साक्षरदेखि विद्यावारिधिसम्म गरेका प्रदेश सांसद

रिखिराम जिसी २०७९ फागुन २ गते १०:३५

रिखिराम जिसी, पोखरा ।
नेता बन्न पढ्नु पर्दैन ? यस्तो प्रश्न बेलाबखत उठ्ने गर्छ । तर संसारभरि नै जनप्रतिनिधि बन्न शैक्षिक योग्यताको प्रावधान छैन । जनताको मत जित्नुपर्ने सबैभन्दा ठूलो परीक्षा उत्तीर्ण गरे जनप्रतिनिधि हुन पाइन्छ । नेताहरुको योग्यताको परीक्षा नै चुनाव हो ।

जसै मुलकमा साक्षरता दर बढ्दै छ, शैक्षिक स्तर बढ्दै छ, राजनीतिमा पनि पढेलेखेकाहरु देखिन थालेका छन् । संसदमा पनि त्यस्तो प्रतिबिम्व देखिन्छ । गण्डकी प्रदेश सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुमध्ये २ जना सांसद साक्षरमात्र छन् ।

प्रदेश सचिवालयका अनुसार कांग्रेसका महेन्द्रध्वज जिसी र स्वतन्त्र राजीव गुरुङ (दीपक मनाङे) साक्षर हुन् । जिसी नवलपुरबाट निर्वाचित हुँदा गुरुङ मनाङबाट निर्विरोध भएका हुन् । एसएलसी/एसइई उत्तीर्णलाई शिक्षित र त्यसभन्दा कमको शैक्षिक योग्यता भएकालाई साक्षरमात्रै मान्ने चलन छ ।

Advertisement

प्रदेश सभामा एक जना सांसद विद्यावारिधि (पिएचडी) गरेका छन् । नेपाली कांग्रेसका डा. टकराज गुरुङले पर्यटन अर्थशास्त्रमा पिएचडी गरेका हुन् । ९ जना सांसद स्नातकोत्तर उत्तीर्ण र १६ जना सांसद स्नातक हासिल गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेमप्रसाद सुवेदीले जानकारी दिए ।

एमालेका ६, कांग्रेसका २ र माओवादी केन्द्रका १ जनाले स्नातकोत्तर गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारी, एमालेबाटै मन्त्री बनेकी सीताकुमारी सुन्दास, एमालेकै सुधीरकुमार पौडेल, लिलबहादुर थापामगर, गोविन्दबहादुर नेपाली, देवका पहारी त्रिपाठी स्नातकोत्तर हुन् ।

Advertisement

कांग्रेसका डिल्लीराम सुवेदी, जीतबहादुर शेरचन र माओवादी केन्द्रका फणीन्द्र देवकोटाले पनि स्नातकोत्तर गरेका छन् । स्नातक उत्तीर्ण सांसदमा कांग्रेसका ९ र एमालेका ७ जना छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभा सदस्यमध्ये ९ जना स्नातकोत्तर र १६ जना स्नातक

प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुवेदीका अनुसार प्लस टु पास र एसएलसी उत्तीर्ण समान १६–१६ सांसद छन् । एसएलसी उत्तीर्ण सांसदमा कांग्रेस र माओवादीका ५–५ जना, एमालेका ४ र राप्रपाका २ जना सांसद छन् ।

प्रदेशसभा सचिवालयले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधिबमोजिम प्रदेशसभा सदस्यको व्यक्तिगत विवरण फाराम भर्ने क्रममा सांसदहरूले आफ्नो शैक्षिक योग्यता खुलाएको सूचना अधिकारी सुवेदीले जनाए । उनले भने, ‘व्यक्तिगत विवरण फाराममा सांसदज्यूहरूले भर्नुभएको विवरणअनुसार शैक्षिक अवस्था देखिएको हो ।’

प्रदेश सभामा शैक्षिक योग्यता भएका सांसदहरुले विषयवस्तु छिटो बुझ्ने प्रदेश सभामुख कृष्णप्रसाद धितालले बताए । ‘शैक्षिक योग्यता भएका साथीहरुले चाहिँ विषयवस्तुलाई छिट्टै बुझ्नुहुन्छ । थोरै व्याख्यामा पनि सजिलो हुन्छ । शैक्षिक योग्यता भएका साथीहरुलाई बुझाउन अलिकति समय लाग्छ,’ उनले भने ।

अहिलेको प्रदेश सभा सन्तुलन नै रहेको सभामुख धितालले सुनाए । ‘पहिलेको प्रदेश सभा सन्तुलितनै छ, हुन त भर्खरै हो साथीसँग सहकार्य गर्ने अवसर धेरै भइसकेको छैन,’ उनले भने, ‘साथीहरुको स्वभाव, शैलीको बारेमा मैले टिकाटिप्पणी गर्ने बेलानै भएको छैन ।’

प्रदेशसभामा सबैभन्दा बढी कांग्रेसका २७, एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् । २०७४ मा पहिलो कार्यकालका लागि निर्वाचित भएका सांसदमा ८ जना स्नातकोत्तर र २१ जना स्नातक उत्तीर्ण थिए । १७ जना प्लस टु तथा प्रमाणपत्र तह र ७ एसएलसी उत्तीर्ण हुँदा ७ जना सांसद अन्डर एसएलसी थिए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया