अनुभवी क्याप्टेन कमल केसी पोखराकै

समाधान संवाददाता २०७९ माघ २ गते ११:०४

पोखरा ।
पोखरामा आइतबार आन्तरिक उडानमध्ये सबैभन्दा ठूलो जहाज दुर्घटना भयो । काठमाडौंंबाट पोखराका लागि उडेको यति एयरलायन्सको जहाज पोखरा विमानस्थल नजिकै अवतरणको क्रममा दुर्घटना भयो । चालक दलका सदस्यसहित ७२ जना सवार जहाज दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ जनाको अवस्था अझै अनिश्चित छ ।

Advertisement

यतीको जहाज उडाएका थिए, अनुभवी पाइलट कमल केसीले । कास्कीको रुपा गाउँपालिका–१ फल्याङकोटमा २०१९ साल कात्तिक ४ गते जन्मिएका केसीले ३२ वर्षदेखि जहाज उडाउँदै आएका थिए । अमेरिकाको टेक्सासबाट पाइलट कोर्स पूरा गरेर फर्किएका उनले २०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए ।

पाइलट केसीले भारतमा केही समय उडान गरेका थिए । उनै केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान पनि गरेका थिए । पाइलटका प्रशिक्षक पनि थिए । उनी एक हप्ताअघि मात्रै थाइल्यान्डमा पाइलटहरुलाई प्रशिक्षण दिएर नेपाल फर्किएका थिए ।

क्याप्टेन कमलले १८ वर्ष नेपाल वायु सेवा निगममा जहाज उडाएका थिए । सुरुमा १९ सिट क्षमतायुक्त ‘ट्वीनअटर’ जहाजमा कोपाइलटबाट ‘करियर’ सुरु गरेका कमल त्यसपछि क्याप्टेन भएका थिए । सन् २००६ मा वायुसेवा निगमबाट राजीनामा दिएर निजी वायुसेवा कम्पनी यती एयरलाइन्स प्रवेश गरेका थिए ।

एटिआर ७२ ५०० सिरिजका जहाजमा क्याप्टेन हुँदै प्रशिक्षक पाइलट बनेका कमल शालिन, भद्र र उड्डयन नीतिनियम अक्षरशः पालना गर्ने पाइलटका रूपमा चिनिन्थे । पोखरा जन्मथलो भएका कमलले अन्तिम सास पनि पोखरामै फेरे । पाइलट भएपछि काठमाडौं बस्दै आएका केसीको बूढानीलकण्ठ हात्तीगौंडामा घर छ । उनका श्रीमती र २ छोरा छन् ।

Advertisement

१६ वर्षअघि पति गुमाइन्, अहिले आफैं दुर्घटनामा परिन्
यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा पर्‍यो । चालक दलमा कोपाइलट अन्जु खतिवडा र २ जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए । दुर्घटनामा चालक दलका ४ सदस्यको पनि ज्यान गयो । को–पाइलट खतिवडाका पति दीपक पोखरेल पनि कोपाइलट नै थिए । उनी यती एयरलाइन्समै कार्यरत थिए । अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन् ।

१६ वर्षअघि भएको विमान दुर्घटनामा दीपकको निधन भएको थियो । २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेको थियो । सोही दुर्घटना कोपाइलट दीपकको मृत्यु भएको थियो ।

अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन् । श्रीमान्को मृत्युपछि अञ्जुले अमेरिकाबाट पाइलट कोर्स गरेकी हुन् । शोकलाई शक्तिमा बदलेर उनी उडान क्षेत्रमा सामेल भएकी थिइन् । अञ्जु २०३४ सालमा मोरङको विराटनगरमा जन्मिएकी थिइन् । दुर्घटनामा श्रीमान् दीपकको मृत्यु भएको ७ वर्षपछि उनले दोस्रो विवाह गरेकी थिइन् ।

पहिलो श्रीमानतर्फ मञ्जुका २१ वर्षीया छोरी छिन् । ती छोरी हाल क्यानडा बस्छिन् । दोस्रो श्रीमान्बाट १ छोरा छन् । दोस्रो विवाहपछि उनी काठमाडौँ बस्थिन् ।

तपाईको प्रतिक्रिया