मानवसेवा आश्रमकाे भवन निर्माण गर्न महायज्ञ

पोखरा ।
मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७ गतेसम्म आश्रमको भवन निर्माणस्थल हेमजास्थित बाबियातारामा महायज्ञ हुने भएको छ ।
जन्मिएर सामान्य न्युनतम मानवअधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै आएको मानवसेवा आश्रमको भवन निमार्ण एवं अक्षयकोष स्थापनार्थ उक्त महायज्ञ हुन लागेको आश्रमका केन्द्रीय कोषाध्यक्ष तथा महायज्ञ संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।
उनीहरुको सेवामा नमूना काम गर्दै आएको आश्रमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालनपोषणका लागि कोष निर्माण गर्न पोखरामा श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ २०७९ गर्न लागिएको तिमिल्सिनाले बताए । महायज्ञमा कमलनयन गौतमले कथावाचन गर्ने छन् ।
मानवसेवा आश्रम विगत १ दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ ।
महायज्ञमा नियमित रुपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसादग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । महायज्ञ अन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिनेछ ।
कोही व्यक्ति वा संस्थाले मानवसेवा आश्रमको कुनै १ शाखाको भवन (मानवीय मन्दिर) निर्माणका लागि १ करोड ११ लाख १ सय ११ योगदान गरी इच्छा बमोजिम भवनको नामाकरण गर्न सकिनेछ । उक्त भवनको कोठा निर्माणका लागि योगदान गर्ने महानुभावको नाम कोठामा र अन्य दाताको नामावली शिलालेखमा राखिनेछ ।
आश्रमको भवननिर्माण प्रयोजनका लागि नगद २१ लाख ११ हजार १ सय ११ प्रदान गर्नेको इच्छाअनुसार भोजनकक्ष र भान्साको नामकरण गरिनेछ । आश्रमको मेडिकल कक्ष निर्माणको लागि योगदान गर्न चाहनेले ११ लाख ११ हजार १ सय ११ प्रदान गर्न सक्छन् ।यसरी निर्माण हुने मेडिकल कक्षमा दाताको नाम शिलालेखमा उल्लेख गरिनेछ ।
आश्रमको भवन परिसरमा बागबगैँचा निर्माणका लागि योगदान गर्न चाहनेले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ दिन सक्छन् । उक्त बगैँचामा शिलालेखमा दाता/सौजन्यकर्ताको नामावली राखिनेछ । एक कोठा निर्माण अभियान अन्र्तगत ५ लाख ११ हजार १ सय ११ रकम योगदान गर्न सकिनेछ ।
देशभर निर्माण भइरहेको भवनका लागि सहयोग जुटाउन योगदान एक पटकको, स्मरण सँधैभरको अभियान अन्तर्गत १ कोठा निर्माण खर्च योगदान गर्न चाहनेले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ दिन सक्छन् । यसरी निर्माण भएको कोठाको नामाकरण र समुद्घाटन दाताकै इच्छा अनुसार हुनेछ ।
यसका साथै भान्सा, भोजन कक्ष, अतिथि गृह, मेडिकल कक्ष, थेरापी कक्ष, शौचालय, अभियन्ता तथा स्वयंसेवक आवास, गार्डेन (बाग बगैंचा) लगायत निर्माणमा योगदान गर्न सकिनेछ । यसरी निर्माण हुने संरचनाको नामाकरण र उद्घाटन दाताकै इच्छा अनुसार हुनेछ । लक्ष्मी नारायण मन्दिर र धर्मशाला निर्माणका लागि स्इच्छाले सहयोग गर्न मिल्छ ।
अक्षयकोषतर्फ ५ लाख ११ हजार १ सय ११ सहयोग उपलब्ध गराई आश्रमको संरक्षणमा रहेका १ बेसहाराको आजीवन अभिभावक बन्न सकिनेछ । योगदानदातालाई बेसहाराको अभिभावक घोषण गरी सम्मानपत्रद्वारा सम्मान गरिनेछ । सहयोग रकम अक्षयकोषमा राखी ब्याजबाट आएको रकम मात्र बेसहाराको सेवामा सदुपयोग गरिनेछ ।
आश्रमको अक्षय कोष स्थापनार्थ २ लाख ६१ हजार १ सय ११ योगदान गरी आश्रमको १ दिनभरको वार्षिक भोजनसेवा सदस्यता लिन सकिन्छ । एक पटक १ लाख ११ हजार १ सय ११ योगदान गरी मानवसेवा आश्रमको १ समयको वार्षिक भोजन सेवा सादस्यता प्राप्त गर्न मिल्छ । उक्त रकमबाट प्राप्त हुने ब्याजबाट उक्त शाखामा हरेक वर्ष एक समयको भोजनसेवा गराइनेछ ।
तपाईको प्रतिक्रिया