क्युपेक जिल्ला युवा कमिटीलाई फुटबल उपाधि

समाधान संवाददाता २०७९ माघ १६ गते ११:०६

पोखरा ।
क्युपेक जिल्ला युवा कमिटी कास्कीले प्रथम जिल्ला स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ ।

नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा क्युपेक जिल्ला कमिटी कास्कीलाई ० का विरुद्ध २ गोलले पराजित गरी उपाधि जितेको हो ।

प्रतियोगितामा युवा कमिटी तर्फबाट पे्रम गुरुङ र उदय गुरुङले गोल गरेका थिए । रेफ्री नारायण केसी र विकास नेपालीले प्रतियोगिता सञ्चालन गरेका थिए ।

Advertisement

प्रथम हुनेले १५ हजार नगद र ट्रफी हात पारेको छ । दोस्रो हुने क्युपेक जिल्ला कमिटी कास्कीले १० हजार नगद र प्रमाणपत्र पाएको छ ।

‘खेल खेलौं स्वास्थ बनौं, संगठन निर्माण र भाइचाराको सम्बन्ध विस्तार गरौं’ भन्ने नाराका साथ पोखराको मालेपाटन खेलमैदानमा भएको प्रतियोगितामा क्युपेकमा आवद्ध १० टिमले प्रतिस्पर्धा गरेको क्युपेक जिल्ला कमिटी कास्की अध्यक्ष तीर्थराज मगरले जानकारी दिए ।

Advertisement

कार्यक्रममा नेपाल टेड्र युनियन महासंघ (जिफन्ट) संसदीय तथा स्थानीय तह संयोजन परिषद्का अध्यक्ष मीना गुरुङले खेल मानव जीवनको अभिन्न अंग भएको बताइन् । उनले मानव स्वास्थ्यका लागि नियमित रुपमा खेलकुदका कार्यक्रम गर्न सुझाव दिइन् ।

उनले श्रम गरी जीवन यापन गर्ने वर्गको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदको महत्व भएको चर्चा गरिन् ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले अनुशासित र मर्यादित भएर खेल सञ्चालन गर्न सुझाव दिए । उनले मालेपाटनबाट फुटबलको अनिल गुरुङ जस्ता राष्ट्रिय खेलाडी उत्पादन भएको जानकारी दिए ।

क्युपेक नेपाल कास्कीका अध्यक्ष तीर्थराज मगरले श्रमिक पनि हरेक क्षेत्रमा अब्बल भएको फुटबल खेलले प्रमाणित गरेको दाबी गरे । उनले क्युपेक नेपालको सरोकार, सामाजिक सुरक्षा र मर्यादित रोजगार भन्ने नाराका साथ अभियान चलाएको जानकारी दिए ।

गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले विजेता टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा क्युपेक नेपाल कास्की उपाध्यक्ष सूर्यप्रसाद उपाध्याय, सचिव जीवन लामा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया