मन्त्री र सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन: पुँजीगत खर्च बढाएर चालु खर्च घटाउनू

सञ्जय रानाभाट २०७९ माघ १३ गते १०:२९

सञ्जय रानाभाट, पोखरा ।
गण्डकी प्रदेशको चालु आर्थिक वर्षको बजेट ३५ अर्ब ९० करोड ९० लाख छ । साउनदेखि यता ६ महिनामा १६.६२ प्रतिशत मात्र बजेट खर्च भएको छ । चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख र वित्तीय व्यवस्थातर्फ ५० करोडको बजेट गण्डकीमा छ ।

त्यसमध्ये चालुतर्फ २१.९२ प्रतिशत र पुँजीगततर्फ १३.८२ प्रतिशत मात्र खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ हालसम्म खर्च भएको छैन ।प्रदेशको पुँजीगत खर्च बढाउनु नयाँ सरकारको एउटा प्रमुख चुनौती हो । त्यसलाई सामना गर्ने दिशामा मुख्यमन्त्री खगराज अधिकारी अघि बढेका छन् ।

अधिकारीले मन्त्रालयका सचिवहरुलाई बिहीबार डाकेर प्रदेशको पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन निर्देशन दिएका छन् ।

Advertisement

सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमा देखिने गरी काम गर्न निर्देशन

‘वित्तीय सुशासन र विकासको अनिवार्य सर्त हुन् । यस सवालमा अनावश्यक चालु खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्नुस्,’ मुख्यमन्त्री अधिकारीको निर्देशन थियो ।

Advertisement

प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम गर्न अधिकारीले निर्देशित गरे । आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्र्यौट गरेर नयाँ बेरुजु हुन नदिन पनि मुख्यमन्त्रीले भनेका छन् ।

‘नेपालको संविधानको भावना अनुसार जनताको सर्वोपरिहित सम्बोधन हुने गरी प्रदेश सरकार सञ्चालन गर्ने विषयमा गण्डकी प्रदेश सरकारले नेतृत्वदायी र उदाहरणीय काम गर्नुस् ।

प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन छरितो संरचना निर्माण गर्न गठित संगठन गर्नुस्,’ उनले भने, ‘जग्गा प्राप्तिको समस्यालाई रोकिएका आयोजना तथा कार्यक्रमहरु केके छन् ? तिनको सम्भाव्यता छ कि छैन ? ठोस सुझाव प्रस्तुत गर्नु हुन सबैमा अनुरोध छ ।’

अधिकारीले सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमा देखिने गरी काम गर्न निर्देशन गरे । ‘प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्ने सम्बद्ध सबै जिम्मेवार भएर लाग्नुहोला ।

समपूरक, विशेष र वित्तीय, समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणालाई व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना समन्वयात्मक ढंगबाट सम्पादन गर्ने गरी व्यवस्था मिलाउनुहोला,’ उनले भने, ‘सबै मन्त्रालयहरुले आवधिकरुपमा ठोस नतिजासहितको कार्यप्रगतिको प्रतिवेदन पेस गर्नुहोला ।’

उनले सचिवहरुलाई आगामी प्रस्तुति थप वस्तुनिष्ठ कार्ययोजनासहित गरी सुधार गर्न आफैंबाट सुरु गर्न निर्देशन दिएका हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया