नेपाल टेलिकमका ग्राहक सवा २ करोड

समाधान संवाददाता २०७९ माघ २३ गते ११:१५

काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आइतबारदेखि २० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ ।

टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्यान्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवा उपलब्ध गराएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न आग्रह गरेकी छन् ।

Advertisement

उनले नवीन प्रविधिको अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको सन्देशमा उल्लेख गरेकी छन् ।

टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले कम्पनीको उत्कृष्ट पूर्वाधार र नेटवर्क तथा साधन, स्रोत एवं मानवशक्तिको उच्चतम प्रयोग गरी ग्राहक सन्तुष्टि कायम राख्दै कम्पनीलाई सेवाग्राहीको पहिलो रोजाइ बनाउन भरमग्दुर प्रयास गरिने प्रतिबद्धता जनाए ।

Advertisement

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो ।

विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो ।

कम्पनीको आर्थिक वर्ष २०७८/८९ को कुल राजस्व ४४ अर्ब ३७ करोड छ, जसमा खुद नाफा ८ अर्ब ४७ करोड छ । कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मंसिसरसम्मको विवरणमा २ करोड १३ लाख २५ हजारभन्दा बढी छन् ।

सोमध्ये जीएसएम मोबाइल ग्राहक २ करोड १ लाख ६८ हजार, एडिएसएल सेवाका चार लाख ३७ हजार र पिएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन् ।

एफटिटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटिटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ छन् ।

यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ ।

तपाईको प्रतिक्रिया