सम्पादकीय: सकारात्मक परिणामको अपेक्षा

प्रतिनिधि सभाको बैठकमा १ सय ६७ मतका साथ सत्ता गठबन्धनले समर्थन गरेका देवराज घिमिरे सभामुख निर्वाचित भएका छन् । सभामुख पदमा गठबन्धनकै उम्मेदवार निर्वाचित भएको अवस्थामा उनीहरु उपसभामुखमा पनि सोही अनुरुप गर्ने पक्षमा छन् । यसअघि गठबन्धन दलहरूबीच प्रधानमन्त्री माओवादीबाट अनि सभामुख र राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको थियो ।
नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार विश्वासको मत दिएको थियो । गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने आफ्नै उम्मेदवार अघि सारेको छ ।
सभामुखको निर्वाचनमा राष्ट्रिय सहमति हुन नसकेको अवस्था छ । यस्तो अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचन गर्ने पक्षमा छन् । त्यसका लागि सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिरहेका छन् । यद्धपी नेपाली कांग्रेस राष्ट्रपतिमा सहमति हुने अवस्था देखेको छैन ।
अहिलेको गठबन्धन कायम रही रहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारहरूलाई जिताउन मुस्किल पर्छ । त्यस कारण कांग्रेस नयाँ शिराबाट जाने पक्षमा छ । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने घोषणा गरेको छ । सरकार बनाउने बेला माओवादीसहितका आफूहरुको गठबन्धन टुटाएकाले अब आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नुलाई कांग्रेसले स्वभाविकै ठानेको छ ।
सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अब राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने संकेत गरेको छ । कांग्रेसले गरेको प्रयासलाई राजनीतिमा आउने स्वभाविक प्रक्रिया मानेको छ । कुनै नीतिगत हिसाबले र न्यूनतम साझा कार्यक्रम तय गरेर भन्दापनि कांग्रेससँग प्रमुख राजकीय भाग भण्डा नमिल्दा नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) लगायतका दलसँग तत्कालिन अवस्थामा गरेको गठबन्धन हो ।
कांग्रेससँग गठबन्धन गरेको माओवादी र एक्लै निर्वाचनमा होमिएको एमाले दुबैले हालैको निर्वाचन परिणामबाट सन्तुष्ट नदेखिएका कारण दुबै दलबीचको सहकार्य सम्भव भएको छ । एक खालको हण्डर दुबैले भोगिसकेका छन् । तरपनि एक अर्काबीच गरिने व्यवहारमा गठबन्धनका प्रमुख दुई घटकबीचको आगामी सहयात्रा भर पर्छ । यो पटक पनि एक अर्कालाई गरिने व्यवहारमा गठबन्धनको निरन्तरता भर पर्ने भएकोले विगतका असमझदारी दुबै दलले बिर्सेर अघि बढ्न सक्न पर्छ । त्यसो गरे गठबन्धन लामो समय जानसक्छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको नाममा प्रमुख पद दिएर कांग्रेसलाई समेट्न खोज्ने,एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसप्रति शंका गर्ने अवस्था आउन दिन हुदैन । अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था नदेखिएको कांग्रेसको विश्लेषण छ । यस्तो अवस्थामा वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिनेकी चुनावमा साझेदारी गरेको कांग्रेसलाई राष्ट्रपति दिएर समेट्ने भन्ने सवाल प्रधानमन्त्री प्रचण्डको निर्णयमा भर पर्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया