
पोखरा ।
काठमाडौं विमानस्थलबाट आइतबार बिहान १०ः३२ बजे ४ चालक दलका सदस्य र ६८ यात्रुसहित एटि एयरलाइन्सको विमान पोखराका लागि उड्यो । आइतबार एकपटक पोखरा गएर फर्केर आइसकेको थियो उक्त जहाज । पुनः दोस्रोपटक पोखराका लागि उडेको यतिको एएनसी एटीआर–७२ जहाजको पोखरा विमानस्थलमा अवतरणको समय १०ः५९ बजे थियो । तर, उक्त विमान पोखरा विमानस्थलमा अवतरण हुन नपाउँदै दुर्घटना भयो ।
अवतरणका लागि कम उचाइमा आइरहेका बेला पोखरा महानगरपालिका १७, घारीपाटन नजिकैको आकाशमा अस्वभाविक कोल्टे परेको एक स्थानीयले खिचेको भिडियोमा देख्न सकिन्छ । त्यसपछि भने केही सेकेन्डमै भुइँमा बजारिएको ठूलो आवाज सुनियो । त्यसलगत्तै धुवाँको मुस्लोसहित ठूलो आगो लाग्यो ।आगो लागेलगत्तै हेलिकोप्टरबाट पानी खन्याए पनि निभ्न सकेन । दुर्घटनापछि तत्कालै उद्धार गर्दा पनि जीवित यात्रु भेटिन मुस्किल भएको छ ।
दुर्घटनाअघि विमानस्थलले अतवरणको अनुमति लिइसकेको थियो । ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ, विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।
विमान अन्तिम पटक १०ः५० मा सम्पर्कमा थियो । त्यसपछि भने सम्पर्क हुन सकेन । विमान खसेको ठाउँ पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टि रहेको नेपाली सेनाको ब्यारेक पछाडि हो । नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो । ‘विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो । एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो,’ उनले भने । पाइलटले बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिन्छ । ‘पाइलटले बस्ती जोगाउन विमान सेती खोंचतिर लगेर अर्को दुर्घटना जोगाउन हरसम्भव प्रयास गरेको देखियो,’ एक प्रत्यक्षदर्शीले भने ।
दुर्घटनामा सेती खोंचमा माछा मार्न गएका दुई जना स्थानीय पनि घाइते भएका छन् । उनीहरु माछा मार्दै गरेको समयमा जहाज सेती खोंचमा खस्दा घाइते भएका हुन् । । उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए ।
जहाज खोंचमा परेकाहरूकाले उद्धारमा कठिनाइ आएको छ । अहिलेसम्म ३६ जनाको शव फेला परेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए । ‘अहिलेसम्म ३६ जनाको शव निकालिएको छ, बाँकी १०÷१२ जनाको शव माथिबाट देखिएको छ । निकाल्न प्रयत्न गरिरहेका छौं,’ उनले भने ।
उक्त विमान दुर्घटनापछि पोखरा विमानस्थलबाट हुने उडानहरु स्थगित गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको बताए । उद्घाटन भएको १५ दिनमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विमान दुर्घटना भएको हो । जनवरी १ तारिखमा मात्र उद्घाटन भएको विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया