नेपाली युवाको योगमा विश्व रेकर्ड

पोखरा ।
योगको एक आसनमा नेपालका एक युवाले विश्व रेकर्ड कायम गरेका छन् । पर्वत स्थायी घर भई पोखरा निवासी ३४ वर्षीय विक्रम खड्काले लामो समयसम्म वृक्षासनमा बसेर विश्व रेकर्ड कायम गरेका हुन् ।
गिनिज बुक अफ दि वल्र्ड रेकर्डस्मा उनले ३ घन्टा ५० मिनेटसम्म वृक्षासनमा बसेको रेकर्ड छ । सोको प्रमाणपत्र शनिबार पोखरामा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुका साथै उनलाई सम्मान गरियो ।
लायन्स क्लबले आयोजना गरेको एक कार्यक्रम अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र मनोक्रान्ति अभियन्ता डा. विकासानन्दले उनलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा मेयर आचार्य, डा. विकासानन्दले एक नेपालीले कायम गरेको विश्व रेकर्ड अद्वितीय भएको बताए । विक्रम खड्काले नेपालीको पहिचान र नेपालको योग विश्वसामु परिचित गराउन थोरै भए पनि सहयोग मिलेकोमा खुसी व्यक्त गरे ।
अंग्रेजीमा ट्रि पोज भनिने यो आसनमा एक खुट्टा सहारामा उभिएर अर्को खुट्टा घुँडाभन्दा माथि राखी दुवै हात नमस्कार मुद्रामा जोडेर गरिने आसन हो । निकै कठिन हुने यो आसन खड्काले गत वर्ष काठमाडौंमा गरेका थिए । यसअघि उक्त कीर्तिमान भारतका सनत रथको नाममा १ घण्टा ६ मिनेटको थियो ।
२०६४ सालमा पनि उनले ५ घन्टासम्म गरेको शीर्षसन र २०६५ सालमा ४ घण्टासम्म गरेको त्राटक (मैनबत्तीलाई एकटकले हेर्नु) लाई पनि गिनिज बुकले रेकर्डमा राखेको खड्काको दाबी छ ।
काठमाडौंमा अध्ययनको क्रममा उनी विकासानन्दसँग नजिक भएका थिए । गोदाबरीस्थित आश्रममा विकासानन्दसँग नियमित योगाभ्यास गरेपछि उनलाई गिनिजमा नाम लेखाउने रहर जागेको बताए । उनी न्यु लाइफ आयुर्वेद प्रालिका सञ्चालकसमेत हुन् ।
तपाईको प्रतिक्रिया