फेवातालकाे सीमा स्तम्भ गाड्न महानगरसँग माग

पोखरा ।
वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले पोखरा महानगरपालिकाभित्र देखिएका समस्या समाधान गर्न ज्ञापन पत्र बुझाएको छ । महाअभियानका संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका कार्यवाहक संयोजक नरेन्द्रमान लालचनसहितको टोलिले सोमबार महानगरपालिका पुगेर नेपालकै पर्यटकीय राजधानीको रुपमा परिचित पोखरा पछिल्लो समय अस्तव्यस्त, अव्यवस्थित र प्रदुषणमय हुँदै गएकाले समस्या समाधान गर्न १५ बुदे ज्ञापन पत्र बुझाएको हो ।
निःशुल्क डायलसिस सेवाको व्यवस्था, फेवातालको चारकिल्ला सिमाकंन हुने गरी सीमा स्तम्भ गाड्ने कार्य सुरु गर्न महानगरलाई ज्ञापनपत्रमार्फत नागरिक समाजले आग्रह गरेको छ । ‘नो हर्न’ क्षेत्र र प्लाष्टिक निषेधित क्षेत्रका विषयमा भएका निर्णय कार्यान्वयन तथा ताल वरिपरि रोक्का गरिएका व्यक्तिका जग्गा कानुन बमोजिम फुकुवा गर्न तथा ताल नदिमा गरिने मलमुत्र विसर्जन रोक्न महानगरसमक्ष आग्रह गरेको छ ।
साथै पोखरामा बढ्दो सवारीसाधनको चापलाई निरुत्साहित गर्न सार्वजनिक यातायात प्रणालीमा आमूल सुधार ल्याउन र सडक सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न ट्राफिक लाइट तथा सिसी क्यामेराको जडान गर्न महानगरलाई अनुरोध गरेको छ ।
ज्ञापन पत्र बुझ्दै महानगरपालिका मेयर धनराज आचार्यले ध्यानाकर्षण भएका अधिकतम कामहरु अगाडि बढेको बताए । ‘तपाईंहरुले भनेका धेरैजसो कामहरु अगाडि बढेका छन्, नगर्नु पर्ने कुनै कुरा छैन, सबै कुरालाई समेटेर हामी अगाडि बढ्छौं,’ उनले भने । महानगरको विकासका लागि योजना बनाएर अगाडि बढेको मेयर आचार्यले सुनाए ।
तपाईको प्रतिक्रिया