पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला

समाधान संवाददाता २०७९ माघ २५ गते १६:२८

पाेखरा ।
पोखरा १७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चार लाखमा स्थापना गरिएको प्रयोगशालामा विभिन्न सुविधा रहने बताइएको छ ।

Advertisement

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले प्रयोगशालाको आज उद्घाटन गर्दै वृद्धाश्रमको विकासमा प्रदेश सरकार जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

आश्रमका ज्येष्ठ नागरिक तथा स्थानीय बासिन्दालाई स्वास्थ्य सुविधा पुर्‍याउने उद्देश्यले स्थापना गरिएको प्रयोगशालालाई सुविधा सम्पन्न बनाउँदै आवश्यक जनशक्ति उपलव्ध गराउने विश्वास व्यक्त गरे।

वृद्धाश्रममा समाजका गरिब, विपन्न तथा असहाय वर्गका ४८ आमाबुबा तथा आठ सेवकसेवीकासहित ५६ जना आवद्ध रहेको आश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिए ।

गत आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकलाई लाग्ने अल्जाईमर रोग ‘स्क्रिनिङ टेष्ट’ कार्यक्रम सञ्चालन गर्न रु सात लाख विनियोजन गरेको उनले जानकारी दिए ।

Advertisement

उनले आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकलाई पोखरा वृद्धाश्रममा ल्याएमा निःशुल्क परीक्षण गरिने तयारी भइरहेको बताए ।

यसैगरी ज्येष्ठ नागरिक तथा गृहिणीलाई लक्षित गरी विभिन्न १५ थरिका अचार तथा मस्यौरा र गुन्द्रुक बनाउने तालिम सञ्चालन सम्पन्न भएको उनले बताए ।

उनले उत्पादीत वस्तु उपयोगका साथै बिक्री वितरण गरी आम्दानीको स्रोतकारुपमा विकास गरिने धारणा राखे ।

तपाईको प्रतिक्रिया