राजनीतिको कठघरामा प्रचण्ड

जीवन नेपाली २०७९ माघ १७ गते १२:११

जीवन नेपाली ।

त्यसै भनिएको होइन, राजनीतिमा असम्भव केही हुँदैन । रातभरिमा सबैभन्दा छिटो अग्राख केहीमा पलाउँछ भने त्यो राजनीतिमै होला । सोच्दै नसोचेको जस्तो, सम्भवै नहुने जस्तो, जस्तै राजनीतिक विश्लेषकले पनि कल्पना गर्न नसक्ने परिघटना सामान्य जस्तै गरी घटित भईदिन्छन् कहिलेकाही नेपालि राजनीतिमा ।

पछिल्लो वर्षहरुमा नेपाली राजनीतिमा घटेका परिघटनालाई कसैगरी पनि सामान्यकृत गर्न सकिंदैन । विश्व राजनीतिमा विरलै हुने कुरा नेपालमा भइरहेका छन् । त्यो पनि पटक पटक एक अर्काको कटु आलोचक ओली र प्रचण्डको मिलनदेखि पार्टी एकता, एउटा अपत्यारिलो राजनीतिक घटना थियो ।

Advertisement

नेकपा विभाजन, एमाले विभाजनदेखि देउवाको सत्तारोहण त्यस्तै घटना थिए । बालेन, हर्क र रविको राजनीतिक उदय कसले कल्पना गरेको थियो र? त्यसै गरी अहिले फेरि अर्कै अकल्पित राजनीतिक घटनाक्रम विकास भएको छ । ओलीको समर्थनमा प्रचण्डको तेस्रो सत्तारोहण भएको छ । आफ्नो राजनीतिक जीवनको अन्तिम कोर्षका रुपमा स्वयंले स्वीकारेका प्रचण्डलाई यो सत्तारोहणले कत्तिको सफल बनाउँला ?

१७ वर्षको खुला राजनीतिक जीवनमा सबैभन्दा कमजोर स्थितिमा पुगेको उनको दल नेकपा माओवादी केन्द्रलाई यो उनको स्वघोषित तेस्रो तथा अन्तिम सत्तारोहणले कत्तिको प्राण भर्छ ? रुग्ण अर्थतन्त्र, निराश नागरिकमा उनले कत्तिको हर्ष, आशा र उत्साह भर्न सक्छन् ? कमजोर वैदेशिक नीति र शिथिल राष्ट्रिय स्वाभिमानमा कत्तिको ऊर्जा भर्न सक्छन् ? यो कुरा समयसँगै निर्धारण हुँदै जानेछन् ।

Advertisement

व्यवस्था बदलेको जस त उनी छ र सधैभरि रहिरहनेछ तर अवस्था बदल्नका लागि भने उनलाई यो अन्तिम मौका हुन सक्छ

नेपाली राजनीतिमा प्रचण्ड एक मिथक हुन्; बिल्कुल नपत्याँउदा र समझभन्दा बाहिरका द्वन्द कालमा उनी कथाका पात्र जस्ता थिए । धेरै सुनिने अनि हल्का अनुभव गरिने । जसै खुला राजनीतिमा आए, उनी केन्द्रबिन्दु बनिहाले । सिमित घटनाक्रमबाहेक उनले आजपर्यन्त आफूलाई राजनीतिको केन्द्रबन्दुमै राखेका छन् । अझ भनौं राजनीतिलाई आफूवरिपरि नै घुमाएका छन् ।

पार्टी कति छिन्नभिन्न भयो, सँगैका सहयात्रीहरु कहाँ कहाँ पुगे तर उनी त्यही छन्; जहाँ उनले रहन चाहेका छन् । भौतिक र राजनीतिक रुपमा जति सम्भव छ, सबै सुविधा भोगिसके । तर आम नागरिकका उनीप्रतिको आशा, उत्साह र भरोसामा खरो उत्रिन विरलै सकेका छन् । तब न उनी र उनको राजनीतिक दल २०६४ देखि आजसम्म पनि व्यवस्था बदलेको जस र अवस्था बदल्न्ने सपनाको नारा बाड्नमै विवश छ ।

व्यवस्था बदलेको जस त उनी छ र सधैभरि रहिरहनेछ तर अवस्था बदल्नका लागि भने उनलाई यो अन्तिम मौका हुन सक्छ । निर्वाचनमा चितवन छाडेर अति सुरक्षित मानिएको गोरखा पुग्दा प्रचण्डले भगौडाको आरोप सहनु पर्‍यो । गोरखाका चुनावी सभाहरुमा प्रधानमन्त्रीको दाबी प्रस्तुत गरिँरहदा उनको कति मजाक बनाइयो ।

प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने उनको उद्घोषलाई उपहास गरिएको धेरैको मानसपटलमा ताजै होला। तर उनको राजनीतिक चातुर्य भनौं या चट्टानी अडान, सत्ताको साँचो हातमा लिएरै छाडे । एउटा राजनीतिक मिसन भनौं या व्यक्तिगत अभिलाषा पूरा गरेका प्रचण्डले सत्ताको सारथि बनिरहँदा त्यसलाई कुन टुंगोमा पुर्‍याउलान् ? नागरिकका जनजीविकाका सामान्य समस्यालाई कत्तिको सफल सम्बोधन गर्लान् ? ठेकेदार घरबेटीका डेरावाल उनी आफूमाथि लाग्ने गरेका आरोपहरु चिर्न कत्तिको सफल होलान् ?

अंक गणितीय राजनीतिमा असम्भव ठानिएको अवसर पाएका प्रचण्डलाई यो अवसर उनी स्वयं र उनको पार्टीलाई कति महत्वपूर्ण छ, यो प्रचण्डलाई राम्रोसँग थाहा छ । खुला राजनीतिको करिब २ दशकको अवधिमा सर्वाधिक आलोचित पात्र हुन् उनी ।

गर्न त अरुले जे गरेका थिए, उनले पनि त्यही गरेका हुन् । अरुले जे नगरेका थिए, उनले पनि त्यही नगरेका मात्र हुन् तर सायद उनलाई अरुले जे गरे त्यहीमात्र गरेर बस्ने छुट थिएन । उनले त अरुले जे गर्न सकेका थिएनन्; त्यो गरेर देखाउनुपर्ने थियो ।

दशक लामो रक्तपातपूर्ण र सकसपूर्ण द्वन्द्वबाट उदाएको नेतृत्वले पद, सत्ता र शक्तिको आम राजनीतिक जोडघटाउमा रुमल्लिनु नागरिकलाई किमार्थ स्वीकार योग्य थिएन, छैन र हुँदैन पनि । नेतृत्वले गति छाडेपछि सकारात्मक परिणाम कदापि आउँदैन । तब न डेढ दशक अघिको त्यो शक्ति खिइँदै विलय हुने संघारमा आइपुगेको छ ।

तर समयको संयोग र राजनीतिक खेलले प्रचण्ड र उनको राजनीतिक दलले आफ्नो खिइएको शक्ति पुन आर्जन गर्न मौका पाएका छन् । आम नागरिकमा गुमेको विश्वास र विरासत पुन फर्काउने अवसर प्राप्त गरेका छन् । उनले त्यति धेरै गर्नु पनि पर्दैन, आम नागरिकका जनजीवनसम्बन्धी सामान्य सवाल सम्बोधन गरे पुग्छ ।
कुनै उथलपुथल र चमत्कारको आशा उनीसँग यति बेला पक्कै छैन ।

सात तिरबाट तानेर, जोडेर बल्लतल्ल अंक गणित पुर्‍याएर बनेको यो सरकारबाट कुनै चमत्कारको आशा गर्न त्यति न्यायोचित पनि हुँदैन । त्यसै पनि नेपानी जनता अति सन्तोषी छन् । नागरिकलाई खुसि पार्न धेरै गर्नै पर्दैन । कुनै कार्यक्रममा सहभागी हुन हेलीकोप्टर चढेर कर्णाली पुगेका प्रधानमन्त्रीले फर्कदा सुत्केरी हुन नसकेर प्राण त्याग्ने अवस्थामा पुगेकी महिलालाई लिफ्ट दिँदा देवत्वकरण हुन्छ ।

समयको यो दशकमा आइपुग्दा पनि गाउँघरमा एम्बुलेन्ससम्म पनि किन पुग्न सक्दैन भनेर कसैले देशको कार्यकारी प्रमुखलाई सोध्दैन । कुनै आतंककारी विस्फोटमा घाइते भएकालाई अस्पताल पुगेर सञ्चै छौ भनेर सोधिदैन । त्यसैले प्रचण्डले पनि सफल हुन ठूलो चमत्कार नै गर्नुपर्दैन । बस असल र इमान्दार सत्ताचालक भइदिए पुग्छ ।

आफ्नो मन्त्रिपरिषदका सदस्यलाई भ्रष्ट हुनबाट रोकून्, काम गर्न खोज्नेहरुलाई निर्वाध काम गर्न दिऊन् । गर्न नखोज्ने र नसक्नेहरुको ठाउँमा योग्यहरू ल्याऊन्, किसानले बाली लगाउने बेला समयमै मल र बिउबिजन पाऊन्, उत्पादनले उचित मूल्य र बजार पाओस्, देशका किसानका उत्पादन बारीमै कुहिँदा सिमा नाकाबाट विषाक्त फलफूल, तरकारीले भरिएका ट्रकको लाइन नभित्रियोस् ।

सिटामोल र जीवनजल नपाएर दूरदराजका नागरिकहरु नमरुन्, महामारीलाई अवसर बनाउन खोज्ने कालोबजारीहरु हतोत्साहित हुन्, बाढीपहिरो र आगलागी जस्ता दैवी प्रकोपमा नागरिक पिल्सिदा हेलिकप्टरमा नेता मन्त्रीहरुको लाइनभन्दा अघि राहत सामग्री पुगून् ।

ढाड सेकिने महंगी र कालोबजारी नियन्त्रण होस्, विदेशी उत्पादनभन्दा बढी स्वदेशी उत्पादनले प्राथमिकता पाओस् । नातावाद, कृपावाद र परिवारवाद हटोस्, व्यापारीले पार्टीलाई चन्दाभन्दा बढी राज्यलाई कर तिर्न मन गरुन् ।

प्रमुख राष्ट्रिय नियोग तथा निकायमा भागबण्डाभन्दा बढी योग्यहरुले नियुक्ति पाऊन्, राजनीतिको पर्दाले अपराध नछोपियोस्, विदेशी राजदूतहरुले चप्पल लगाएर प्रधानमन्त्री या मन्त्रि परिषद्का सदस्यलाई कार्यकक्ष या निवासमा भेट्ने हिम्मत नगरुन्, राष्ट्रिय महत्वका राजनीतिक या कार्यनीतिक निर्णमा कसैले ठाडो हस्तक्षेप गर्ने आँट नगरुन्, देशभित्र या बाहिर बिचल्लीमा परेका नागरिकको समयमै उद्दारको पहल होस् ।

सरकारी शैक्षिक गुणस्तरको वृद्धि होस्, आधारभूत सरकारी निकायहरुमा राजनीति कम होस् र सेवाग्राहीको सेवा धेरै होस् । सामान्य नागरिकका जनजीविकासँग सम्बन्धित यी र यस्ता सामान्य सबाल सम्बोधन गर्न प्रचण्डले कुनै चमत्कार या छलाङ हान्नुपर्दैन । सरकारी संयन्त्रलाई सहि तरिकाले परिचालन गरेमात्र पनि पुग्छ ।

आफू मातहतका सरकारी संयन्त्रमा आफ्ना र सत्ता सहयात्री दलहरुको कार्यकर्ता भर्तीकेन्द्र नबनाई योग्यता र विज्ञताको आधारमा नियुक्तिलाई प्राथमिकता दिने हो भने काम उनीहरुले नै गर्नेछन्, आफूले अनुगमनमात्र गरे पुग्नेछ । सार्वभौम संसदको पहिलो बैठकमा प्रधानमन्त्रीको रुपमा सम्बोधन गर्दै गर्दा धेरैपछि प्रचण्ड सन्तुलित र विनम्र सुनिए ।

कुनै कमजोरी र त्रुटिको जोखिम लिन नचाहेरै होला लिखित भाषण गरेका उनका शब्द सभ्य र सौहार्दपूर्ण थिए । नयाँ दल तथा संसदलाई बिना कुनै संकोच न्यानो स्वागत गरे । राजनीतिक परिघटनाले सम्भावित सत्तासिनबाट प्रतिपक्षविहीन प्रधानमन्त्री बनाइदिए । यसले प्रचण्डलाई सबैसँग सहकार्यको ढोका खोलिदिएको छ ।
यति अनुकूल र सहज सत्ता सञ्चालनको अवसर यो देशमा यस अघिका प्रधानमन्त्रीले शायदै पाए होलान् ।

प्रचण्डलाई राम्रोसँग थाहा छ; यसपालि उनलाई असफल हुने छुट छैन । त्यसो त उनी सफल हुने सम्भावना पनि त अत्यधिक नै छ । प्रचण्डलाई असफल बनाउनकै लागि एमालेले पक्कै सत्ता सुम्पेको होइन । दीर्घकालीन बाम एकताको सम्भावना बचाउनका लागि पनि एमालेले उनलाई सहयोग गर्ने छ ।

सञ्चार कर्मबाट अथाह अनुभव बोकेका समाजको आफूप्रतिको आशा, भरोशा र आकर्षकको महत्वलाइ बुझेका युवा अनुहार रवि लामिछाने, राजेन्द्र लिङदेनहरुको बलियो साथ र सहयोग उनले पाउने छन् । एक कार्यकाल राम्रै चलाएका अर्थमन्त्री विष्णु पौडेल बिग्रिएको अर्थतन्त्र सही बाटोमा ल्याउन सहयोगी नै हुने आशा गर्न सकिन्छ । सत्ता सञ्चालनका लागि जुन टिम उनले तयार गरेका छन्; यो तुलनात्मक रुपमा राम्रो र भरोसायोग्य देखिन्छ ।

प्रचण्डले आफ्नो नेतृत्वमा कस्तो अर्थतन्त्र र समाज बनाउन खोजेका हुन्, यसपटक सायद अन्तिम पटक यसको उत्तर खोजिनेछ । १५ वर्षअघि ३५ हजार सेनासहित पहिलो पटक शक्तिशाली प्रधानमन्त्री बनेका प्रचण्ड यसपटक फेरि प्रतिपक्ष विहीन शक्तिशाली प्रधानमन्त्री बनेका छन् । तर यसबीचको अवधिमा उनी र उनका सिमित कार्यकर्ताबाहेक सिंगो पार्टी कहिँ कतै र कहिल्यै स्वाभिमानविहीन बनी हिड्न इमान्दार कार्यकर्ता पक्ति विवश भइरह्यो ।

माओवादी केन्द्रमा अझै पनि इमान्दार र प्रतिबद्ध कार्यकर्ताको कमि छैन । तिनीहरुको त्याग र मेहनतले नै त आजसम्म पनि पार्टी जिउँदो छ । तर त्यसै लोभी, पापी, अवसरवादी र उग्रपन्थीहरुको पनि कमी छैन । माओवादी केन्द्रमा केही कार्यकर्ता यति उग्र, असामाजिक र अराजनीतिक छन् कि ती कहिँ कतैबाट राजनीतिक रुपमा दीक्षित लाग्दैनन् । पार्टी भित्रका सोझा, इमान्दारहरु माथि यस्ता उग्रपन्थी हावी भइदिनाले नै त सिंगो पार्टी उँधो गतिमा लागेको हो ।

सायद प्रचण्ड र सिंगो माओवादी केन्द्रलाई बामपन्थी आन्दोलनमा पुनस्र्थापित गर्ने नागरिकको मन, मस्तिस्कमा पुन ठाउँ बनाउने, पार्टीप्रति आशा र विश्वास फेरि जगाउने यो अन्तिम अवसर हुन सक्छ । एउटा प्रसंग उल्लेख गरौं, ककनीमा पुत्र प्रकाश दाहालको शालिक अनावरण गरिरहँदा सायद त्यसै दिन थियो जनयुद्धका १ कमान्डरको शव काठमाडौँमा वेवारिसे भेटिएको ।

त्यसको केही दिनपछि काठमाडौं नगर प्रहरीले खोसेको ठेला हेर्दै रोएकी एक आमाको तस्बिर सामाजिक सञ्जालमा राखेर माओवादी कार्यकर्ता दीपशिखाले काठमाडौंका मेयर बालेनलाई प्रश्न सोधेका थिए–यस्तो देख्दा तपाईंको मन अलिकति पनि दुख्दैन ? यस्तो प्रश्न जुन दिनदेखि माओवादी कार्यकर्ताले उपचार नपाएर ज्यान गुमाइरहेका जनयुद्धका सहयोद्धाको तस्बिर देखाएर आफ्नो नेतृत्वलाइ सोध्ने हिम्मत गर्छन्; त्यही दिनदेखि माओवादी केन्द्रको उकालो यात्रा सुरु हुनेछ ।

जुन दिनदेखि वृद्ध आमाहरुले सडकमा ठेला धेकेल्नु पर्दैन, त्यो दिनदेखि माओवादी कार्यकर्ताले व्यवस्था र अवस्था दुवै बदलेको नारा लगाउन पाउने छन् । नत्र आफ्ना सहयोद्धाहरुको रगतसँग साटेर ल्याएको गणतन्त्र माथिको अरुको हालीमुहाली किनाराको साक्षी बनेर टुलुटुलु हेर्नुको कुनै विकल्प रहने छैन । एक समय थियो, प्रचण्डसँग केमात्र थिएन ? ३५ हजार सेना थियो, जसले प्रचण्डको भन्दा अरुको आवाज पनि सुन्ने थिएनन् ।

लाखौं प्रतिवद्ध कार्यकर्ता थिए, जो एक आदेशमा ज्यान दिन/लिन तयार थिए । दायाँ बाबुराम जस्ता विश्वले पत्याएका ब्रान्ड थिए, वैद्य जस्ता धुरन्धर कम्युनिस्ट विज्ञ सारथि थिए । लाखौं जनताको आशा, विश्वास अनि भरोसा थियो तर उनी असफल भए । आज प्रचण्डसँग अनुकूल कही छैन तर पनि नी सफल हुने ल्यागत राख्छन् ।

किनकि उनी प्रचण्ड हुन्, प्रतिकूलता भित्रको अनुकूलता उनलाई थाहा छ । त्यसैले त उनलाई विरोधीहरुले पनि घृणा गरिहाल्न सक्दैनन् । हिन्दीमा एउटा भनाइ छ–अभी नही तो कभी नही । आशा गरौं प्रचण्ड सफल प्रधानमन्त्री बन्नेछन्; उनको स्वघोषित तेस्रो तथा अन्तिम कार्यकाल सफल हुनेछ । उनी सफल भए, देशसमेत सफल हुनेछ ।

तपाईको प्रतिक्रिया