मुस्ताङः दोश्रो हाईअल्टिच्युड ट्राई एडभेन्चरमा आर्मी र एपिएफ च्याम्पियन

समाधान संवाददाता २०७६ वैशाख ३० गते १५:५९

सुन्दरकुमार  थकाली, मुस्ताङ

मुस्ताङको जोमसोममा दोश्रो पटक प्रधान सेनापती हाईअल्टिच्युड ट्राई एडभेन्चर राष्ट्रिय प्रतियोगिता भएको छ । नेपाली सेनाले यहा बर्सेनी एडभेन्चर प्रतियोगिता संञ्चालन गर्दै आईरहेको छ । सेना संग जोडिएको यस खेल सेनाले यहाँ दोश्रो पटक आयोजना गरेको हो ।

सोमबार खेलाईएको एडभेन्चर खेलमा दुई बिभागीय टोलीले आफ्नो बर्चश्व कायम गरे । प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव पुरुष र सशस्त्र प्रहरीको एपिएफ क्लवको महिला टोली च्याम्पियन भए ।

Advertisement

यसअघि शैनिक उच्चशिखर शिक्षालय जोमसोम देखि प्रतियोगिता सुरु भएको हो । जोमसोमको पश्चिमतर्फ धाकार्जुङ डाडाँ उक्लने एक सय मिटर रकक्लामिङ, धाकार्जुङ डाडो देखि सशस्त्र प्रहरी क्याम्प, कालिगण्डकी नदी तर्दै पान्डाखोला सम्म दौडिने ४।७५ किमी रनिङ र पान्डाखोला देखि जोमसोम, ठिनी, सम्ले, स्याङ हुँदै जोमसोम सम्म १५।३५ किमी साईकलिङ ३ बिधामा एकैसाथ प्रतियोगिता भएको हो ।

प्रतियोगिताको पुरुष एडभेन्चर तर्फ त्रिभुवन आर्मी क्लव ए च्याम्पियन बन्यो । आर्मीका हिमाल टमाटा र बशन्त थारुले निर्धारित दुरी १ घण्टा १९ मिनेट ४२ सेकेन्डमा पूरा गरे । सशस्त्र प्रहरीको एपिएफ क्लवका खेलाडी लक्ष्मण मल्ल र किरण मल्लले निर्धारित दुरी १ घण्टा १९ मिनेट ५२ सेकेन्डमा पुरा गरी दोश्रो भए ।

Advertisement

यस्तै पुरुषतर्फकै एडभेन्चरमा नेपाली सेनाको आर्मी बि तेश्रो भयो । आर्मी बि का प्रताप थापा र दिपकसिह चौधरीले १ घण्टा २४ मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । पुरुषतर्फको एडभेन्चरमा एपिएफ क्लवका खेलाडी १० सेकेन्डले आर्मी ए भन्दा पछि पर्‍यो ।

अघिल्लो वर्ष जोमसोममा भएको एडभेन्चरमा च्याम्पियन बनेका आर्मी बि का खेलाडी थापा र भण्डारी यसवर्ष तेश्रो स्थानमा चिक्त बुझाउनु पर्‍यो । यसवर्ष आर्मी ए र एपिएफ संग ५ मिनेटले थापा र भण्डारीपछि परेका हुँन् ।

महिला एडभेन्चर तर्फ शसस्त्र प्रहरीको एपिएफ क्लवकी सोनी गुरुङ र निर्जला भण्डारी पहिलो स्थान हासिल गर्दै च्याम्पियन भए । गुरुङ र भण्डारीले १ घण्टा ४५ मिनेट ५४ सेकेन्डमा निधारित दुरी पार गर्दै च्याम्पियन बनेका हुन् ।

प्रतियोगितामा गैरबिभागिय गस्ट टिमकी होमी बुढामगर र उषा खनालले १ घण्टा ५२ मिनेट ३० सेकेन्डमा दुरी पार गर्दै दोश्रो भए । यस्तै त्रिभुवन आर्मीकी लक्ष्मी मगर र केशरी थापा मगरले १ घण्टा ५३ मिनेट १६ सेकेन्ड समय खर्चिएर तेश्रो भए ।

प्रतियोेगिताका लागि कुल २१ टिम मुस्ताङ आएपनि २ टिम मेडिकल परिक्षणपछि प्रतियोगिताबाट बाहिरीएका थिए । पुरुषतर्फ एडभेन्चरतर्फ ११ टिम र महिला एडभेन्चर तर्फ ५ टिम सहभागी भएको प्रतियोगिता संयोजक राजिव चन्दले जानकारी दिए ।

प्रतियोगितामा बिभागीय टोलीसहित नेपालका बिभिन्न क्लव तथा स्वदेशी एडभेन्चर खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिताको पुरुष एडभेन्चर च्याम्पियन टोलीले नगद ५० हजार, शिल्ड, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । दोश्रो हुनेले नगद ३० हजार प्रमाणपत्र, ट्रफी र तेश्रो हुँने टिमले नगद २० हजार प्रमाणपत्र, ट्रफी पाए ।

महिला एडभेन्चर तर्फ पहिलो, दोश्रो र तेश्रो हुँने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रमाणपत्र र ट्रफी जिते । बिजेता पुरुष, महिला एडभेन्चर दुबै टोलीलाई नेपाली सेनाका बलाधिकृत रथि सरद गिरी, गण्डकी प्रदेशका माननीय सांसद महेन्द्रबहादुर थकाली र जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ लगायतले पुरस्कार हस्तान्तर गरेका थिए ।

गण्डकी प्रदेशका माननीय सांसद महेन्द्रबबहादुर थकालीले मुस्ताङमा पर्वतीय खेलहरुको प्रचुर संम्भावना रहेको बताए । उनले गण्डकी प्रदेशले यसप्रकारको खेलको प्रर्वधन गर्न हाईअल्टिच्युट तालिमकेन्द्रको तयारी गरेको जनाए । मुस्ताङमा खेल पर्यटक भित्र्याउने लक्ष्यसहित यसको प्रारम्भिक सर्वे तथा जग्गा छनौट भईसकेको उनको भनाई छ ।

प्रतियोगिता संयोजक राजिव चन्दले साहसिक खेलहरु नेपाली सेनाको तालिम संग सम्बन्धित भएपनि नेपाली सेनाले एडभेन्चर प्रतियोगिता प्रर्वद्धन गर्न खोजेको बताए । उनले यसप्रकारको प्रतियोगिताले अन्तराष्ट्रिय खेल पर्यटकलाई नेपाल सम्म ल्याई पुर्‍याउने सहयोग पुग्ने दावी गरे ।नेपाली सेनाले समय समयमा यस्ता प्रतियोगितालाई प्राथमिकता दिएको उल्लेख गर्दै संयोजक चन्दले नेपालमा यस खेलको अधिक संम्भावना रहेको जनाए ।

खेलपछि प्रतिक्रिया ब्यक्त गर्दै एपिएफकी च्याम्पियन सोनी गुरुङले मुस्ताङमा रकक्लामिङको नयाँ अनुभव प्राप्त गरेको बताईन् । उनले रक,रनिङ र साईकलिङ ३ वटा बिधा समायोजन गरेर खेलाईएको खेलले आफुलाई थप उर्जा प्रदान गरेको जनाईन् ।प्रतियोगितामा स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, संघ संस्था र पत्रकारहरुको उपस्थिती रहेकोे थियो ।

तपाईको प्रतिक्रिया