पोखरा बहुमुखी क्याम्पसमा नरेन्द्र

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा नरेन्द्रमान लालचन चयन भएका छन् । लालचनको यो दोस्रो कार्यकाल हो । नयाँ कार्यसमिति ८ सदस्यीय छ । सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
शनिबार भएको क्याम्पसको ३६ औं साधारणसभा तथा सातौं अधिवेशनले कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अवधि ३ वर्षको हुन्छ । कार्यसमितिमा अध्यक्ष लालचनसहित अरु ७ जना सदस्य छन् । अध्यक्ष लालचनले बाँकी सदस्यलाई पदाधिकारी चयन गर्ने छन् ।
चुनिएका सदस्यमा भीम गौतम, शंकर गुरुङ, बद्री श्रेष्ठ, कुमारी मुना बाँस्तोला, सोजन शेरचन, प्रकाश पहारी र उमा ठकुरी छन् । यो पोखराकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पस हो । २०४४ सालमा पोखराको टुँडीखेलमा स्थापित यो क्याम्पस नयाँबजार हुँदै अहिले पृथ्वीचोक नजिकै शान्तिवनमा सरेको छ ।
हालैमात्र नयाँ भवन बनाएर यो क्याम्पस नयाँबजारबाट शान्तिवन झरेको हो । क्याम्पसले सहयोग उठाएरै करिब ५ करोड रुपैयाँ लागतमा सुविधासम्पन्न भवन तयार पारेको हो ।
साधारणसभामा पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले महानगरले उपलब्ध गराएको जग्गामा क्याम्पसले सहयोग उठाएर भवन तयार पारेको हो । नयाँ भवनमा गत मंसिर मध्यदेखि अध्यापन भइरहेको छ ।
सञ्चालक समिति उपाध्यक्ष भीम गौतमले क्याम्पसले क्युएए पाउने तयारीमा रहेको जानकारी दिए । प्राध्यापक संघका सभापति हस्तबहादुर थापाले ३६ वर्षपछि क्याम्पसले आफ्नै भवन बनाएकोमा खुसी साट्न पाएको बताए । विभिन्न अप्ठ्यारोबीच पनि पोखरा महानगरले जग्गा उपलब्ध गराएको उनले बताए ।
‘खुला रुपमा चन्दा पाएर क्याम्पस भवन तयार भएको हो । पूर्वाधार अभावमा कार्यक्रम विस्तार गर्न गाह्रो भएको थियो । ३ वर्षभित्र जग्गा पाएर भवन तयार भएको छ,’ उनले भने, ‘अझै पनि संरचना आवश्यक छन् । ती संरचना तयार भएपछि बल्ल क्याम्पस पूर्ण हुनेछ ।’
क्याम्पसका पूर्व प्रमुख प्राडा यादव गौडेलले आरोह अवरोहका बाबजुद क्याम्पस तयार भएको र क्याम्पसका आवश्यकता आगामी दिनमा अझै बढ्ने बताए । क्याम्पसका त्रिवि प्रतिनिधि तेजनारायण अधिकारिले क्युएए पाएपछि क्याम्पस अझै अब्बल हुने बताए । उनले अहिले भएका कार्यक्रमलाई अझ वृद्धि गर्न सुुझाए ।
समाजसेवी विश्व शाक्यले क्याम्पस भवन बनाउन जग्गा उपलब्ध गराउने पोखरा महानगर र निर्माण समितिको सक्रियताका कारण कामले पूर्णता पाएको बताए । ‘जग्गा दिने र लिने दुवैको संकल्पका कारण क्याम्पसले पूर्वाधार बनाउन सक्यो । भवन भएरमात्र संकल्प पूरा हुदैन अब आगामी दिनमा संस्थालाई बृहत बनाउनु पर्छ,’ उनले भने ।
संस्थापक सञ्चालक समिति सदस्य आनन्दराज मुल्मीले पछिल्लो समय मुलुकको शिक्षा कहाँ जाँदै छ भन्ने थाहा नभएको बताए । शिक्षा निरन्तर अन्योलको विषय बनेको उनले बताए । ‘पोखरा जीवन्त सहर बन्नको लागि बहस नै चलेन । शिक्षाको स्तरमा पोखरा कहाँ छ भनेर हामीले चिन्ता लिएनौं,’ मुल्मीले भने, ‘शैक्षिक उन्नयनका लागि पोखरामा चिन्ता कम छ ।’
पोखरा महानगरका पूर्व प्रमुख मानबहादुर जिसीले शिक्षा पूर्वाधार सरस्वतीको मन्दिर भएकाले त्यस्ता मन्दिर बनाउन सबैको सहयोग चाहिने बताए । उनले क्याम्पसलाई गण्डकीको शिक्षा केन्द्र बनाउन सकिने बताए । ‘आम रुपमा सहयोग आव्हान गरेर क्याम्पसलाई थप बलियो बनाउनुपर्छ । सबैको पहुँचमा यो क्याम्पस बन्नुपर्छ,’ उनले भने ।
क्यापस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पस सबैको साझा सम्पत्ति भएकोले यसको उन्नतिमा पोखरा जाग्नुपर्ने बताए । क्याम्पस प्रमुख शिशुकला पराजुलीले कोभिडको मारमा परेको अवस्थामा पनि पूर्वाधार तयार पार्न सकेको बताइन् ।
‘कतिपय गाह्रो थियो । तर, पनि पूर्वाधार तयार भयो,’ उनले भनिन् । उनले आगामी दिनमा होस्टेल बनाउने क्याम्पसको योजना रहेको र त्यसका लागि सहयोग जुटाउन खोजेको सुनाइन् । यो क्याम्पसमा अहिले स्नातक तहमा अध्यापन हुन्छ । व्यवस्थापन र मानविकी संकायमा ४ वर्षे बिबिएस र बिए पढाइ हुन्छ ।
तपाईको प्रतिक्रिया