मन्त्रिपरिषदमा नयाँको बाहुल्य

समाधान संवाददाता २०७९ माघ ४ गते ११:००

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै ८ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

Advertisement

विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले लिएका छन् । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् ।

राजनीतिमा स्थापित भए पनि अवसर नपाएका नयाँ र युवालाई मन्त्रिपरिषद्मा समेटेर प्रधानमन्त्रीले सकारात्मक सुरुवात गरेका छन् । नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको तर्फबाट सरकारमा सहभागिता छ ।

जनता समाजवादी पार्टीबाट पनि मन्त्रिपरिषद्मा सहभागी हुने बताइए पनि अन्तिममा सो दलको तर्फबाट भने कोही सहभागी भएनन् । गत पुस ११ गते नै उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवी लामिछानेले जिम्मेवारी सम्हालिसक्नु सकेका छन् ।

मंगलबारमात्रै उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी सम्हालेका छन् । नवगठित मन्त्रिपरिषद्मा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे सहरी विकास, ज्वालाकुमारी साहले कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् ।

Advertisement

दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खान खानेपानी, डा विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी पाएका छन् ।

धुव्रबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दा सुशीला सिर्पाली ठकुरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र दिपबहादुर सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

दाहालले मंगलबार विस्तार गरेपछि मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । अझै २ मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् । सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र जसपा सरकारमा गएका छैनन् । सिके राउत नेतृत्वको जनमत पार्टी यो निर्णयमा असन्तुष्ट छ । चाहेको मन्त्रालय नपाएपछि जनमतका मन्त्री सपथ ग्रहणमा सहभागी भएनन् ।

तपाईको प्रतिक्रिया