पोखरा–जोमसोम रुटमा क्यामेराले गराउँछ मौसम अपडेट

रिखिराम जिसी २०७९ माघ २७ गते ८:१५

रिखिराम जिसी, पोखरा ।
जोमसोमका लागि पोखराबाट जेठ १५ गते उडेको तारा एयरको जहाज दुर्घटनाको कारण प्रतिकूल मौसम भएको अध्ययनले देखायो । दायाँ मोड्नुपर्ने जहाज खराब मौसमका कारण बायाँ मोडिएको र गएर भित्तामा ठोक्किएर दुर्घटना भएको निष्कर्ष अध्ययनले निकालेको थियो । दुर्घटनाबाट २२ जनाले ज्यान गुमाएका थिए ।

तारा एयर अघि पनि पोखरा जोमसोम रुटमा अरु जहाज दुर्घटना भएका थुप्रै उदाहरण छन् । यो रुटमा एक ठाउँमा ‘लाइन अफ साइट कम्युनिकेसन ग्याप’ छ । यो भनेको जहाज सम्पर्कविहीन हुने अवस्था हो । पार गर्न करिब ३ मिनेट लाग्ने डाँडामा छेकिने ठाउँ (बफर जोन) भएकाले यो अवस्था आउने नागरिक उड्डयन प्राधिकरणले बताउँदै आएको छ ।

यो ठाउँमा पुगेपछि पाइलट र एयर ट्राफिक कन्ट्रोल (एटिसी) बीच सम्पर्क हुँदैन । त्यस कारण पनि यस रुटलाई जोखिमपूर्ण रुट मानिन्छ । सम्पर्क बिच्छेदका कारण हुने जोखिम कम गर्दै हवाई सुरक्षाका लागि उक्त रुटमा क्यामेरा जडान गरिएको छ ।

Advertisement

क्यामेराले मौसमी अपडेट दिन सुरु गरेका छन् । उड्डयन प्राधिकरणसँगको समन्वयमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा जडित क्यामेराले मौसमी अपडेट दिन थालेको हो । उक्त रुटको ३ वटा ठाउँमा ६ वटा क्यामेरा राखिएका छन् । यी क्यामेराले प्रत्यक्ष तस्बिर खिचेर पठाउने क्षमता राख्छन् ।

ती तस्बिर पोखरा र जोमसोम विमानस्थलको एटिसी टावरमा पुग्छन् । पाइलटले मोबाइलमा समेत यस्ता तस्बिर हेर्न सक्ने गरी प्रविधि जडान गरिएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।

Advertisement

छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्याउने भएकाले क्यामेरा जडान

क्यामेराले खिचेको फोटो इन्टरनेटको माध्यमबाट डिभाइसमा आउने राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए । ‘६ वटा क्यामेरा जडान गरिएको छ, आइपी क्यामेरा हो, नेटोर्किङ क्यामेरा नै हो, त्यहाँबाट क्यामेराले खिच्छ र इन्टरनेटको माध्यमबाट डिभाइसभमा आउँछ,’ उनले भने ।

सुरुमा २ वटा क्यामेरा राखेर परीक्षण गरिएको अध्यक्ष पुनले बताए । उनले भने, ‘दसैँपछि काम सुरु गरिएका हौं, सुरुमा २ वटा क्यामेरा राखेर चेक गरियो, त्यो क्यामेराले सफल भएपछि बाँकी अरु क्यामेरा राखिएको हो ।’ यी तस्बिरले दुई विमानस्थल बीचको इनरुटको मौसमी अपडेट गराउने छन् ।

जसले हुस्सु लागे–नलागेको बारे जानकारी गराउने छ । केन्द्रका अनुसार यी क्यामेरा राख्न र मर्मतमा ठूलो खर्च नलाग्ने भएका कारण प्राधिकरणले अन्य जोखिमयुक्त रुटमा समेत यस्ता क्यामेरा राख्न सम्भव देखिएको छ । यसअघि २७ कात्तिकमा प्राधिकरण र केन्द्रबीच क्यामेरा जडान गर्नेबारे समझदारी भएको थियो ।

यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्याउने भएकाले क्यामेरा जडान गरिएको प्राधिकरणको भनाइ छ । यसले यो रुटको हवाई सेवा सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन इनरुट क्यामेराले सहयोग गर्नेछ ।

यो रुटमा हालसम्म ५ दुर्घटना भएका छन् । यी दुर्घटनामा अहिलेसम्म ७७ जनाले ज्यान गुमाएका छन् । गत जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा तारा एयरको ९ एनएइटी ट्वीनअटर जहाज दुर्घटनामा हुँदा २२ जनाले ज्यान गुमाए ।

यसअघि २०७२ फागुन १३ गते यो रूटमा दुर्घटना भएको थियो । त्यस बेला तारा एयरकै विमान म्याग्दीको दाना गाविसमा दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २३ जना यात्रुको मृत्यु भएको थियो । २०७० सालमा नेपाल एयरलाइन्सको जहाज यो रूटमा दुर्घटना भयो । त्यसमा २१ जना घाइते भए । जहाज पुथाङ विमानस्थलको धावनमार्गबाट कालीगण्डकी नदीमा खसेको थियो ।

२०५९ जेठ १ मा अग्नि एयरको जहाज जोमसोम विमानस्थलनजिकै पानीट्यांकी डाँडामा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । ६ जना घाइते भएका थिए । उक्त जहाज पनि डाँडामा ठोक्किएको थियो । २०५९ भदौ ३ गते जोमसोमबाट पोखरा उडेको सांग्रिला एयर दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया