धौलागिरि अस्पतालमा डायलासिस क्षमता विस्तार

राष्ट्रिय समाचार समिति (रासस) २०७९ माघ १२ गते ११:०४

बलेवा ।
धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गाैला पीडितलाई निःशुल्क रूपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो ।

आरोपानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई ३ चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिए ।

आरोपानीको अभाव हुँदा विगतमा दैनिक २ चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मंसिरदेखि दैनिक ३ चरणमा डायलासिस सेवा प्रदान गरिएको छ । आरोपानी २ सय ५० लिटर प्रतिघण्टा उत्पादन हुँदा २ चरण थियो ।

Advertisement

अहिले आरोपानी प्रतिघण्टा १ हजार लिटर उत्पादन हुन्छ । डायलासिस मेसिन थप गर्न सके थप बिरामीको पनि उपचार गर्न सकिने सूचना अधिकृत पौडेलको भनाइ छ ।

हाल अस्पतालमा ४४ मिर्गाैलाका बिरामीले नियमित निःशुल्क रूपमा डायलासिस सेवा लिँदै आएका छन् । तीबाहेक ५ जनाले उपचारका लागि पालो गर्नुपर्ने अवस्था छ । यद्यपि पालो कुर्नुपर्ने बिरामी जटिल प्रकृतिका छैनन् । उनीहरूले हप्ता वा १५ दिनमा १ पटकमात्रै डायलासिस गर्दै आएका छन् ।

Advertisement

नियमित सेवाका सूचीमा रहेका बिरामीमध्ये ३ जनाले हप्ताको ३ पटक अन्यले हप्ताको २ पटक डायलासिस गराउँछन् । ६ मेसिनबाट दैनिक डायलासिस गर्दै आएको सूचना अधिकृत पौडेलको भनाइ छ । एउटा मेसिनले बेला बेलामा काम गर्दैन । ५ वटा मेसिन नियमित सञ्चालनमा छन् ।

गण्डकी प्रदेश सरकारसँग थप डायलासिस मेसिनको माग गरिएको छ । अझै पाँच/छ मेसिन सञ्चालन गर्न सक्ने आरोपानीको क्षमता छ । डायलासिसका लागि जिल्ला बाहिरका सरकारी तथा निजी अस्पतालमा रहेका बिरामीलाई जिल्लाबाटै सेवा दिन सकिने सूचना अधिकारी पौडेलले बताए ।

स्थानीय तहले पनि नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर डायलसिस मेसिन खरिद गरिदिए सेवा उपलब्ध गराउन आफूहरू तयार रहेको पौडेल बताउँछन् । १ मेसिन खरिद गर्दा करिब १५/१६ खर्च हुन्छ ।

धौलागिरि अस्पतालमा २०७५ साल वैशाख १० गतेदेखि २ बिरामीबाट निःशुल्क डायलासिस सेवा सञ्चालन गरिएको छ ।

डायलासिसका लागि गाउँबाट आउनेलाई पहिलो चरण, सदरमुकामदेखि नजिकै रहेका बिरामीलाई दोस्रो चरण र सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलासिस सेवा उपलब्ध गराउने गरी कार्य सूची तयार गरिएको छ ।

१ बिरामीको १ पटक डायलासिस विद्युत र डाइलाइजर बाहेकको करिब २ हजार ६ सय ७० खर्च आउँछ । सरकारले उक्त रकमको सोधभर्ना गर्दै आएको छ । डायलासिस सेवामा ५ जना कार्यरत छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया