हार्डवेयर व्यवसायी–वितरक बीच अन्तक्र्रिया

समाधान संवाददाता २०७९ माघ ८ गते १३:१९

पोखरा ।
लेखनाथका हार्डवेयर व्यवसायीहरु र विभिन्न निर्माण सामग्री कम्पनीका प्रतिनिधिबीच अन्तक्र्रिया भएको छ । लेखनाथ हार्डवेयर एशोसिएसनको आयोजनामा भएको कार्यक्रममा व्यवसायीले प्रतिकूल आर्थिक अवस्थाका कारण व्यवसायमा परेको असर एवं वितरकका कारण खेप्नुपरेको हैरानीका विषयमा गुनासो गरे ।

Advertisement

एसोसिएसनका निवर्तमान अध्यक्ष विजय गुरुङले हिजोका दिनमा कारोबारका आधारमा करौंडोका सामान उधारोमा बेच्न लगाउने वितरकले अहिले धरपकडको शैली अपनाएकाले व्यवसायी मर्कामा परेको दाबी गरे । उनले कतिपय व्यवसायी व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको सुनाए ।

पोखरा हार्डवेयर व्यवसायी एोिसियसनका अध्यक्ष पृथ्वीराज तिम्सिनाले संस्थागत पहल र सहकार्यको सिको आफूहरुले पनि गर्ने वाचा गरे । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले व्यवसायीको छाता एसोसियसन बलियो हुनुपर्ने र व्यावसायिक मर्यादा पनि कायम राख्नुपर्नेमा जोड दिए ।

व्यवसायी लक्ष्मण सुनारले जुनसुकै हालतमा पनि कम्पनीलाई तिनुपर्ने रकम तिर्ने तर त्यसका निमित अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गरी भाखामा वितरकहरुले लचकता अपनाईदिनुपर्नेमा जोड दिए । संस्थाका वरिष्ठ सल्लाहकार भक्तबहादुर केसीले व्यवसायीको विषयमा समस्या समाधानका लागि संस्थागत पहल हुनुपर्नेमा जोड दिएका थिए ।

उनले समस्याको विषयमा छलफल गर्नका लागी बोलाईएका अधिकांश निर्माण कम्पनीका वितरकहरु अनुपस्थित भएकोमा उनले खेद व्यक्त गरे । कार्यक्रममा वितरकहरुले पनि आ–आफ्नै राखे । अशोक स्टिल्सका बजार प्रतिनिधि प्रकाश आचार्यले उठ्नुपर्ने रकम उठाउनका लागि कम्पनीले दबाब दिने भएका कारण पनि पटक पटक ताकेताका साथै कानुनी बाटोसमेत अपनाउनुपरेको बताए ।

Advertisement

उनले आर्थिक अवस्थाका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा त्यसको प्रभाव निर्माण सामग्री उत्पादन कम्पनीमा पनि परेकाले खाली हात नर्फकाईदिन व्यवसायीलाई अनुरोध गरे । कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र ओझाले व्यवसायी, वितरक र कम्पनी सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

मिडिया सल्लाहकार नवराज सापकोटाले व्यवसायीलाई अस्वस्थ प्रतिष्पर्धा नगरी वित्तीय अनुशासन कायम गरी सही तरिकाले व्यवसाय गर्न आग्रह गरे । संस्थाका अध्यक्ष ऋषिराम जमरकटृेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया