शिक्षाले जीवन बदल्छः सरुभक्त

समाधान संवाददाता २०७९ माघ १२ गते १७:१०

पोखरा ।
साहित्यकार सरुभक्तले फिस्टेल एकेडेमीले सृजनात्मक एवं गुणस्तरीय शिक्षामा जोड दिदै गएको बताएका छन् ।

एकेडेमीले सरस्वती पूजाको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा सरुभक्तले मानव केन्द्रित चाहना विद्याबाट प्राप्त हुने भएकाले सृजनात्मक रुपले सुविचार र चिन्तन प्रक्षेपण गर्नुपर्नेमा जोड दिए ।

पठन संस्कृतिको विकासमा जोड दिएर बौद्धिक ज्ञान आर्जन गर्न सकिने उनको भनाइ छ । फिस्टेलका विद्यार्थीले बुक क्लब गठन गरी पुस्तक प्रदर्शनी गर्नु निकै सकारात्मक भएको उनले सुनाए ।

Advertisement

श्रेष्ठले आफ्ना बालबालिका केन्द्रित पुस्तकहरु चाडै आउन लागेको पनि जानकारी दिए । प्याब्सन कास्की अध्यक्ष मथुरा पौडेलले फिस्टेलले शैक्षिक र अतिरिक्त क्रियाकलापमा खेलेको भूमिका निकै प्रशंसनीय रहेको जनाए ।

शैक्षिक गुणस्तरका लागि आवश्यक पूर्वाधाारमा फिस्टेल अग्रस्थानमा रहेको उनको भनाइ छ । संस्थापक सञ्चालक चिनु रानाभाटले विद्यालयले गुुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधारसहित सृजनात्मक तवरले आधुनिक शिक्षा प्रणाली अवलम्बन गरेको जनाए ।

Advertisement

उनले गुणस्तरीय शिक्षाका लागि काठमाडौं लगायत विदेशका विद्यालय खोजेर जाने सोचलाई बदल्न सफल हुने विश्वास व्यक्त गरे ।

कक्षा १२ का विद्यार्थी प्राप्ति लम्सालले सरुभक्तलाई पहिलो पल्ट भेट्दाकोे अनुभव बाँडिन् । उनले विद्यार्थीको लागि सरुभक्त प्रेरणाको स्रोत भएको सुनाइन् ।

सो अवसरमा विद्यालयले आयोजना गरेको खुला विद्यालय स्तरीय कविता प्रतियोगिताबाट उत्कृष्ट ५ मा पर्न सफल भानुभक्तका अन्जना सुवेदी, सैनिक आवसीयका प्रवीण ढकाल(कक्षा १२), त्रिभुवन शान्ति नमुनाकी रश्मि गौतम (११), कुमुदिनी होम्सकी रिया श्रेष्ठ (१२), अञ्जुलीकी सन्तोषी ढकाल (१०)ले आफ्नो उत्कृष्ट कविता प्रस्तुत गरे ।

प्रतियोगिताका निर्णायकमा शिव संकल्प, गोपाल खनाल र प्रकाश अधिकारी थिए । सो अवसरमा विद्यार्थीले विभिन्न नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक दिनकर नेपाल र विद्यालय संयोजक गीताञ्जली राठौरले विद्यालयका शैक्षिक एवं अतिरिक्त क्रियाकलापको बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया