यतीको ब्ल्याक बक्स फ्रान्स पठाइने

पोखरा ।
माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ब्ल्याक बक्स अन्तर्राष्ट्रिय सुविधा सम्पन्न ल्यावमा पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिको जानकारी दिए । ‘ब्ल्याक बक्स परीक्षणका लागि अर्को हप्ता जहाज निर्माता कम्पनी फ्रान्स पठाउँदैछौँ । दुर्घटनाको प्रभावकारी अनुसन्धानका लागि यसले सहयोग पुग्ने विश्वास गरेका छौं’, उनले भने ।
दुर्घटनापछि हुने अनुसन्धानको स्वतन्त्र विश्लेषणका लागि विमान निर्माता कम्पनीसमक्ष नै ब्ल्याक बक्स पठाउन लागिएको उनको भनाइ छ । ‘ब्ल्याक बक्सबाट तथ्यांक निकाल्नेमात्रै कुरा हुँदैन,’ उनले भने, ‘सामान्य अनुसन्धान र दुर्घटनापछि गरिने अनुसन्धान फरक पर्ने भएकाले प्राविधिक विश्लेषणका लागि फ्रान्स पठाउन लागिएको हो ।’
ब्ल्याक बक्ससहित दुर्घटना जाँच आयोगका विज्ञ टोली पनि फ्रान्स जानेछन् । आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात संकलन तथा विज्ञसँग छलफल गरिसकेको छ । विमान दुर्घटनापछि एटिआर विमान निर्माता कम्पनीबाट आएको ९ सदस्यीय टोली प्रारम्भिक अध्ययन गरी फर्किसकेको छ ।
सहसचिव लामिछानेले आयोगको सुपरीवेक्षणमा रहेर उक्त टोलीले आवश्यक अध्ययन गरेको र आयोगसँग समन्वय गर्दै र आवश्यक परे फेरि नेपाल आउने गरी स्वदेश फर्किएको जानकारी दिए । ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट माघ २ गते बिहान भेटिएको थियो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कलसाइन ९–एएनसी (एटीआर–७२–२१२)विमान सेती नदीको खाेँचमा दुर्घटना भएको थियो । उक्त विमानमा सवार चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भइसकेको छ भने बाँकी १ जनाको खोजी जारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटना जाँच आयोगले तीव्रताका साथ काम गरिरहेको बताए ।
सरकारले विमान दुर्घटनाबारे जाँच गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहेको आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाशप्राप्त उपरथि) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजंग थापा छन् । आयोगको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदबहालीसँगै दुर्घटनाबारे चासो व्यक्त गर्दै जाँच आयोगलाई छिटो र प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया