सम्पादकीय: जहाज दुर्घटनाको पहेलु

समाधान संवाददाता २०७९ माघ ८ गते ११:५८

गण्डकी प्रदेश नै यस्तो ठाउँ भएको छ, जहाँ मुलुकभरमा सबैभन्दा धेरै जहाज दुर्घटना भएका छन् । यसमा पनि पोखरा जोमसोम रुट सबैभन्दा धेरै दुर्घटना हुने क्षेत्र हो । नेपाल हिमाली र पहाडी भूभाग प्रशस्त भएको मुलुक हो । यहाँ स्थल यातायात बाहेक हवाई यातायातको पनि उत्तिकै महत्व र आवश्यकता छ । तर पहाड र हिमालको दुर्भाग्य के भने मौसमको कुनै ठेगान हुँदैन र जहाज दुर्घटना हुन्छ ।

पोखरा—जोमसोम रुटमा त झन् एउटा त्यस्तो ठाउँ छ, जहाँ जहाजले पोखरा र जोमसोमक कतै पनि सम्पर्क गर्न सक्दैन । केही समय त्यस्तो हुँदा पाइलटले अनुमानकै भरमा जहाज उडाउनुपर्छ । यो रुटमा मौसम छिनछिनमा बललिरहन्छ । यस्तो ठाउँमा सम्पर्क टावर बिचमा पनि राख्न सक्नुपर्छ । त्यतापट्टि सम्बन्धित निकायले ध्यान दिनुपर्छ । गएको जेठमा जोमसोम पोखरा रुटमा जहाज दुर्घटना भएको थियो, तर सम्पर्कको माध्यम निर्माण अझै भएको छैन ।

पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको जहाज दुर्घटनाले पनि धेरै प्रश्न उठाएको छ । पोखरा—काठमाडौं रुट सर्वाधिक सुरक्षित मानिन्थ्यो । तर पहाडमा ठोक्किएर होइन, मौसम बिग्रिएर होइन, खुला र सफा मौसमकै बीच माझ सहरमा जहाज दुर्घटना भयो । दुर्घटनापछि उद्धारमा जुन दुरुहपनि देखियो, त्यसले पनि हाम्रो उद्धार र विपद तयारीको हविगत उजागर गर्‍यो । न पर्याप्त दमकल न खोंचमा भित्र पस्नका लागि अत्याधुनिक उपकरणहरु । कठै बरीको हालतमा उद्धार गरी मृतकका शवहरु संकलन भए, आगो बेलैमा निभाउन पनि सम्भव भएन ।

Advertisement

जहाज दुर्घटनाहरुको पहेलु के हो भन्ने पत्ता लगाउन सरकारले आयोग बनाएको छ । तर यस्ता आयोगका प्रतिवेदनमाथि जनताको विश्वास छैन, मुलुकमा सयभन्दा बढी हवाई दुर्घटना भए र तिनका आयोग बने, प्रतिवेदनले जे सुझाव दिए तिनको कार्यान्वयन भने सरकारले गर्न सकेन । त्यसैले नै यस्ता आयोगको विश्वसनीयतामा मात्रै होइन सरकारको जवाफदेहिता, उत्तरदायित्वमा समेत विश्वास उडेको छ ।

दुर्घटनामा बितिसकेका पाइलटलाई दोष दिएर उम्कने प्रवृत्ति पनि उत्तिकै धेरै छ । खासमा जहाज दुर्घटनाका पहेलुहरु पत्ता लगाएर न्यूनीकरण गरिएन भने यसै पनि युरोपेली संघ र विकसित देशहरुमा गुमेको नेपाली हवाई क्षेत्रको साख फर्कने सम्भावना रहन्न । अकालमा नागरिकको ज्यान गइरहन्छ र पर्यटन र अर्थतन्त्रमै पनि नराम्रो असर पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया