गुप्तेश्वर गुफा चिनाउन जेठ १ देखि ११ सम्म कोटीहोम

समाधान संवाददाता २०७६ वैशाख ३१ गते १२:३०

समाधान संवाददाता, पर्वत

कुश्मा नगरपालिका ५ स्थित गुप्तेश्वर परिसरमा आयोजना गर्न लागिएको विराट महायज्ञको तयारी पूरा भएको छ । जेठ १ देखि ११ गतेसम्म सञ्चालन हुने विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको सवै तयारी पूरा भएको महायज्ञ मूल समारोह संयोजक पृथ्वीनारायण शर्माले बताए ।

स्थानीयको सक्रियतामा हुने यज्ञको तयारीसभामा कुश्मा ५ का विभिन्न महिला समूहले यज्ञस्थल निर्माणमा जुटेका थिए । अराध्यदेव पार्वतीको जन्म पर्वतकै पाङमा भएको किम्बदन्तीका आधारमा विश्वमै अग्लो शिवपार्वतीको मुर्ति बनाउन महायज्ञ गर्न लागिएको आयोजकले जनाएको छ ।

Advertisement

देवी पार्वतीको जन्म पर्वतको पाङमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरी महादेवलाई पतिको रुपमा पाएको किंवदन्ती रहि आएकोे छ । अहिलेसम्म शिव या पार्वतीको मुर्तिमात्र छुट्टाछुट्टै बनाइरहेका बेला पर्वतमा पहिलो पटक संयुक्त मुर्ति स्थापना गरिने महायज्ञ संयोजक शर्माले बताए ।

११ दिनसम्म चल्ने महायज्ञबाट १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । महायज्ञमा ५ हजार १ सय भन्दा वढी व्यक्तिद्वारा तुलादान तथा १ करोड अग्नी होम सञ्चालन हुनेछ । कुश्मा बजार क्षेत्रमा कलश यात्रा गरिने भएको छ । शिव पार्वतीको मुर्ति स्थापनाका लागि १ लाख जम्मा गरेर संस्थापक बन्न १ सय ११ जनाले फारम भरेसँगै बैंकमा रकम जम्मासमेत गरिसकेको आयोजकले जनाएको छ ।

Advertisement

पर्वतका ७ वटै स्थानीय तहका श्रद्धालु भक्तजनको उत्साह र चासोले महायज्ञ सफल हुने मूल समारोह समितिले विश्वास लिएको छ । गुप्तेश्वर गुफाको प्रचार, विश्वकै अग्लो शिव पार्वतीको मुर्ति स्थापना, धर्मशाला र सिस महल निर्माण कार्यले महायज्ञको उत्साह थपिएको छ ।

पर्वत जिल्लालाई नेपालकै धार्मिक पर्यटनसँग जोड्न, मोदिवेणीधाम, गुप्तेश्वर गुफा, बागलुङ कालिका, मुक्तिनाथ मन्दिर, चुवाको विष्णु वाटिका लगायतका धार्मिक स्थललाई जोड्न महायज्ञ लागिपर्ने आयोजले जनाएको छ ।

तपाईको प्रतिक्रिया