रत्नशोभा माविको ६० औं वार्षिकोत्सव

समाधान संवाददाता २०७६ वैशाख २६ गते ११:५१

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्राविधिक शिक्षानै अहिलेको आवश्यकता भएको बताएका छन् । पोखरा—२८ माझठानामा रहेको रत्नशोभा माविको ६० औं वार्षिकोत्सवको बुधबार उद्घाटन गर्दै मेयर जिसीले दक्ष जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए ।

‘दक्ष जनशक्ति बिना देश विकास सम्भव छैन,’ उनले भने, ‘प्राविधिक शिक्षामार्फत् दक्ष जनशक्ति उत्पादन गर्न विद्यालय स्तरबाटै प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्छ ।’

Advertisement

मेयर जिसीले देशमा व्यवस्था परिर्वतन भएपनि मानिसको सोच परिर्वतन हुन नसक्दा विकासले गति लिन नसकेको बताए । ‘विकासको योजना स्थानीय, प्रदेश र केन्द्रीय सरकारले बनाउने हो,’ उनले भने, ‘योजनालाई कार्यान्वयन गराउन जनताको साथ र सहयोग आवश्यक पर्दछ, तबमात्र विकास र समृद्धिले गति लिन्छ ।’ उनले शिक्षाको गुणस्तर सुर्धान गनुपर्ने काम र योजना बनाए विद्यालयलाई महानगरले सक्दो सहयोग गर्ने बताए ।

मेयर जिसीले पोखरा २६ विजयपुरदेखि पोखरा २८ को कालिका, माझठानाको सौरे हुँदै बेगनासको आनन्द माविसम्म ८ मिटर चौडाइको सडक निर्माण सुरु भएको बताए । उनले २०७७ साल जेठसम्म सडकलाई फराकिलो पारेर नाला निर्माण गर्ने गरी महानगरले काम थालेको उनको भनाइ छ ।

Advertisement

उनले सडक फराकिलो बनाएर नाला निर्माणपछि सडकलाई कालोपत्र गरिने बताए । सडक फराकिलो बनाउन र नाला निर्माणका लागि ११ करोडको बजेट विनियोजन भएको जानकारी मेयर जिसीले दिए ।

बजेट विनियोजन गरेर योजना बनाउँदा योजना कार्यान्वयनमै समस्या भएको बताउँदै अब लागत स्टिमेटसहित आएका योजनामध्ये प्राथमिकताका आधारमा बजेट छुट्टयाउने नीति महानगरले लिने उनको भनाइ छ ।

पोखरा २८ का वडाध्यक्ष निर्मल दियाली सुनारले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न वडाले पनि सक्दो सहयोग गर्ने बताए । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङले जग बलियो भएमात्र घर बलियो हुने भन्दै बालबालिकाको शिक्षामा विद्यालय, शिक्षक र अभिभावकले विशेष ध्यान दिनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल बुढाथोकीले विद्यालयको वार्षिक प्रगित प्रतिवेदन प्रस्तुत गरेका थिए । शिक्षिका दुर्गा सापकोटाले स्वागत गरेको कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै नाटक मञ्चन गरेको विद्यालयका शिक्षक ऋषिराम रानाभाटले जानकारी दिए ।

तपाईको प्रतिक्रिया