पुछारसिटेमा सरुका कविता

समाधान संवाददाता २०७९ माघ २ गते १३:४१

पोखरा ।
माघे संक्रान्तिको बिहान । पोखरेली साहित्यकार, कलाकार, विभिन्न संस्थाका नेतृत्वकर्ता, लब्धप्रतिष्ठित व्यक्तित्वहरू जिरो किलोमिटरमा रहेको दुरान रेष्टुरेन्टमा भेला भए । माघ महिनाको बिहानीको समय । वातावरण चिसो थियो । घामका सुनौला किरणले उपस्थितका अनुहारमा स्पर्श गरिरहेका थिए । विस्तारै उपस्थिति बाक्लिँदै गयो । माहोल न्यानो बन्दै गयो ।

Advertisement

प्राज्ञ हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल लगायतका व्यक्तित्व भेला भए । केही छिनमा देखिए आख्यानकार गनेस पौडेल, सरस्वती प्रतीक्षा, उपेन्द्र पौडेलहरू । दीपक समीप, लक्ष्मण थापा, वसन्त गौतम, चैतन्य अधिकारी, शरण आँसु, जीवनसागर भण्डारी, भीम रानाभाट आदि गफिन थाले ।

आयोजक भने माघे संक्राान्तिका परिकारहरू व्यवस्थित गर्नमै व्यस्त देखिन्थे । एकैछिनमा चिउरा, तरुल, सखरखण्ड, खुदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरा टेबलमा सजाइएका देखिए । एकाएक सबै लामबद्ध भए । हरेकले आफ्नो रुचि अनुसारका परिकार प्लेटमा राख्दै गए । कोही उठ्दै त कोही कुर्सीमा बसेर माघे सङ्क्रान्तिका अवसरमा खाइने खानेकुराको स्वाद लिए ।

सन्दर्भ थियो पुछारसिटे अभियान, पोखराले आयोजना गरेको एकल कवितावाचन । कार्यक्रमको नाम राखिएको थियो – ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको छैटौँ शृङ्खलामा कविता वाचकका रूपमा उभिएकी थिइन् पोखरेली कवि सरू ।

केही समयपछि पुछारसिटे अभियानका अल्पज्ञानी मञ्चमा देखिए । उनले पुछारसिटे अभियानले असार १५ मा दही चिउरासँग कविता र माघ १ गते घिउ चाकु र तरुलसँग कविता नाममा वर्षमा दुईपटक एकल कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आइरहेको सुनाए ।

Advertisement

अर्की अभियन्ता अम्बिका ओझाले उपस्थित सबैलाई आयोजकका तर्फबाट स्वागत गरेपछि मञ्चमा बोलाइए जीवनसागर भण्डारी । उनले कवि सरस्वतीका बारेमा परिचय प्रस्तुत गरेपछि उनैले कविलाई स्टेजमा आमन्त्रण गरे । पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आएकी कविलाई अभियानका संयोजक सञ्जीव पौडेलले माला लगाएर स्वागत गरे ।

जब म
कविता लेख्न बस्छु
मेरो छोराले
कलम खोस्छ
कापीमाथि आसन जमाउँछ

मौन भाषामा भनेझैँ लाग्छ
“आमा मै हुँ तिम्रो कविता …”
‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गरेकी उनले बीचबीचमा आफ्नो कविता लेखन यात्रा, जीवनका उहापोह, तत्कालीन र वर्तमान समाजको अवस्थाबारे आफ्ना अनुभव र अनुभूति जोड्दै पनि गइन् ।

कविता र अनुभवको प्रस्तुति सुन्दर ढंले बुनेकी उनले बिचमा आफ्ना कविता राख्न केही समयको फरकमा पोखराकै दुई कविलाई डाकिन् । लक्ष्मी थापा र रोशन तिमिल्सिनाले एक एक थान कविता वाचन गरे ।

करिब डेढ दर्जन कविता प्रस्तुत गरेकी सरूले कविताको अन्तिम अन्तिम चरणमा लोकगायिका एवम् प्राज्ञ हरिदेवी कोइरालालाई उपस्थित सबैको तर्फबाट शुभकामना मन्तव्य राखिदिन आग्रह गरिन् ।

करिब डेढ दर्जन कविता सुनाइसकेपछि अन्तिम कविता राख्नुभन्दा अगाडि कार्यक्रममा सहयोग गर्ने सहयोगी र कवि सरस्वती श्रेष्ठ सरूलाई समेत आयोजकका तर्फबाट सल्लाहकार लक्ष्मण थापा र प्राज्ञ हरिदेवी कोइरालाले संयुक्त रूपमा मायाको चिनो प्रदान गरे ।

तपाईको प्रतिक्रिया