्मेद्वारका पक्षमा मत दिन बाध्य पार्ने, मत नदिए वा दिन्न भन्नेलाई कारवाहीको डन्डा चलाउने आदेश जारी गर्ने अनि हामीले नेताहरुको आदेशलाई शिरोपर गरी खुरुखुरू बामपन्थीसहितको गठबन्धन जिन्दावाद, लालसलाम भन्दै गठबन्धनका उम्मेवारलाई मत दियौं ।

Advertisement

त्यतिमात्र होइन, निर्वाचनपछि नेपाली कांग्रेसको संसदीय दल सभापतिमा कसैले दखल दिन नसकोस् भनी जिल्लाको वास्तविक क्षमता, आवश्यकता र मागलाई पूरै वेवास्था गरी अधिकांश ठाँउमा जनपक्षीयभन्दा पनि आफ्ना अनुचरलाई मात्र टिकट दिने काम गरियो । परिणाम जगजाहेरै छ । अहिले विश्वमा कायम रहेका उत्कृष्ट शासन व्यवस्थामध्ये नेपालमा पनि २०४७ देखि नै बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था सुरुवात भयो ।

सोही अनुरुपको संविधान र शासन व्यवस्थाको ३० वर्षको अवधिमा ५/५ पटक त हाम्रै सभापति प्रधानमन्त्री हुँदा पनि देशमा सुशासन र विकासको कुरा त परै जाओस्, विकृति, विसंगति र भ्रष्टाचारको जालोले पूरै देश जगडिएको अवस्थामा देशमा परिवर्तन र विकासको हुट्हुटी खोजिरहेका युवा तथा तिनको प्रभावमा रहेका नेपाली जनताले यिनीहरुको विकल्प स्वरुप भर्खर संपन्न भएको निर्वाचनमा लामो समयसम्म स्थापित दललाई नै धक्का दिने गरी भर्खर उम्रिएका तथा हिजोका पुरातनवादी दललाई अफ्नो अभिमत जाहेर गरेका छन् ।

यिनै युवाले खोजेको परिवर्तनको मागलाई सम्बोधन गर्न सक्ने नेपाली जनताले समेत अत्यधिक मन पराएका नेपाली कांग्रेसका आशा र विश्वासका धरोहर युवा तथा वास्तविक युवा जोशका प्रभावशाली नेपाली कांग्रेसका इमान्दार नेतालाई छानी छानी राष्ट्रिय राजनीतिको मुलधारवाटै पञ्छाई आफ्नो अखण्ड रजगज कायम गर्ने रणनीति अनुरुप निर्वाचित केन्द्रीय पदाधिकारीलाई समेत बाइपास गरी आफू र आफ्ना मतियारको किचेन क्याबिनेट खडा गरी तिनैको सल्लाह, सुझाव र विश्वासमा मात्र काम गर्ने गरेको देखियो ।

धनवाद र डनवाद प्रयोग गरी पार्टी पूरै कब्जा गर्ने, आफैंले आफ्ना कोटरीका रहेका ७० प्रतिशतभन्दा बढी व्यक्तिलाई टिकट वितरण गरी त्यही अनुसार सांसद भएका व्यक्तिहरुको समेत अविश्वास गरी धनवाद र पदवादको प्रलोभनमा पारी आफूलाई लोकतन्त्रको मसिहा ठान्ने लोकतान्त्रिक मूल्य र मान्यता विपरीत विश्व जगतलाई समेत छक्क पार्ने गरी नेपाली कांग्रेस तथा नेपाली जनताले समेत अत्यधिक मन पराएका तमाम युवाका ढुकढुकी युवा नेतालाई हराउनकै लागि सत्ता लालसाले सत्ता, शक्तिको अधिकतम् दुरुपयोग गरी संसदीय दलको नेता निर्वाचनमा आफूलाई मत हालेको फोटो खिच्न लगाई सोको प्रमाण बुझाउन लगाउने विकृतिसम्म देखियो ।

आफूहरु केही गर्न नसक्ने, प्रजातन्त्र र नेपाली कांग्रेसको भविष्यभन्दा पनि क्षणिक स्वार्थले ओतप्रोत भएका, पटक पटक सिद्धान्त र नैतिकताबाट स्खलित भएका तर आफूलाई अझै पनि इमान्दार नेता हौं भन्न रुचाउने नेता पौडेलसमेत केन्द्रीय सभापतिका स्व–घोषित उम्मेदवार हुन खोज्ने नेताहरु जस्ले नेपाली कांग्रेस देउवाले सिद्धाउने भए अब सभापति पदबाट विस्थापित गर्नुपर्छ भनी हुंकार गर्थे ।

तिनै नेताहरुले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा र अहिले संसदीय दलको निर्वाचनमा समेत नेपाली कांग्रेसका तमाम कार्यकर्ता तथा शुभेच्छकको भावना विपरीत झर्ला र ख्वाउला भन्ने आशयले हाम्रा सभापतिसमक्ष आत्मसमर्पण गर्ने नेताहरु पनि नेपाली कांग्रेसलाई यो दुरावस्थामा पुर्‍याउनमा कम दोषी छैनन् ।
सुनिन्छ देउवा र प्रचण्डबीचमा अबको निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री हुने अनौपचारिक सहमति भएको थियो ।

जुन कुरा नेता रामचन्द्र पौडेलबाट पनि पुष्टि भएको छ । यदि त्यसै हो भने सहमति विपरीत एउटा प्रधानमन्त्री पदका लागि त्यो पनि प्रधानमन्त्री नपाए गठबन्धन तोडी नयाँ शिराबाट सरकार गठनको विकल्प सोचिनेछ भनी स्वयम् प्रचण्ड वार्ताबाट हिड्न खोजेपछि तत्काल उनलाई रोक्ने प्रयास किन गरिएन ? कस्को कारणले हुन सकेन ? जनतालाई जवाफ दिनु पर्दैन ! भूईको टिप्छु भन्दा पोल्टाको सबै पोखिएको छ ।

समयमा सही निर्णय गर्न नसक्दा राष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, बहुसंख्यक महत्वपूर्ण मन्त्रालय सहितका मन्त्री, प्रदेश प्रमुख, बहुमत प्रदेश मुख्यमन्त्री/प्रदेश सभा अध्यक्ष, महत्वपूर्ण बहुसंख्यक प्रदेश मन्त्रालयका मन्त्री, आगामी वर्ष हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनबाट प्राप्त हुने राष्ट्रिय सभा सदस्यहरु, सर्वोच्च अदालत लगायत महत्वपूर्ण अदालतका न्यायाधीशहरु, राजदूत, बिभिन्न आयोगका प्रमुख/सदस्य लगायत राज्यका महत्वपूर्ण निकायमा नेपाली कांग्रेसको तर्फबाट हुने प्रतिनिधित्व गर्ने मौकामात्र चुकाएको होइन, भविष्यमा प्रजातन्त्र अनि नेपाली कांग्रेस कहिल्यै उठ्न नसक्ने गरी रसातलमा पुर्‍याउने काम भएको छ ।

नेपाली कांग्रेसको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले छोटो समयमै नेपालको विकास र अन्तर्राष्ट्रिय जगतमा नेपालको ख्याति वृद्धिका लागि गरेका अतुलनीय योगदानको त कुरै छोड्यौ, २०४७ पछि कांग्रेसको तर्फबाट भएका हरेक प्रधानमन्त्रीको शासनकालमा केही कमजोरी भए होलान् तर तिनीहरुले इतिहासको महत्वूुर्ण समयमा नेपाली जनताले बिर्सन नसक्ने गरी सकारात्मक छाप र सन्देश छोडी नेपाली जनतालाई गुन लगाएर गएका छन् ।

सन्त नेता भट्टराईको बुद्धिमता र चातुर्यले छोटो समयमै उत्कृष्ट नेपाल अधिराज्यको संविधान, २०४७ जारी हुनु, दिनदहाडै माओवादी आन्दोलनको समर्थन गर्न नसक्ने जोसुकै नेपाली जनता खासगरी नेपाली कांग्रेसका नेता कार्यकर्तालाई १० वर्षे कथित माओवादी आन्दोलनको नाममा मारिने, काटिने र लखेटिने कार्य रोक्न तथा सत्ता र शक्तिका लागी सत्ता र शक्तिको आँडमा दलमा अल्पमतमा हुँदाहुँदै आफ्नै नेतालाई अत्यन्त अपमानजनक दुव्यवहार गर्दै दरबारमा बुझाइएको २०४६/४७ सालको जन आन्दोलनको उपलत्तिलाई फिर्ता गर्न जंगलमा रहेका माओवादी समेतको साथ, सहयोग लिई टाउकोमा कफन बाँधी गिरिजा बाबुको नेतृत्वमा भएको राष्ट्रिय जनआन्दोलनले दरबारबाट खोसिएको अधिकार फिर्ता गर्ने काममात्र गरेन, सदिऔंदेखिको एकतन्त्रिय शाही शासनलाई जरैदेखि उखेली जनचाहना अनुरुप संविधानसभामार्फत नेपालमा पहिलोपल्ट संघीय गणतन्त्रात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न सफल भयो ।

पटक पटक भएको संविधान सभाको निर्वाचनपछि अरु प्रधानमन्त्री रहेको सरकारले संविधान जारी गर्न नसकेको अवस्थामा सुशील कोइरालाको चट्टानी अडानले उनको प्रधानमन्त्री काल २०७२ मा नेपालको संविधान जारी हुनु, नेपाली जनताले सम्झन लायक महत्वपूर्ण बिषय हुन । तर ५/५ पटक प्रधानमन्त्री हुँदा पनि नियमित हुने केही कामबाहेक नेपाली जनताले सम्झन लायक कुनै उल्लेखनीय काम गर्न नसकेका हाम्रा सभापतिले पुनः प्रधानमन्त्री हुने लालसाले नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीलाई समेत बाइपास गरी बन्द कोठाभित्र सिमित व्यक्तिको उक्साहटमा परिवर्तनकामी नेपाली जनता तथा प्रजातन्त्रवादी नेपाली कांग्रेसका सच्चा कार्यकर्ताको भावना विपरीत देशको संघीय गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्थाका बिरुद्धमा भएका खेल रोक्न नसक्नु भनेको हाम्रा सभापति अन्धा भएका छन्, असफल भएका छन् ।

क्षणिक स्वार्थमा चुर्लुम्म डुबेका तिम्रा चाटुकदार सहयोगीको मात्रै पटक्कै भर नपर । अहिलेसम्म गुमेको तिम्रो साख एउटै सही निर्णयले फिर्ता हुन सक्छ । अरू प्रधानमन्त्री जस्तै तिम्रो पनि इतिहासमा स्वर्ण अक्षरले नाम लेखिन सक्छ । देशमा संघीय गणतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्थाको पर्यायवाची शक्ति एकमात्र नेपाली कांग्रेस हो भन्ने सम्झी अहिलेको घटनाक्रमको पूर्ण जिम्मेवारी लिई नैतिकताको आधारमा राजीनामा दिई बिशेष महाधिवेशन घोषणा गर । हिजोका दिनमा तिमी र सुशील कोइरालाबीच भएको संसदीय दल निर्वाचनमा गिरिजा बाबु तटस्थ बसे जस्तै तिमी पनि तटस्थ बस । यसमा स्वयं तिम्रो, नेपाली कांग्रेस अनि संघीय गणतन्त्रात्मक बहुदलिय लोकतान्त्रिक शासन व्यबस्थाको जित हुनेछ ।

नेपाली जनताको सकारात्मक परिवर्तनलाई आत्मसाथ गर्न सक्ने नेपाली कांग्रेसमा अहिले स्थापित भएका एकसेएक सक्षम नेता छन् । उनीहरुबाटै नेपाली कांग्रेसको संगठन मजबुत हुनेछ । तर अझै पनि सभापतिबाट राजीनामा नगरी पुनः सत्ता प्राप्तिको खेल खेल्यौ भने तिम्रा विरुद्धमा तमाम नेपाली कांग्रेसका साथी, समर्थकहरु उत्रने छन । यदि सभापतिले राजीनामा दिनुभएन भने नेपाली कांग्रेसका तमाम नेता, कार्यकर्ताले अहिलेको घटनाक्रमको नैतिक जिम्मेवारी लिई जनतासमक्ष माफी माग्दै सभापतिको राजीनामाका लागि आ–आफ्नो पदबाट राजीनामा दिनुपर्छ ।

अन्तमा सत्ताका लागि जे पनि गर्ने सभापति एवं मतियारहरुले बेलैमा अलिकतिमात्रै ध्यान पुर्‍याई हाम्रा सभापति नै पुनः प्रधानमन्त्री भएको भए पनि सत्ता सञ्चालनमा हिजो जस्तै पुरातनवादी शासनशैलीमा कुनै फरकपन आउने थिएन र केवल आउने थियो त उनी, उनका मतियार र सहयोगी २/४ हजारले केही सत्ता स्वार्थ भोग गर्थे तर तमाम नेपाली जनता, सक्षम इमान्दार नेपाली कांग्रेसका साथीहरुले केही पाउने थिएनन्, न त जनताले चाहे अनुरुप भ्रष्टाचार मुक्त कुनै विकासको चास्नी चाख्न पाउने थिए ।

त्यसपछि आगामी निर्वाचनसम्म पुग्दा नेपाली कांग्रेस करिब करिब सकिने अवस्था आउने थियो, यस्मा शंका गर्नु पर्ने ठाँउ छैन । तसर्थ जे हुन्छ, भविष्यमा प्रजातन्त्र र नेपाली कांग्रेसको विकासका लागि राम्रै हुन्छ भनी भ्रष्टाचार मुक्त देश र जनताको सकारात्मक परिवर्तन विकासका लागि अब तमाम प्रजातन्त्रवादी नेपाली कांग्रेसका परिवर्तनशील नेता, समर्थक र शुभेच्छकले जनताको साथ सहयोग लिई युद्धस्तरमा खटिनुपर्ने बेला आएको छ ।

हाम्रो माग छ, अब हाम्रा सांसदले अब बस्ने संसदको पहिलो बैठकमा आफ्नै नेता किन नपरुन् आवश्यक देखिएका २०४७ भन्दा अगाडिका केही व्यक्तिको हकमा र २०४७ पछि सत्तामा रहेका सम्पूर्ण व्यक्ति, राष्ट्रसेवक कर्मचारी लगायत कुनै लाभको पदमा बसेका तथा अशोभनीय रुपमा रातारात अथाह सम्पत्तिका मालिक बनेका उद्यमी, व्यापारी, व्यवसायीको समेत सम्पत्ति छानबिन गरी गैह्रकानुनी देखिएमा त्यस्तो सम्पत्ति राष्ट्रियकरण गरी दोषीउपर कैद सजायसमेत गर्नका लागि एक उच्चस्तरीय सर्वाधिकार सम्पत्ति छानबिन तथा सजाय निर्धारण आयोग गठनका लागि पहिलो प्रस्ताव पेश गरुन् ।
लेखक नेपाली कांग्रेस पोखरा २७ सभापति हुन् ।

तपाईको प्रतिक्रिया